• मंसिर ११ २०८१, मंगलवार

समाजवाद फेशन कि वास्तविकता ?

भाद्र १९ २०७८, शनिबार

सैद्धान्तिक रुपमा नै खुल्ला आर्थिक नीतिलाई आत्मसात् गरिसकेका नेपालका राजनीतिज्ञहरु अहिले पनि समाजवादको नाममा राजनीतिक पार्टी खोल्नु र जनतासित मत माग्नु प्रष्ट रुपमा सोझा नेपाली जनतालाई धोका दिनु हो ।शिक्षा, स्वास्थ्य, यातायात, बैंक र जनताका प्रत्यक्ष सरोकार सित सम्बन्धित क्षेत्रमा निजीकरणलाई बढावा दिएका कुन मुखले समाजवादको चर्चा गरिरहेका छन् बुझ्न सकिएन ?

नेपालका प्रायः सबैजसो राजनीतिक दलका प्रमुख नेताहरुले निजी स्कूल–क्याम्पस, अस्पताल, बैंक र यातायात क्षेत्रमा निजी लगानी गरेका छन् । यस्तो अवस्थामा ती दलहरुले समाजवादको नारा दिनुलाई तर्कसङ्गत मान्न सकिदैन । बिगत समय यतादेखि समाजवाद शब्दलाई अघि अथवा पछि जोडी राजनीतिक दल खोल्ने फेशन नै चलेको छ ।

पार्टी सबै समाजवादी

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको ने.क.पा. (एकीकृत समाजवादी) महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रि समाजवादी पार्टी र रिजवान अन्सारीको नेपाल सङ्घीय समाजवादी र हृदयेश त्रिपाठीले खोल्न लागेका समाजवादी पार्टीलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । पार्टी खोलेर मात्रै हुदैन, यसको सिद्धान्तलाई पनि आत्मसात् गर्नु आवश्यक छ ।

‘समाजवाद’ नै नेपालका राजनीतिक दलहरुको मूल राजनीतिक सिद्धान्त रहिआएको छ । बेलाबखत यस शब्दको चर्चा पनि गर्ने गरिन्छ तर यिनीहरु व्यवहारमा भने अब समाजवादको नीतिभन्दा कोशौं टाढा गइसकेका छन ।

चर्चा–परिचर्चा समाजवादकै

सभा, गोष्ठी एवम् चुनावी सभामा पार्टीका नेताहरु ‘समाजवाद’को चर्चा गर्ने गर्दछन् तर त्यो पनि औपचारिकतामा मात्रै सीमित रहने गर्दछ । सैद्धान्तिक रुपमा नै पार्टीले खुला अर्थतन्त्रको नीतिलाई आत्मसात् गरिसकेको कारण यो मुद्दा अब ओझेलमा पर्न गएको छ जस्तो देखिन्छ ।

साममनोहर लोहिया

नेपाली काङ्ग्रेसले अहिलेसम्म महान् समाजवादी नेता डा. राममनोहर लोहियाको ‘समाजवाद’ को सिद्धान्तलाई आत्मसात् गर्दै आएको हो । यो उसको मूलमन्त्र पनि थियो । तर अब भरसक पार्टीले यसलाई तिलाञ्जली दिइसकेको छ कि ? जस्तो लागिरहेको छ ।

पूर्वसभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको निधनसँगै नेपालको राजनीतिबाट सैद्धान्तिक राजनीतिको पनि बिदाइ भइसकेको छ भन्दा अतिशयोक्ति नहोला । नेपाली काङ्ग्रेसको निम्ति र यसका नेताहरुको निम्ति समाजवादको सिद्धान्त एकादेशको कुरा हुन सक्दछ । तर विश्वमा जहाँ पनि भेदभाव एवम् असमानता रहने छ त्यहाँ लोहियाको विचारको सान्दर्भिकता रहिनैरहनेछ । एक्काइसौं शताब्दीमा पनि लोहियाको विचार सान्दर्भिक नै छ ।

लोहिया समाजवाद र सप्त–क्रान्तिको सिद्धान्त

दक्षिणी छिमेकी भारत स्वतन्त्र भएपछि दुईवटा मुद्दा ‘लोकतन्त्र’ तथा ‘समानता’लाई सर्वाधिक महत्वपूर्ण मानिएको थियो । नेपालमा पनि राणा शासनको समाप्तिपछि उपरोक्त दुई मुद्दालाई नै महत्वपूर्ण मानिएको थियो । तर आधुनिक विकासको नाममा समानताको अवधारणा ओझेलमा पर्दै गएको देखिन्छ ।

