भनिन्छ नेपाल ‘सतीले सरापेको देश’ भएकोले यसको कहिल्यै उन्नति र प्रगति हुन सकेन । सधैंको किचलो र देशमा सदावहार रुपमा राजनीतिक अस्थिरता भइरहँदा यस्तो भन्नेहरुको तर्कमा सही थाप्ने मानिसको सङ्ख्यासमेत देशमा बढिरहेको देखिन्छ । नेपालमा राजा, राणा, पन्चायत, प्रजातन्त्र, बहुदल, गणतन्त्र, एकल शासन, संघीयता जे व्यवस्था आएपनि देशमा अपेक्षित भौतिक विकास हुन नसक्नु साथै कुनै पनि राजनीतिक व्यवस्था आउन नपाउँदै त्यस व्यवस्था परिवर्तनको लागि आवाज उठिहाल्ने अवस्था हुँदा र कुनै पनि सरकारले आफ्नो पूरा समय शासन गर्न नसक्ने परस्थिति सिर्जना हुँदा नेपाली जनताको मनमा कतै हुन पनि यो देशलाई ‘सतीले नै सरापेर’ पो यस्तो भएको हो कि भन्ने सम्मको दिग्दारी आउनुलाई त्यति अस्वाभाविक मान्न सकिदैन पनि ।
देशमा वर्षौंदेखि यस्ता राजनीतिक अन्योलता र खिचातानी भैरहँदा ‘नेपाललाई सतीले सरापेर’ उन्नति हुन नसकेको भन्ने तर्कलाई बल पुग्ने गरेको छ । खासमा यो ‘सतीले सरापेको देश’ भनेको के होला अर्थात् हाम्रो देश नेपाललाई कुन ‘सतीले सरापेर’ यस्तो भयो त ? आफ्नै देशलाई किन त्यसरी सतीले सराप्नु परेको होला ? के ती देशलाई सराप्ने सतीलाई यो देशको माया थिएन ? आज जानौं हाम्रो देशलाई सराप्ने सतीबारे
राजा लक्ष्मी नरसिंह मल्ल र काजी भीम मल्ल
हामीमध्ये कतिपयलाई थाहै होला जसको नामबाट काठमाडौँ उपत्यकाको नाम रहन गयो त्यो नाम हो काष्ठमण्डप । तत्कालिन कान्तिपुर राज्यको रुपमा चिनिने काठमाडौँ राज्यमा राजा प्रताप मल्लका बुवा राजा लक्ष्मीनरसिंह मल्लले राज्य गर्दथे । यिनै मल्ल राजा लक्ष्मीनरसिंहले नै सो काष्ठमण्डप भवनको निर्माण गर्न लगाएका थिए । अर्थात् यिनै राजाको पालामा सो काष्ठमण्डप बनेको थियो । एउटै रूखको काठबाट बनेको भनेर प्रख्यात सोही भवनको (मन्दिर)को नामबाट पछि गएर सिङ्गै उपत्यकाको नाम रहन गयो ।
आजभन्दा चारसय वर्ष पहिलेबाट नेपाललाई ‘सतीले सरापेको देश’ भनिन लागेको हो । अर्थात् राजा लक्ष्मी नरसिंह मल्लको समयदेखि नेपाललाई सतीले सरापेको देश भन्न लागिएको हो जहाँ राजा लक्ष्मीनरसिंह मल्लको हठी र चुक्ली सुन्ने स्वाभावले गर्दा नेपालको इतिहासमा दुखद घटना हुन पुग्यो ।
घटना बि.स.१६ सयको नब्बेको दशकको हो। इतिहासमा त्यो दिन माघ ३ गते थियो भनेर कसैकसैले भन्ने गरेको पनि पाइन्छ । त्यो समयमा काठमाडौँ अर्थात् कान्तिपुर राज्यमा एकजना काजी थिए जसको नाम भीम मल्ल थियो । उनी आफ्ना हरेक काम काज देश र नरेशको भलो हुने हिसाबले गर्दथे । काजी भीम मल्ल राज्य नियन्त्रित व्यापारी थिए ।
मानिसहरुमा समेत त्यसबेला काजी भीम मल्ल देशलाई चाहिने मानिस हुन् भनेर चिनिने गरेका थिए । जनताले उनलाई देशको विरुद्धमा कहिल्यै नराम्रो गर्ने छैनन् भन्ने विस्वास रहेको थियो । काजी भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्लका बहिनी ज्वाई समेत थिए । भीम मल्ल दरबारका भारदार पनि थिए ।
के भयो त काजी भीम मल्ललाई ?
