भक्तपुर नगरपालिका वडा नं. ४ मङ्गलाछे टोलमा एकजना दुईखुट्टे प्राणी बस्छन् । उनी दैनिक यति दौडन्छन् कि भनिसाध्य छैन, तर थाक्दैनन् । बिहानको प्रहर बित्दा–नबित्दै आफ्नो गुँडबाट फुत्त निस्केर बेगले बत्तिन्छन् । कहाँ–कहाँ पुग्छन्, के–के गर्छन्, कहिलकाहीं त गुँडका सहचरीलाई पनि थाह हुँदैन ।
आधा रातसम्म चाँचाचुँचु गर्दै बिताउँछन् । कति समय त उनी आफ्नो मूल गुँडबाट सम्पर्क विहीन हुन्छन् । यस्ता क्रियाकलापी प्राणी अरू कुनै होइनन्, यिनी उनै डा. इन्दुल केसी हुन्, जसले ब्रह्मलोकबाट ८१ वर्षअघि भक्तपुर मङ्गलाछेको पृथ्वीलोकमा पदार्पण गरेका थिए ।
मलाई यसो घोत्लिन मन लाग्यो । दौडेर नथाक्ने यी इन्दुललाई मैले कहिलेदेखि चिनेको हुँ ? एक छिन एकाग्र भएर विचार गर्दा मैले उनलाई सबभन्दा पहिले २०५० सालमा होटेल ब्लु स्टार त्रिपुरेश्वरमा मेनेजमेन्ट एशोसियन अफ नेपाल सञ्चालन गरेको २ हप्ते कन्सलटिङ मेथोड एण्ड स्किल्स तालिममा भेटेको थिएँ ।
तालिम २०५० मङसिरमा सञ्चालन भएको थियो । तालिमका सहभागीमध्ये म आफू, इन्दुल केसी, केशवराज राजभण्डारी, चन्द्रमान प्रधान, शम्भुशमशेर राणा आदि थियौँ । तालिमको समाप्तिपछि तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष बेनीबहादुर कार्कीद्वारा हामीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
तालिम प्रदान गर्ने मुख्य प्रशिक्षक मधुकरशमशेर राणा थिए भने नेपाल व्यवस्थापन संघका अध्यक्ष तथा प्रशिक्षक पद्मलाल श्रेष्ठ (खानी विभागका पूर्वमहानिर्देशक) ले प्रपोजल कसरी लेख्ने र प्रस्तुत गर्ने भन्ने सम्बन्धमा अभ्यासात्मक कक्षा लिएका थिए । तालिम अवस्थामा इन्दुल निकै बोलक्कड रहेको मैले अनुभव गरेको थिएँ ।
इन्दुल केसीको शिक्षा पनि निकै गहन भएको मैले चाल पाएको छु । मलाई लाग्छ उनले एमए–बीएल ठोकेका छन् । बेलायतबाट शिक्षाशास्त्र विषयमा पोष्ट ग्य्राज्युयट डिप्लोमा पार लगाएका छन् । अनि भारतबाट वैकल्पिक उपचार विषयमा विद्यावारिधि अर्थात पीएचडी डिग्री हासिल गरेका छन् ।
निकैपटक व्यावसायिक तालिमहरू पनि प्राप्त गरेका छन् । दौड्दा–दौड्दै यिनले अधिवक्ताको प्रमाणपत्र पनि गुट्मुट्याएका छन् । कस्तो संयोग ! अधिवक्ता प्रमाणपत्रको नम्बर ३२१ परेछ यिनलाई । दाहिनेतिरबाट अङ्क गर्दा लहरै अगाडि बढेको १, २, ३ ‘छेपरा छन’ परेछ ।
देब्रेतर्फबाट गणना गर्दा ३ मा २ जोड्दा र त्यसमा पनि १ थप्ता छक्का छुटाउने ६ को जोडफल परेको रहेछ । अनि अदालतको बेन्चअगाडि बारमा उभिएर श्रीमान सम्बोधन गर्दै वकालत गर्दा न्यायाधीशको छक्का छुटाउँदा रहेछन् यिनले । इन्दुल चुलबुल न हुन्, न्यायाधीशको छक्का छुटाउन काम लामो समय गरेनन् ।
