काभ्रेपलाञ्चोक । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले गठबन्धन धेरै समय नटिक्ने बताउदै एमाले जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएका छन् ।
पार्टीको जिल्ला कमिटीले आज बनेपामा अयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले पहिलाजस्तो थियो अहिले पनि उस्तै रहेको बताए ।
नेता पोखरेलले वरिष्ठ नेता मावधकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गरे । ‘अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन’, उनले भने । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।
‘एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन’, उनले भने ।