• मंसिर ११ २०८१, मंगलवार

बिरामीको छटपट: मस्त निद्रामा हेलो सरकार

भाद्र १८ २०७८, शुक्रबार

तीन वर्ष अगाडि नेपालगञ्ज अस्पतालले रेफर गरेपछि सुर्खेतको दुर्गम गाउँबाट एकजना बहिनी काठमाडौंमा उपचार गराउन आउनुभयो । शिक्षण अस्पताल महाराजगंजले बिग्रेको मृगौला काटेर फाल्न पनि नौ महिनापछि मात्रै पालो आउँछ भन्यो । मृगौलाको सी.टी. स्क्यान गर्न पन्ध्र दिनपछि मात्रै पालो आउँछ भनियो । दोब्बर शुल्क तिर्ने भए आजै हुन्छ भन्ने जवाफ आयो । कहिल्यै घरबाहिर ननिस्केकी निरक्षर बहिनीले सरकारी अस्पताल हो भन्नु भएको होइन ? निशुल्क उपचार हुँदैन ? किन यति महङ्गो’ भनेर प्रश्न गरिन् ।

आमाको रोग

कोभिडको महामारीलाई चुनौति दिंदै बाथ रोगले ग्रस्त आमालाई वैशाख महिनामा बैतडीबाट तीन दिन लगाएर उपचारको लागि काठमाडौं ल्याएँ । पाँच वर्षदेखि बैतडीकै जिल्ला अस्पतालमा उपचार गराइरहेको भएपनि विशेसज्ञ डाक्टर नहुँदा रोग झनै बल्झिदै गएको थियो । दुखाइ बढ्दै गएको हुँदा सिटमा राम्रोसँग बस्न नसके पनि आमा उपचारको लागि काठमाडौं आउन मान्नु ठूलो कुरा थियो । काठमाडौं आएदेखिन् उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज धाउन सुरु गर्यौ ।

सरकारी अस्पताल 

निजी अस्पतालभन्दा सस्तो, सर्वसुलभ तथा विशेसज्ञ डाक्टर हुन्छन् होला भन्ने आशा गरेका थियौं । अस्पतालमा थप शुल्क (पेइङ) तिरेर उपचार गराउने हो भने केही छिटो नभएको होइन । दुःख त तब सुरु भयो जब पेइङका डाक्टरले बिरामीलाई ओपीडीका डाक्टरकोमा रेफर गरे । पहिलो चोटि फोक्सोको सिटी स्क्यान गराउँदा फोक्सोहरु आधामात्रै बाँकी थिए । फोक्सो आधा मात्रै बाँकी हुनुको कारण बाथले हो कि या कारोनाले हो भनेर छुट्याउन एक महिनापछि फेरि पनि डाक्टरले फोक्सोको सिटी स्क्यान गर्न भने । यद्यपि शिक्षण अस्पतालमै कोरोना जाँच गराउँदा रिपोर्ट निगेटिभ आएको थियो ।

चेकजाँचमा सास्ती 

कहिले पेइङको डाक्टरकोमा, कहिले बाथ त कहिले फोक्सोको डाक्टरकोमा जाँदा हामी वाक्क भइसकेको थियौं । तीन महिना उपचार गराइसक्दा पनि विरामीलाई बीसको उन्नाइससम्म भएको थिएन । साउन सात गते चाबहिल देखि चक्रपथसम्मै जाम थियो । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल सरकारलाई खोप उपलब्ध गराउन, गाडीको भाडा एवं ट्याक्सीको सुरुआती कल समायोजन गर्न, २० वर्ष पुराना गाडीको अवधि थप गर्नजस्ता सात–बुँदे माग राख्दै गाडी तथा ट्याक्सी सडकमा तेर्स्याएर प्रर्दशनमा उत्रिएको रहेछ ।