वैकल्पिक उपचारमा पी.एच.डी. गरेपछि यिनी प्राकृतिक उपचारक एवं रेकी मास्टरका रूपमा उत्रिए । योगाभ्यास गरेर अरूलाई पनि योग सिकाउने गुरुमा दरिइहाले यिनी । मैले एकपटक मेरो गर्धनको नसा थिचिएको हुनाले म मेरो मुन्टो घुमाएर गर्धनलाइ ठेगान लगाउन थेरापी गर्दछु मात्र मैले यिनलाई के भनेको थिएँ, यिनले त एक घन्टा मलाई लेक्चर छाँटिहाले ।
मैले यिनका धारावाहिक लेक्चरमध्ये केही बुँदा टपक्क टिपेर बिहान–बिहान थेरापी अभ्यास गर्दा नभन्दै मलाई मेरो गर्धन हलुका महसुस भएको छ । धन्यवाद छ योगथेरापी मास्टर इन्दुललाई ।
डा. इन्दुल केसीले मङ्गलयोग तथा प्राकृतिक उपचार केन्द्र खोलेर धेरैलाई उपचारसेवा पुर्याएका छन् । जसले सेवा लिएर फाइदा पाएका छन्, तिनीहरू बिहान–बिहान इन्दुललाई आफ्ना घरबाट नमन गर्छन् । यस्तो सेवा पुर्याएकोमा इन्दुललाई घमन्ड छैन । तर उनी त विनीेत छन् र भन्छन् – तपाईलाई म अरू सेवा के गरौं ?
साहित्यसेवाको फाँटमा डा. इन्दुल गत ६० वर्षदेखि अनवरत लागिपरेको छ । भाषाज्ञानको क्षेत्रमा यिनी केसी थरका भएकाले नेपाली त जान्ने नै भए, तर अङग्रेजी पनि त्यत्तिकै भट्याउँछन् । हामीसँग सामान्य बातचित गर्दा पनि अङ्ग्रेजीका लाइन घुसाइहाल्छन् । अनि अङ्ग्रेजी कविका कविताका दुइ–चार हरफहरू बकिहाल्छन् । नेपाल भाषा (नेवारी) त भक्तपुरका खाटी नेवारभन्दा पनि बढी शुद्ध बोल्छन् । हिन्दी भाषामा पनि यिनी ‘चालु आदमी’ छन् । यसै कारणल यो मान्छेले भाषाको सेवा गर्न सकेको होला ।
इन्दुलको पहिचान के हो ? यसको जवाफ हुन सक्छ के हो, के होइन । विविधरूपी पहिचान बोकेको छ । मैले माथि लेखिसकेको छु यिनी वकिल–सकिल भइसकेको कुरा । यसबाहेक यिनले ३० वर्षभन्दा बढी सरकारी सेवा गरे । शाखा अधिकृतदेखि उप झुन्डिएको सचिवमा समेत शिक्षा मन्त्रालय, घरेलु उद्योग, स्थानीय विकास, पर्यटन आदि निकै सरकारी निकायमा सरकारका लागि काम गरे ।
मैले बुझेसम्म यिनले ‘सरकारको काम कहिले जाला घाम’ गर्नमा चाहि चुके । सरकारी कुर्सीमा बस्ता जहिले पनि रगटिएका छन् र घोटिने गरेका थिए । यसले गर्दा यिनमा सीप र ज्ञान आर्जन भयो । यिनी योजनाकार, सपनाकार, कल्पनाकार छन् । यिनमा कर्मचारीको सान, वकिलको मान, कानुनको ज्ञान रहेको बुझिन्छ । यसैले इन्दुल के हुन् अनि के होइनन् भन्ने कुरा मैले अझ पूरै बुझिसकेको छैन । छरिएर रहेको ज्ञान आफ्नो खोपडीभित्र बटुल्न इन्दुल अझ दौडादौड गर्दछन्, मानौँ कि यिनी कलकत्ताको हाउडा स्टेसनबाट रेल छुट्न लागेजस्तो गर्दछन् ।