डा. राममनोहर लोहियाले धन तथा जग्गा (धर्ती)को मात्रै कुरा गरेका थिएनन् उनले त सप्तक्रान्तिको आह्वान गरेका थिए । सप्त क्रान्तिमा पहिलो थियो महिला एवम् पुरुषबीचको समानता, दोस्रो थियो छालाको रङको आधारमा राजकीय, आर्थिक एवम् मानसिक असमानताको विरोध, तेस्रोमा संस्कारगत अर्थात् जन्मजात जातिप्रथाको विरोध र पिछडिएका लागि विशेष अवसरको व्यवस्था, चौथोमा विदेशी दासताको विरोध तथा स्वतन्त्रता, पाँचौमा निजी पुँजी असमानताको विरोध तथा आर्थिक समानता एवम् योजनाद्वारा उत्पादन वृद्धि गर्नु, छैठौंमा निजी जीवनमा अन्यायपूर्ण हस्तक्षेपको विरोध तथा लोकतान्त्रिक पद्धति एवम् सातौंमा अस्त्र–शस्त्रको विरोध तथा सत्याग्रहजस्ता गम्भीर विचारबाट प्रतिपादित यी सूत्रहरु रहेका छन् ।

लोहियाको समाजवाद

यस्ता खालका छन् जसले पूरै विश्वलाई परिवर्तन गरेर मानिसलाई दासताको मानसिकताबाट मुक्त गर्न सक्दछ । वर्तमानको अन्यौलपूर्ण एवम् सिद्धान्तविहीन राजनीति युगमा लोहियाको विचारमाथि गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ । नेपाली काङ्ग्रेसका नेता एवम् कार्यकर्ताले उपरोक्त सात सूत्रसँग आफ्नो कर्तव्य एवम् व्यवहारलाई दाँजेर हेर्नुपर्दछ तथा स्वयम् आफैंले आफ्नो मूल्याङ्कन गर्दा पनि हुन्छ । डा. लोहियाले भनेका थिए कि यी सातवटै क्रान्तिहरु एकैसाथ संसारमा हुने गर्दछ ।

उनको विचारमा संसारमा जहाँ पनि दुःख, गरिबी, पराधीनता, असमानता एवं पीडाको अवस्था भए त्यो हाम्रो सभ्यताको निम्ति लाजको विषय हुनुपर्ने हो । नयाँ संसारको निर्माणको सपना देख्दा पनि उनले आफ्नो सांस्कृतिक धरोहरहरुको महत्वलाई चिनेका थिए ।

नदीहरुको सफाइ, हिमालय बचाउ, भाषा–नीति, रामायण मेला, भारत विभाजनका दुःखद अवस्था, अर्थशास्त्र मार्क्सभन्दा पनि अग्रगामी इतिहास तथा नियतिको विषयमा उनी एकैसाथ सोच्न र बोल्न सक्दथे ।

लोकतन्त्र र समाजवाद:  एक सिक्काका दुई पाटा

लोकतन्त्र एवम् समाजवादलाई उनी एउटै सिक्काको दुईवटा पाटो ठान्ने गरेका थिए । लोहिया स्वयम् गान्धीको सत्याग्रह एवम् अहिंसाका कट्टर समर्थक थिए । तर गान्धीवादलाई उनी अधूरो दर्शन मान्दथे । उनी समाजवादी थिए तर मार्क्सलाई एकाङ्गी ठान्दथे । उनी राष्ट्रवादी पनि थिए तर विश्व सरकारको सपना पनि हेर्दथे । तर आधुनिक सभ्यता बदलियोस् भन्ने पनि चाहन्थे । उनी विद्रोही तथा क्रान्तिकारी पनि थिए, तर शान्त एवं अहिंसाका घोर उपासक पनि थिए ।

उनी कहिल्यै कुनै ठूलो पदमा पुगेनन् तर पनि उनको स्वीकार्यता एवम् व्यक्तित्व निकै अग्लो थियो । उनका विचारहरु देशका बुद्धिजीवीहरुलाई सधैं नै केही सोच्न बाध्य पारिरहेको हुन्थ्यो ।

देहावसानको बेलामा उनले भनेका थिए कि अन्य व्यक्तिहरुको सम्पत्तिलाई तिनका वारिस (सखा सन्तान)ले सम्हाल्ने छन्, तर मेरो विचारलाई सम्हालेर अगाडि बढाउने व्यक्ति नै मेरो वारिस हुनेछ । डा. लोहियाको आफ्नो कुनै घर थिएन, आश्रम पनि थिएन, कुटी पनि थिएन, सारा देश नै उनको घर थियो ।

लोहियाको समाजवादमा भारतीय विशिष्टता

पार्टीको कार्यालय नै उनको आश्रम थियो । देशका सारा गरीबको झुप्रो नै उनको कुटी थियो । उनले आफ्नो जन्मदिनलाई कहिल्यै पनि मनाएनन् तर उनको जन्मदिन मनाउन खोज्नेहरुलाई यति मात्रै भन्ने गर्दथे कि यो दिन मेरो जन्मका कारण महत्वपूर्ण भएको होइन ।

अपितु क्रान्तिकारीहरुको शहादतका कारण महत्वपूर्ण हुन गएको हो । लोहियाको अनुयायी बन्नु सजिलो छैन । पार्टीको नामको अगाडि अथवा पछाडि लोहिया शब्दमात्रै राखिदिनु लोहियावादी हुनु होइन ।

