• फाल्गुन २८ २०८२, बिहीबार

भदौ २३ अघि मन्त्रिपरिषद् विस्तारको सम्भावना छैन : माधव नेपाल

भाद्र १७ २०७८, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही भदौ २३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकमीसँग उनले भदौ २२/२३ अघि मन्त्रिपरिषद् विस्तारका विषयमा कोही नबोल्ने बताए ।

“मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदै छ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौँ ।”

यस्तै अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका संसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान पनि गरे । केपी ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे ।