• मंसिर १२ २०८१, बुधबार

बैकल्पिक शिक्षा प्रणाली: आजको आवश्यकता

भाद्र १९ २०७८, शनिबार

विश्वभर फैलिएको कोरोना महामारीको पहिलो लहरको तथा दोस्रो लहरको कारण विद्यालय, विश्वविद्यालय तथा शिक्षण सिकाइ केन्द्रहरु पूर्णरुपमा बन्द हुँदा देशभरिका विद्यार्थीको वार्षिक शैक्षिक सत्र पछाडि धकेलिरहेको छ । परम्परागत शिक्षण प्रणाली र मूल्याङ्कन विधि पनि परम्परागत शैलीमा हुँदा विद्यार्थीहरुको समयमै सहि मूल्याङ्कन तथा शैक्षिक पात्रोलाई निरन्तरता दिन नसकिएको कारणले अपग्रेडिङ गर्न कठिनाइ भैरहेको अवस्था विद्यमान देखिन्छ ।

पटकपटक हुने शैक्षिक बहस हुन् वा राजनीतिक घोषणा पत्र, हाम्रो शैक्षिक प्रणालीका बारेमा हुने बहसमा प्रश्न उठे पनि ती छलफल खासै परिणामुखी हुन सकेका छैनन् । फलस्वरूप नेपालको शिक्षण प्रणाली वा तौरतरिकामा खासै महत्वपूर्ण परिवर्तन हुन सकेको छैन ।

विद्यार्थीहरुलाई ब्यबहारिक तथा वैज्ञानिक सिप सिकाइबाट टाढा राख्दै दर्जनौ पुस्तकका सैद्धान्तिक कुराहरु पढेर वा पढाएर मात्र उनीहरुको सीप विकास तथा क्षमता अभिबृद्धि हुन सक्ने सम्भावना न्युन छ । पछिल्लो समय महामारीका कारण सहरमा अध्ययनरत बिद्यार्थीहरु आफ्नो गाउँ घर फर्केका छन् ।

सहरी ठाउँमा बसोबास गरेका र इन्टरनेटको पहुँच भएका कतिपय बिद्यार्थीहरुको लागि केही शैक्षिक संस्थाहरुले सैद्धान्तिक बिषयहरु अनलाइन माध्यमबाट पनि पढाइरहेका छन्, तर त्यो पर्याप्त छैन । पहिलो कुरा अधिकांश बिद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन् र दोस्रो शिक्षकमा प्राबिधिक ज्ञानको कमी, तेस्रो ब्यबहारिक तथा प्राबिधिक शिक्षण सिकाई अनलाइनको माध्यमबाट प्रभावकारी रुपमा बिद्यार्थी माझ दिन नसक्नु !

आजको दिनमा कोरोना भाइरसबाट संक्रमित हुने संख्याको विश्लेषण गर्ने हो भने हाम्रो मुलुकमा महामारीको दोस्रो लहरको अन्तिम अन्तिम बिन्दुतिर हामी आइरहेका छौ । साथै, बैज्ञानिकहरु तेस्रो लहरको कुरा गरिरहेका छन् र त्यसले मुख्यत बालबालिकालाई बढी प्रभावित गर्न सक्ने भएको हुँदा अहिलेदेखि नै तयारी थाल्न आग्रह गरिरहेको अवस्था छ ।

तेस्रो महामारी सकभर नआओस् भन्ने कामना गरौं तर हामीले पूर्व तयारी भने गरिहाल्नु पर्दछ । बैज्ञानिकहरुको भनाइलाई आधार मान्ने हो भने तेस्रो लहरका कारण सबैभन्दा धरासायी नै शैक्षिक क्षेत्र हुने देखिन्छ ।

यस्तो अवस्थामा हाम्रा शैक्षिक संस्थाहरु, शिक्षक, बुद्धिजीवी, अभिभावकहरु, शैक्षिक क्षेत्रका नीति निर्माताहरुले पुरातनबादी सोच, परम्परागत शैक्षिक प्रणालीमा रमाउने बानी त्याग्दै बैकल्पिक शिक्षण सिकाइ र बैकल्पित मुल्याङ्कन प्रणालीका बारेमा गहन छलफल गरी ठोस नतिजा दिन सक्नुपर्दछ ।