काठमाडौंको जाम  मिटरमा जान नमान्ने ट्याक्सीवालासँग महङ्गो शुल्क तिरेर चाबहिल देखि महाराजगंजसम्म डेढ घण्टा जाम छिचोल्दै अस्पताल पुगेका थियौं । टिकट लिने लामो लाइन सकिएपछि बल्ल विरामी जचाउँने पालो आयो । डाक्टरका अनुसार सिटी स्क्यान गराउनै पर्ने भयो । हतारिंदै सिटी स्क्यान गराउने कोठातिर दौडियौं । यो भन्दा अगाडि सिटी स्क्यान गराउनकै लागि झण्डै दुई घण्टा पालो कुरेका थियौं ।

बिग्रेको सिटिस्क्यान मेसिन

आज भने त्यहाँ एउटा पनि विरामी नदेख्दा अचम्म लाग्यो । सोधपुछ गर्दा सिटी स्क्यान मेसिन बिग्रेको रहेछ । दम, बाथ तथा अन्य विरामी जस्तै कोभिडका विरामीलाई फोक्सोको जाँच गराइरहनु पर्ने हुन्छ । जसको लागि सिटी स्क्यान मेसिन झनै महत्वपूर्ण हुन्छ । डाक्टरले स्पाइरोमिटरले स्वासप्रश्वास जाँच गराउनु पर्ने समेत भनेका थिए । पाइप मुखमा राखेर श्वास भित्र लिने तथा बाहिर फाल्नु पर्ने रहेछ । कस्तो अचम्म ! त्यहाँ पनि एउटा मात्रै स्पाइरोमिटर रहेछ ।

प्रोटोकलको पालना

आमाको जाँच भइसके पछि डाक्टरले मलाई नै त्यो मिटरलाई साबुन पानीले धुन लगाउनु भयो । त्यसपछि सेनिटाइजर दलेर डेटोल पानीमा डुबाउन लगाउनुभयो । आफ्नो वार्डमा एकजना पनि काम गर्ने नहुँदा यो सबै विरामी वा उनका आफन्तलाई नै गर्न लगाउने गरेको उहाँले गुनासो पोख्नुभयो । यति गर्दासम्म दिउँसोको बाह्र बजिसकेको थियो । देशकै, राजधानीकै ठूलो भनिने अस्पतालमा एउटा मात्रै सिटी स्क्यान मेसिन, त्यो पनि बिग्रेर थन्काइएको ! देशभरिबाटै दिनकै सयौं बिरामीहरु जचाँउन आउने अस्पतालमा नो सिटी स्क्यान मेसिन, त्यो पनि कोरोनाको महामारीमा !

कहिले होला सरकारी अस्पतालमा सुधार ?

आफूले पठाएको हो भनेर नभन्नु भन्ने शर्तमा जाँच गराइरहेका अस्पतालकै एकजना डाक्टरले विरामीले गुनासो नगरेसम्म सरकारी अस्पतालमा कसरी सुधार आउँछ ? तपाईहरु कम्प्लेन गर्न जानु न भन्नुभयो । हामीलाई पनि कता गएर दुःख पोखुँजस्तै भएको थियो । उहाँले भनेअनुसार अस्पताल प्रमुख प्रशासनको कक्षतिर गुनासो गर्न हिंड्यौं । अस्पताल प्रशासन प्रमुख राजु कुमार श्रेष्ठ कक्षमा हुनुहुन्थेन । कहाँ गएका छन् वरिपरिका कसैलाई पनि थाह थिएन ।

त्यसपछि अस्पतालका उप–निर्देशक सह प्रा.डा.सन्तकुमार दासको कक्षतिर हानियौं । उहाँपनि कार्यकक्षमा भेटिनु भएन । अर्का उपनिर्देशक प्रा.डा. सुभाषप्रसाद आचार्यको कक्षतिर लाग्यौं । उनी पनि बाहिर रहेको सुचना टाँसिएको थियो । को कता छन् कसैलाई जानकारी थिएन ।

मनको कुरा मनमै रह्यो

दिनहुँ सयौं नागरिक जचाँउन आउने अस्पतालमा किन थप सिटी स्क्यान मेसिन नराख्नुभएको भन्ने प्रश्न सोध्ने मन थियो । एउटा मेसिन बिग्रेको खण्डमा अर्को मेसिन हुनुपर्ने होइन र ? सोध्न मन थियो ?

