हृदयघात अर्थात भनेको मुटुको कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो।
उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमै नियन्त्रणमा राख्न सकेमा ५०५ हृदयघात कम हुनसक्छ। मोटोपन कम गर्ने व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवन शैलीमा सुधार ल्याउने हो भने समयमानै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ। मुख्य भूमिका जनचेतनाको कमि र यो रोगका साधारण लक्षणहरू मात्र हुने हुनाले समयमानै यो रोगको निदान गर्न निकै कठीन भएको हो।
हृदयघात हुनुभन्दा अगाडि यसको साधारण लक्षण मात्र हुन्छ। जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ उक्लदा, मानसिक तनाव बढ्दा छातिको बिचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचे जस्तो अनुभव हुने, स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो हुने। कहिले काही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो पनि हुनसक्छ।
यदि यस्तो लक्षण देखा परेमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी छ। अधिकाशं मानिसहरु यस्लाई सामान्य सोचेर घरमै बसिरहन्छन् र अन्त्यमा हृदयघात पनि हुनसक्छ। हृदयघात भइसकेपछि उपचार सहज हुँदैन। देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ। किनकी पहिलो हृदयघातमा नै मृत्युसम्म हुन सक्छ ।
तसर्थ वयस्कहरुले कमसेकम एक पटक आफ्नो मुटुको परीक्षण गर्नु अति आवश्यक छ। मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ। किनकी हालसम्म हृदयघातको मुख्य कारण थाहा छैन। तर यस्का कारक तत्वहरु मात्र थाहा छ।
हृदयघातका लक्षण
छातीकोबीच भागमा अत्यधिक पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, घाँटीको रक्तनली फुल्नु, देब्रे छातीतिर श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउनु, वाकवाक लाग्नु हृदयघात हुनुअघिका लक्षणहरू हुन् । जसमध्ये एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडि नै मृत्यु हुन्छ ।
हृदयघातबाट बच्ने उपाय
१. स्वस्थ भोजनको मात्र खानपान गर्ने, प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।
२. खानामा चिनी, नुन र चिल्लोको कम मात्र प्रयोग गर्ने ।
३. नियमित ३० मिनेट शारीरिक कसरत र व्यायाम गर्ने ।
४. धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
५. उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहको समस्यामा नियमित परीक्षण गर्ने ।