अहिलेको शिक्षा प्रणाली बैज्ञानिक, ब्यबहारिक तथा प्रविधिमैत्री बनाउन सकिएन वा तेस्तो संरचनामा जान ढिलाई गरियो भने देशको समग्र शिक्षा प्रणाली पतनको दिशामा अगाडि नबढ्ला भन्न सकिन्न । यस्ता महामारीका बीच शैक्षिकसत्र लम्बिने, समयमा उचित मुल्याङ्कन गर्न नसकिने जस्ता क्रियाकलापले धेरथोर त्यतातर्फ सङ्केत गरेको बुझ्न सकिन्छ ।

समयको परिवर्तनसँगै अध्ययन गर्ने पाठ्यपुस्तकको सङ्ख्या र त्यसमा समेटिएका बिषयबस्तुहरु पनि नफेरिएका हैनन् । तर पनि ती पर्याप्त हुन सकेका छैनन् । त्यसमा कुनै एक समूह वा शैक्षिक सामाग्री तयार पार्ने शिक्षाविद् मात्र दोषी हुन सक्दैन ।

हामीसँग भए गरेका पाठ्यपुस्तकहरुमा समेटिएका बिषय सामाग्रीहरु वा हाम्रो पाठ्यक्रमलाई कसरी समयसापेक्ष बनाई ब्यबहारिक, बैज्ञानिक र प्रबिधिमैत्री बनाइ हाम्रो समग्र शैक्षिक प्रणाली, मूल्याङ्कन विधिमा सुधार ल्याउन सकिन्छ ।

यस बिषयमा समग्र सरोकारवाला निकायहरु, अभिभाबक, शैक्षिक संस्था, नीति निर्माताहरुको उत्तिकै जिम्वेवारी हुन्छ । शिक्षण प्रणालीमा सुधार ल्याउन शिक्षकले अवलम्बन गर्ने शैक्षिक बिधि र प्रक्रियामा पनि ब्यापक परिवर्तन हुनुपर्ने देखिन्छ ।

हाम्रोजस्तो कमजोर भूबनोट भएको देशमा विभिन्न समय र कालखण्डमा आइरहने प्राकृतिक बिपत्ति तथा महामारीले हाम्रो शैक्षिक गतिबिधिहरुमा प्रत्यक्ष वा परोक्ष असर पुर्याइरहेको हुन्छ । त्यसकारण हामीले यस्ता महाविपत्ति वा अहिलेको जस्तो महामारीबाट पाठ सिक्दै भबिष्यमा आउन सक्ने महाविपत्ति वा महामारीसँग जुध्न सक्ने शैक्षिक प्रणालीको बिकास गर्न र त्यसै अनुसार बिद्यार्थीहरुको मूल्याङ्कन गर्ने बिधिहरुमा व्यापक परिवर्तन गरी कार्यन्वयन गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।

नेपाल कृषि प्रधान देश भएको, अधिकांश नेपाली कृषि पेशामा नै आबद्ध भएको र हाम्रो अर्थतन्त्रमा पनि कृषि क्षेत्रकै उल्लेख्य योगदान गर्ने भएको हुँदा यससम्बन्धी प्रयोगात्मक, ब्यबहारिक, बैज्ञानिक तथा प्रबिधिमूलक शिक्षण सिकाइ हुन जरुरी छ । जस्तोसुकै महामारीमा पनि बिद्यार्थीको शिक्षण सिकाइमा प्रभाब नपार्ने र उनीहरुको मूल्याङ्कन गर्ने प्रणालीको पनि सुधार भै सजिलो हुने देखिन्छ ।

अहिलेको महामारीमा भएको लकडाउनको समयमा कसरी बिद्यार्थीहरुलाई ब्यबहारिक, प्रयोगात्मक एवम् वैज्ञानिक शिक्षातिर आकर्षित गराई सोहिबाट उनीहरुको मूल्याङ्कन गर्न सकिन्छ ।

यसको सामान्य उदाहरणका रुपमा हाम्रो गाउँठाउँ वा घर वरिपरि पाइने जडिबुटीहरुको बारेमा बिद्यार्थीहरुलाई सिक्न उत्प्रेरित गर्ने । तिनीहरुको अभिलेख गर्ने, नमुना सङ्कलन गर्न लगाउने, जडिबुटीको प्रयोग बारेका परम्परागत ज्ञान सिपहरुको सामान्य प्रतिबेदन तयार पार्न लगाउने, जडिबुटीको उपयोग गर्ने तरिका, कुन भाग केका लागि प्रयोग हुन्छ ? बिरुवा कस्तो ठाउँमा पाउँछ ? जस्ता जानकारी प्रायः बुढापाका व्यक्तिसँग हुनेहुँदा उनीहरुसँग सोधपुछ गरेर प्रतिबेदन बनाउन लगाउनु पर्छ । यसो गर्दा निम्नलिखित फाइदा हुन्छ :

क. बिद्यार्थीले प्रतिबेदन तयार पार्न सिक्ने, बुढापाका मान्छेहरुसँग बोल्न तथा उनीहरु सँगको सम्बन्ध मजबुद बनाउने अवसर पाउने भए जसले गर्दा समाजमा बढ्दै गरेको दुइ पुस्ताबीचको अन्तर घटाउन मद्दत पुग्दछ ।

ख. आफ्नो गाउँठाउँ वा घर वरिपरि केकस्ता जडिबुटीहरु पाउने रहेछन, तिनीहरुको उपयोगिता के रहेछ, कुन जडिबुटीको कुन भाग कस्तो अवस्थामा प्रयोगमा आउँदो रहेछ भन्ने कुराको शिक्षा हासिल गर्ने साथै तिनीहरुको अभिलेखीकरण पनि हुने ।

ग. विभिन्न जडिबुटीका नमुनाहरु सङ्कलन गर्न लगाउँदा, स्थानीयस्तरमा जडिबुटी प्रयोगशाला एवम् प्राकृतिक सङ्ग्रहालय बनाउन सकिने ।

घ. बिद्यार्थीको प्रतिबेदन, त्यसको निम्ति गरेको मेहनत, लगाब र समयको उचित मूल्याङ्कन गरी उनीहरुको शैक्षिकसत्रको अपग्रेड गर्न सजिलो र सहज हुन्छ ।

ङ. जडिबुटीसम्बन्धी परम्परागत तथा लोपउन्मुख ज्ञान सीपको संरक्षण गर्न मद्दत पुग्छ ।

यी त भए केही उदाहरण । सबै बिद्यार्थीलाई एउटै बिषयबस्तु मन पर्छ भन्ने हुँदैन । त्यसकारण त्यस्ता ब्यबहारिक शिक्षाको निम्ति निश्चित समय (क्रेडिट आउर) पुग्ने गरी उनीहरुले इच्छाइएको बिषयबस्तुमा काम गर्न लगाई प्रतिबेदन बनाउ भन्न सकिन्छ ।

जस्तै, कसैलाई बाँसबाट सजावट लगायतका सरसामान बनाउन मन पर्नसक्छ भने कसैलाई खेर गैरहेका काठबाट सजावटका सामाग्रीहरु बनाउन मन पर्नसक्छ । त्यस्तै कसैलाई विभिन्न प्रजातिका बिरुवाहरुमा कलमी काटेर तिनीहरुको परीक्षण गर्न मन लाग्नसक्छ भने कसैलाई परम्परागत रुपमा खेती गरिने अन्नबालीको बीउबिजनको नमुना सङ्कलन गरी त्यसबारे प्रतिबेदन बनाउन मन पर्ला ।

कसैलाई ढुङ्गा कुदेर मूर्ति बनाउन त कसैलाई नदी वा खोला छेउमा पाउने विभिन्न आकार का ढुङ्गा सङ्कलन गरी पेन्टिङ्ग गर्न मन लाग्ला । त्यसकारण बिद्यार्थीहरुकै मनअनुसार र उनीहरुको विषयसँग सम्बन्धित कार्य गर्न दिने र उनीहरुको कार्य वा प्रतिबेदन हेरी मूल्याङ्कन गर्नसके सुनमा सुगन्ध हुन्छ ।

यसबाहेक उनीहरुको शिक्षण सिकाइ बन्दाबन्दीमा पनि जीवन्त बनाइ राख्न विभिन्न नागरिक बैज्ञानिक कार्यक्रममा सहभागी पनि बनाउन सकिन्छ जसबाट बिद्यार्थीहरुले बैज्ञानिकसँग सहकार्य गर्न पाउँदछन् ।

साथै, विभिन्न कुराहरु सिक्ने अवसर पनि । यस्ता कार्यक्रमहरुले बिद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउनुको साथै यस्तो सिकाइमा संलग्न भएबापत उनीहरुको मूल्याङ्कन पनि गर्न सकिन्छ ।

-लेखक वातावरण संरक्षण मञ्च नेपालसँग सम्बद्ध छन् ।