मस्त निद्रामा हेलो सरकार

सम्बन्धित कुनै पनि मान्छेसँग भेट नहुँदा त्यँहीकै एकजना कर्मचारीले मेसिन बिग्रेको पन्ध्र दिन भयो । अबको पन्ध्र दिनमा बन्छ होला । मेसिनको पाइप बाहिरबाट मगाउनुपर्ने भएकोले समय लाग्ने बताए । उनका कुराले चित्त बुझेको थिएन । अख्तियारको कार्यालयमा फोन लगाएँ । उताबाट घुससम्बन्धी घटना भएको भए हेर्न मिल्थ्यो, यस्तोमा प्रधानमन्त्रीको कार्यालयमा गुनासो टिपाउन भने । जति चोटि फोन गरेपनि प्रधानमन्त्री कार्यालयको ११११ नम्बरमा व्यस्त मात्रै देखायो ।

फेरि दौडेर डाक्टरकहाँ

हामीजस्तै कयौं विरामीहरु सिटीस्क्यान कक्षको ढोकामा पुगेर निरास हुँदै फर्किरहेका थिए । बोले पनि सुन्ने सम्बन्धित मान्छे अस्पतालभरि थिएनन् । फेरि दौडेर डाक्टरकोमा गयौं । मेसिन बिग्रेको जानकारी गरायौं । अन्य अस्पतालबाट सिटी स्क्यान गराएर रिपोर्ट ल्याएर आउनु भने । यो कुरा उनले सजिलै भने पनि मलाई सुन्न साह्रै गाह्रो भयो ।

बूढी आमा र कोरोनाको जगजगी

राजधानीकै ठूलो अस्पतालमा जाँच गराउन बूढी आमालाई लिएर गएकी थिएँ । त्यहाँ पनि उपकरणको अभावमा जाँच हुन नसकेपछि अन्तै जानुपर्ने अवस्था आयो । हतारमा दुई गास खाना खाएर नौ बजे नै अस्पताल पुगिसकेका थियौं । अस्पतालमै एक बजिसकेको थियो । अब कता गएर जाँच गराउने ? एकछिन सोचमग्न भयौं ।

हेल्पिङ ह्याण्ड पनि खाली

उता आराम गर्न नपाएर आमालाई गाह्रो हुँदै गइरहेको थियो । त्यहाँबाट ट्याक्सिमा फेरि चाबहिल हानियौं । भाग्यबस यतिखेर जाम खुलिसकेको थियो । चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पतालभित्र छिरयौं । त्यहाँ सिटी स्क्यान गर्ने मेसिन रहेनछ । त्यसपछि चाबहिलकै मेडिकेयर अस्पताल भित्र छिर्यौ । त्यहाँ बेलुकीको ४ बजेमात्रै डाक्टर आउने जानकारी पायौं । शिक्षण अस्पतालमा उपचार खर्च सर्वसुलभ हुन्छ कि भनेर टाढाबाट पनि बिरामी त्यतै ओइरिन्छन् ।

मेडिकेयरको सहयोग

चाबहिलमा रहेको प्रख्यात मेडिकेयर अस्पतालमा सिटी स्क्यानको ५२ सय रहेछ भने शिक्षण अस्पताल महाराजगन्जमा ४८ सय छ । दुईटै अस्पताको शुल्कमा खासै भिन्नता रहेनछ जबकि मेडिकेयरमा धेरै राम्रो स्वास्थ्य सुविधा पाइन्छ । शिक्षण अस्पताल घुमेर चाबहिल पुग्दा २ बजिसकेको थियो । अबको दुईघण्टा कोठामा गएर फर्किने कि अस्पतालमै बस्ने फेरि समस्या आइलाग्यो । यस्तो समयमा जताततै खाजा खान पनि सजिलो छैन ।