लोहिया समाजवाद र गान्धीवाद

डा. लोहियाले गान्धीवादी नीति, अर्थ एवम् श्रम बीचको परस्पर सम्बन्ध, किसान एवम् मजदुरको हित तथा हाम्रा समाज एवम् विश्वमा विद्यमान असमानताका कारणलाई ध्वस्त पार्दै उनले जीवनभरि सङ्घर्ष गरेका थिए ।

‘लोकतन्त्र किताब एवम् समाजवाद’ किताब, नारा तथा कानुनमा मात्रै सीमित नरहेर स्वाधीन नागरिकको आचरणमा देखिनु पर्दछ । स्वाधीनता एक आचरण पनि हो, संयम पनि मर्यादा पनि र अर्काको स्वाधीनताको रक्षा गर्नु पनि ।

डा. लोहिया यस कुरालाई आफ्नो व्यवहार एवम् विचारबाट प्रत्येक स्तरमा चरितार्थ गरी देखाउने विलक्षण संस्कृति चिन्तक राजनेता तथा धरातलमा आधारित कार्यकर्ता पनि थिए । डा. लोहियाको मान्यता थियो कि किसानहरुको जग्गाको मूल्यमा कुनै पनि विकासलाई स्वीकार्य गर्न सकिंदैन ।

समाजवादमा उद्योगधन्दा

ठूलठूला मेसिन एवम् उद्योग धन्दाहरुलाई असिञ्चित एवम् खेतीको निम्ति अनुपयोगी जग्गाहरुको मात्रै प्रयोग गर्न दिइनु पर्दछ । लोहियाको विचारमा जुन जग्गाबाट एउटा किसानको अनेकौं पुस्तालाई पालन–पोषण हुन सक्दछ त्यसबाट उसलाई बञ्चित गरी हामी खाद्यान्नको उपलब्धतालाई मात्रै कम गरिरहेका हुँदैनौं ।

अपितु त्यस किसानको स्वावलम्बन, स्वाभिमान एवम् स्वाधीनतामाथि सङ्कट उत्पन्न गरी एक गम्भीर सांस्कृतिक हानीको दिशामा बढिरहेका हुन्छौं । कानुनी शब्दहरु, लाभहानीका गणितभन्दा टाढा रहेर स्वाधीनता, उत्पादकता, धरातलीय यथार्थ एवम् गहिरिंदो सांस्कृतिक सङ्कटको दिशामा कसैको पनि ध्यानकेन्द्रित हुन सकिरहेको छैन ।

लोहियाका अनुयायी

आफूलाई लोहियाको पक्का अनुयायी एवम् शिष्य घोषित गर्नेहरुको भीड कम छैन । यसको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । कतिपयले जातीय राजनीतिलाई नै लोहियाको सिद्धान्त मानिरहेका छन्, जुन कि सरासर झूटो एवम् अन्याय हो । लोहियाको सिद्धान्तलाई अनुशरण गर्नु सजिलो छैन । केवल नेता अथवा विचारकको नाम जप्दैमा मात्रै त्यसको अनुयायी पनि भइन्छ भन्ने सोच्नु दिवास्वप्न नै हो ।

नेपालमा मात्रै होइन दक्षिण छिमेकी भारतको विहार र केही दक्षिणी प्रान्तहरुमा पनि अहिले समाजवादी विचारधाराका नेताहरुकै पार्टीको नेतृत्वमा सरकार छ ।

मधेशवादी नेताका आदर्श लोहिया

नेपालमा नेपाली काङ्ग्रेसमात्रै होइन, प्रायः सबैजसो मधेसवादी दलका नेताहरु पनि लोहियालाई नै आफ्नो आदर्श मान्ने गर्दछन् । तर लोहियाको सिद्धान्त एवम् विचारलाई भने यिनीहरुले तिलाञ्जली दिइसकेका रहेछन् ।

एक्काइसौं शताब्दीमा पनि लोहियाको विचार त्यति नै सान्दर्भिक छ जतिकै पाँच–छ दशक अघिसम्म थियो । असमानता, गरीबी एवम् अन्यायपूर्ण व्यवस्था रहेको ठाउँमा लोहियाको विचार अवश्य पनि स्मरण गरिनेछ ।

नेपाली कांग्रेसमा लोहिया विचार

नेपाली काङ्ग्रेसको महाधिवेशनमा लोहियाको विचारलाई स्मरण गर्ने, चर्चा गर्ने र नीति बनाउनुपर्ने कुरामा जोड दिने नेताहरु आफैं असान्दर्भिक हुँदै गएका देखिए ।

दक्षिणी छिमेकी भारतमा आफूलाई लोहियावादी बताउने नेता एवम् कार्यकर्ताहरु लाखौं एवम् करोडौं छन् । केही हदसम्म त्यस सिद्धान्तप्रति प्रतिबद्ध एवम् समर्पित पनि हुन् । समाजवादको मुद्दा नेपाली काङ्ग्रेसलगायत अन्य दलहरुको निम्ति पनि अमूल्य धरोहर साबित हुन सक्दथ्यो । समाजवादको मुद्दा आज पनि सान्दर्भिक छ ।