इतिहासमा कतै उल्लेख भएअनुसार बि.सं. १६ सयको नब्बेको दशकमा काजी भीम मल्ल कान्तिपुर राज्यको प्रतिनिधित्व गरेर तिब्बत गएर तिब्बतसँग देशलाई आवश्यक निक्कै महत्वपूर्ण सम्झौता गरेर स्वदेश फर्केका थिए । उनले तिब्बतसँग तिब्बती भूमि कूती र केरुङमा नेपालको अर्थात् कान्तिपुर राज्यको सार्वभौमिकता कायम गरेर फर्केका थिए । साथै उनले तिब्बतको ल्हासा, सिगात्से लगायतका ३२ स्थानमा नेपालले व्यापारिक कोठी खोल्न पाउने व्यवस्था गरेर सम्झौता गरेर आएका थिए ।
तिब्बतमा नेपाली मुद्रा चल्ने, तिब्बतले हरेक वर्ष कान्तिपुरलाई बहुमूल्य हिरा, जवाहरात बुझाउनुपर्ने लगायत सम्झौता गरेर काजी भीम मल्ल स्वदेश फर्केका थिए । आफ्ना श्रीमानले देशको लागि याति राम्रो काम गरेर आउँदा राज्यबाट र राजाबाट श्रीमानलाई ठुलो पुरस्कार आउला भनेर काजी भीम मल्लकी श्रीमती फुरुङ्ग भएकी थिइन् । देशको लागि आफ्ना श्रीमानले यत्रो काम गरेर आउँदा आफ्नै दाजु समेत रहेका राजा वा दरवारबाट ठुलै इनाम वा पुरस्कार आउने आशामा काजी भीम मल्लकी श्रीमती रहनु पनि स्वाभाविकै थियो ।
यस्तो देशलाई राम्रो हुने गरी भएको सम्झौताको शुभसमाचार राजालाई सुनाउनका लागि काजी भीम मल्लले उपयुक्त साइत पर्खिरहेका थिए । राजालाई शुभ समाचार सुनाउने शुभ साइतका लागि उपयुक्त तिथिको पर्खाइमा भीम मल्ल तिब्बतबाट आएर एकसाता घरमै बसे । भगवती वैभव लक्ष्मीको जन्मदिन अर्थात् पौष कृष्णपक्षको पंचमी तिथि पारेर काजी भीम मल्ल आफूले राज्यको लागि गरेको कामको खुसीको खबर र तलेजू भवानीको मन्दिर पुगेर फूल प्रसादसहित राजालाई भेट्न दरवारमा हाजिर भए ।
तर राजा लक्ष्मीनरसिंह मल्लको दरवारमा अर्कै परस्थिति निर्माण भइसकेको काजी भीम मल्लले चालै पाएका थिएनन् । काजी भीम मल्ल तिब्बतबाट आएर एकसाता घरमा बसेको मौका पारेर लक्ष्मी नरसिंह मल्लका अरु काजी नरदेव र मायासिंह लगायतका भारदारहरुले काजी भीम मल्लविरुद्ध राजालाई नानाथरी चुक्ली लगाउन सम्म लगाएछन् । उनीहरुका भीम मल्ल विरुद्धका चुक्ली सुन्दासुन्दा राजालाई पनि काजी भीम मल्ल तिब्बतबाट फर्किनसाथ् दरवारमा किन भेट्न आएन भन्ने शंका र चस्को पसेछ । जसै काजी भीम मल्ल फूल प्रसाद र आफूले तिब्बतसँग गरेका सम्झौतासहित दरवारमा पुगे, उसै अरु भारदारहरुका चुक्ली सुनेका राजा लक्ष्मीनरसिंह मल्लले यथार्थ छानबिन नै नगरी काजी भीम मल्लको टाउको काट्ने आदेश दिए ।
को थिइन ? नेपाललाई सराप्ने सती
आफ्ना श्रीमानले देशको लागि गरेका राम्रो कामको इनाम र पुरस्कार पाउने आशामा बसेकी काजी भीम मल्लकी श्रीमतीले आफ्ना पतिको हत्याको खबर पो पाइन् ! आफ्ना पतिको हत्याको खबरले उनीलाई भावविह्वल बनायो । उनी राजासँग पनि आक्रोशित बनिन् । दरवारका अरु भारदारहरुसँग उनी आगो ओकलिन् र राजासामु वास्तविकता समेत खोलिन् । चारसय वर्ष पहिलेको सामन्तवादी समयमा श्रीमानको मृत्यु हुँदा श्रीमती सती जाने प्रथा थियो ।
आफ्ना श्रीमानसँगै सती जानेबेला काजी भीम मल्लकि श्रीमतीले ‘दरवारमा बस्नेको कहिल्यै विवेक नरहोस्’ भनेर श्राप दिइन् । साथै सती जाने बेला काजी भीम मल्लकी श्रीमतीले ‘यस्तो देशप्रेमीलाई मृत्युदण्ड दिने नेपाल र नेपालीको कहिल्यै भलो हुनेछैन’ भनेर समेत श्राप दिएको भन्ने भनाइ समेत रहेको छ । काजी भीम मल्लकी श्रीमतीले सतीजाने बेला यो देशको र यहाँका शासकको कहिल्यै भलो नहोस् भनेर श्राप गरेको हुनाले यो देशको उन्नति र प्रगति नहुने गरेको भन्ने भनाइ खासगरी त्यै दिनदेखि चलेको बताइन्छ ।