जताजानु मास्ककै सास्ती

त्यसमै बूढी आमालाई मास्क खोलेर जताततै खान दिनुपनि खतराभन्दा खाली थिएन । फेरि अर्को ट्याक्सी समाएर कोठामा फर्कियौं । चेकजाँच विनाको दिनभरिकौ दौडधुपले हैरान बनायो । आमाका अस्पतालमा थुप्रै जाँचहरु भइसकेका थिए । आमा उसै पनि ७६ वर्षिय ज्येष्ठ नागरिक भइसक्नु भएको छ । गाउँबाटै बनाएर ल्याएको स्वास्थ्य विमा कार्ड, नागरिकता पनि सँगै थियो । आमालाई अस्पतालमा उपचार गराउँदा लागेको खर्चमा डिस्काउन्ट हुन्छ कि भनेर सोध्न गयौं ।

औषधि पनि पाइँदैन फार्मेसीमा

अहँ, सरकारी अस्पतालमा पनि त्यस्तो केहि हुदैन रहेछ । जिल्ला अस्पतालबाट सिफारिस बनाएर ल्याउनु अनि मात्रै हेर्न सकिन्छ भन्ने जवाफ आयो । यहि देशको नागरिक भएर पनि आफ्नै देशभित्र जाँच गराउन यति धेरै सकस हुँदो रहेछ । डाक्टरले सिफारिस गर्नु भएका सातवटा औषधि मध्ये दुईवटा मात्रै अस्पतालभित्र रहेको औषधिपसलमा पायौं । बाँकि सबै छैन भन्ने मात्रै जवाफ आयो ।

डाक्टरलाई महामारीको त्रास

महामारीको समयमा पनि अस्पतालमा डाक्टर आउने, जाने समय जान्नको लागि सरकारी अस्पतालमा एउटा फोन समेत उठदैन । जुनसुकै कुराको जानकारी लिन पनि अस्पताल नै धाउनु पर्ने हुन्छ । निजी अस्पतालहरुमा रिसेप्सनको राम्रो व्यवस्था गरिएको हुन्छ । फोनबाटै डाक्टर आउने दिन र समय थाह पाएपछि लामो समय अस्पतालमा गएर बसिरहनु पर्दैन । बिरामीले लामो समय पालो कुर्दा रोगहरु सर्ने डर पनि सरकारी अस्पतलाहरुमा बढी देखिन्छ । तर यसको ज्ञान अस्पतालको व्यवस्थापन पक्षलाई नभएकै हो त ?

सुध्रिएलान् सरकारी अस्पताल ? 

स्वास्थ्यसम्बन्धी मौलिक हकहरु संविधानका पानामा मात्रै नलेखेर व्यवहारमा समेत देखाउन सरकार सक्षम हुनुपर्छ । गरिबहरुको आशाको केन्द्र, धेरैजसो रोगहरुको उपचार हुने सरकारी अस्पतालहरुमा डाक्टरहरु पूरा समयसम्म बस्नुपर्ने, सोधपुछको लागि फोन उठ्ने रिसेप्सनको व्यवस्था हुनुपर्ने, बिग्रेका उपकरण समयमा मर्मत लगायत आधुनिक उपकरणहरु खरिद हुनुपर्ने, समयमा विरामीको रोगहरुको रिपोर्टहरु आउनुपर्ने तथा गरिव, जेष्ठ नागरिकहरुलाई सर्वसुलभ, औषधि तथा उपचारको व्यवस्था हुनु अत्यन्तै जरुरी देखिन्छ ।
यसो गरे बेस

वर्षमा तीनवटा स्वास्थ्य मन्त्री फेरिनु भन्दा पनि अस्पतालमा हुने गरेका कमिसनको जालो फोरियोस् ।