पछि राजा लक्ष्मी नरसिंह मल्ल बहुलाए
आफ्नी बहिनी अर्थात् काजी भीम मल्लकी श्रीमतीले सती जाने बेला दिएको श्रापसँगै राजा लक्ष्मी नरसिंह मल्लले काजी भीम मल्लबारे वास्तविकता थाह पाए । अरु षडयन्त्रकारी भारदार र काजीहरुको कुरा सुनेर देशभक्त इमान्दार साथै क्षमतावान काजी भीम मल्ललाई मार्न लगाएको कुराले राजा लक्ष्मी नरसिंह मल्ललाई हुनुसम्म पश्चाताप भयो । ‘न्याउरी मारी पछुतो’ भने झैं राजा पछुताउनुसम्म पछुताए ।
उनलाई ठुलो अपराध बोध भयो । आफ्नो अपराध सच्याउने कुनै बाटो नपाउँदा राजाले विक्षिप्त भएर मानसिक सन्तुलन नै गुमाए । यै मानसिक सन्तुलन गुमाएको अवस्थामा उनका छोरा प्रताप मल्लले उनलाई बन्दी बनाएर बि.स.१६९८ मा राजकाज आफूले लिए । मानसिक सन्तुलन गमाएका राजा लक्ष्मीनरसिंह मल्लको बन्दी अवस्थामै बि.स.१७१४मा मृत्यु भयो ।
भीमसेन थापाकी पत्नीले पनि सरापेकी थिइन्
नेपालको इतिहासमा ३१ वर्षसम्म प्रमुख मुख्तियार अर्थात् प्रधानमन्त्री भएका काजी भीमसेन थापालाई पनि कालान्तरमा नेपालको दरवारमा हुने त्यस्तै जायज नजायज क्रियाकलापका कारण जेल बस्नु पर्यो । जेलमा समेत थापालाई जेलमै हुने इज्जत पनि दिएनन् तत्कालिन शासक प्रशासकहरुले । थापालाई बन्दी अवस्थामा पनि उनलाई बेइज्जती हुने खालका कुराहरु सुनाउने गरिन थालियो । अन्तिममा उनको श्रीमतीलाई निर्वस्त्र पारेर टुँडिखेल घुमाइँदैछ भनेर समेत बनावटी खबर सुनाइयो ।
यस्तो कुराले भीमसेन थापालाई आफ्नो आत्मसम्मानमा चोट पुग्यो । आफ्नो त्यस्तो बेइज्जती हेर्नुभन्दा आजै राती मर्नु वेश भन्ने सम्झेर थापाले जेलको झ्यालको शिशा फुटाली त्यै शिसाका टुक्राले आफूलाई सेरे । आफैले आफैलाई मार्ने हिसाबले भीमसेनले आफ्नै घाटी रेटेका थिए । तर अफसोच् उनको घाटी पूरै रेटिएन । उनी रगताम्य भएर घाइते मात्रै भए । पछि उनको घाइते र अर्धचेत शरीरलाई पनि विष्णुमति नदीको किनारमा ल्याएर फालियो ।
साउन महिनाको उर्लदो विष्णुमतीको भेलले उनको शरीरलाई कहिले वल्लो किनार त कहिले पल्लो किनार पछारिरह्यो । भनिन्छ, थापाको घाइते शरीरलाई ज्युदै स्याल, गिद्ध र कुकुरहरुले लुछेर खाए । नौ दिनसम्म यस्तो अवस्था रहँदा अन्तिममा बि.स.१८९६ साउन १६ गते उनको प्राण उड्यो । तीनवटा राजाको पालामा प्रधानमन्त्री भएका भीमसेन थापालाई राजाहरुले भन्ने गर्थे, ‘म मरी मुलुक डुब्न्या छैन, भीमसेन मर्योभन्या मुलुक डुब्न्या छ ।’
संसारभरिका कम्युनिष्ट सिद्धान्त मान्ने र साम्राज्यवादको विरोध गर्नेहरुका अन्तर्राष्ट्रिय गुरु सर्वहारावर्गको विचार निर्माण गर्ने कार्ल मार्क्सले पनि भीमसेन थापाको देशभक्तिको कदर गर्दै, ‘सिंगो एशियामा साम्राज्यवादको विरोध गर्ने मानिस नेपालको भीमसेन थापा मात्रै छन्’ भनेर भनेका थिए भनिन्छ ।
यति महान् अर्थात् देशभक्त प्रधानन्त्री भीमसेन थापाले पनि त्यसरी मृत्युवरण गर्नुपर्ने अवस्था आउँदा उनकी श्रीमती भक्तकुमारीले पनि सती जानेबेला काजी भीम मल्लकी श्रीमतीले दिएको जस्तो श्राप दिएकी थिइन् भनेर समेत भन्ने गरेको इतिहासमा कतै कतै पढ्न पाइन्छ ।