• असार २३ २०८१, शनिबार

मोबाइलै छैन, इन्टरनेटको कुरै नगरम, कसरी पढ्ने अनलाइन कक्षा ?

भाद्र १६ २०७८, बुधबार

दाङ, १६ भदौ ।
घोराही उपमहानगरपालिका ४ कि निशा चौधरी ७ कक्षामा अध्ययनरत छात्रा हुन् । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय घोराही १७ चौघेरामा अध्ययन गर्छिन् । उनी यस वर्ष ६ कक्षा पास भएर सात कक्षामा प्रवेश गरेकी हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण विद्यालय बन्द भएपछि उनले अहिले सम्म ७ कक्षामा भर्ना हुन पाएकी छैनन् । विद्यालयले सात कक्षाका विद्यार्थीका लागि अनलाइन कक्षा संचालन गरेको छ । तर उनीसँग मोबाईल र इन्टरनेट नभएका कारण अनलाइन कक्षामा पनि सहभागी भएकी छैनन् । मोबाइल र इन्टरनेट नहुँदा अनलाइन कक्षा पढ्न नसेको निशाको भनाई छ ।

घोराही बजार तथा आसपासका क्षेत्रका संस्थागत विद्यालयका विद्यार्थीहरुले अनलाइन कक्षा पढ्दै गर्दा उनलाई भने अनलाइन कक्षाले समेट्न सकेको छैन् । घरमा मोबाइल किन्न पैसा नभएका कारण समस्या भएको निशाले बताइन् । “मोबाइल किन्नलाई पैसा छैन्, अझ इन्टरनेटको कुरा त परै जाओस्”उनले भनिन् । पढाइलाई निरन्तरताका लागि अभिभावकलाई आग्रह गरेको भएपनि आर्थिक अवस्था कमजोर हुँदा समस्या भएको उनको भनाई रहेको छ ।

सोही ठाउँकी सिमा चौधरी पनि यसैवर्ष दुई कक्षा पासगरी तीन कक्षामा प्रवेश गरिन् । उनले पनि सोही विद्यालयमा पढ्दै आएकी थिइन् । हाल कोरोनाका कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ, भने अनलाइन कक्षा सञ्चालन गरिएको छ । उनी पनि अनलाइन कक्षामा सहभागी हुन सकेकी छैनन् । मोबाइल तथा इन्टरनेट नहुँदा अनलाइन कक्षा पढ्न नसकेको उनले बताइन् ।

अनलाइन कक्षामा पनि सहभागी हुन नसकेपछि दिनभर आफूले सकेको घरको काम तथा खेलेर बिताउने गरेको सिमाले बताइन् । यता घोराही उपमहानगरपालिका वडा नं. १३ कि सुशिला नेपाली घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित माध्यमिक विद्यालय हापुर विजौरीमा अध्ययन गर्छिन् । उनी कक्षा ९ बाट पास भएर १० कक्षामा प्रवेश गरेकी छिन् ।

एसईई तयारीका लागि उनले अघिल्ला वर्षहरुमा भन्दा थप मेहनत गर्नुपर्ने छ, तर अहिलेसम्म पनि उनी विद्यालय भर्ना हुन सकेकी छैनन् । सरकारले वैकल्पिक माध्यमवाट शिक्षण सहजिकरण गर्ने भने पनि विद्यालयले न अनलाइन कक्षा संचालन गरेको छ, न अन्य कुनै माध्यमवाट पठनपाठन हुन सकेको छ ।

वैकल्पिक क्रियापकलाप हुन नसक्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । “यो समयमा अरुले वैकल्पिक माध्यमबाट पठनपाठन गरेको भएपनि आफूहरुको विद्यालयले चासो नदिएको उनले बताइन् । दुर्गम ठाउँ भएकाले अनलाइन कक्षाको संभावना नभएको समेत सुशिलाको भनाई रहेको छ ।

हाल दैनिक रुपमा घरायसी काम गरेर समय बित्ने गरेको उनको भनाई छ । कोरोना भाइरस संक्रमणका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । खासगरी ग्रामिण ठाउँहरुमा वैकल्पिक माध्यमबाट शिक्षण सहजीकरणमा क्रियाकलाप हुन सकेका छैनन् ।

घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुरस्थित ग्रामिण महिला उत्थान केन्द्र, पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्रगत गठित स्थानिय सभा सदस्य तथा शिक्षक माधव पन्थीले हाल शिक्षाको अवस्था अस्तव्यस्त भएको बताए ।

“गतवर्षबाट शिक्षाको स्थिति भन्न लायक छैन्, अस्तव्यस्त नै छ” उनले भने । हाल लक्ष्मीपुर क्षेत्रमा केही विद्यालयमा अनलाइन कक्षा चलाएको भएपनि प्रभावकारी मान्न सक्ने अवस्था नभएको उनको भनाई छ । कतिपय विद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन्, उनीहरुलाई अनलाइन कक्षाले समेट्न नसक्ने उनले बताए । “संस्थागत विद्यालय र केही सामुदायिक विद्यालयले पनि अनलाइन कक्षा चलाएका छन् तर ती कक्षापनि प्रभावकारी छैनन्, अभिभावकको गुनासो आउने गरेको छ” उनले भने ।

अहिलेको समयमा विद्यार्थीको पठनपाठन तथा शिक्षण सहजीकरणका लागि व्यक्ति तथा संघ संस्थाले पनि पहल तथा समन्वय गर्न आवश्यक देखिएको छ । यता ग्रामिण महिला उत्थान केन्द्र दाङले एफएचआई ३६० को प्राविधिक सहयोग तथा युएसएआइडीको आर्थिक सहयोगमा पारस्परिक जवाफदेहिता कार्यक्रम संचालन गरेको छ ।

जसले शिक्षा, स्वास्थ्य, खाद्य, कृषि, विपद व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्दे आएको केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताइन् । कोरोना भाइरसको जोखिमका कारण आइपरेको अवस्थामा पनि सिकाइ निरन्तर गर्न आवश्यक व्यवस्था सहित सरकारले गएको आर्थिक वर्ष २०७७-०७८ मा निर्देशिका जारी गरेको छ ।

विद्यार्थीको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा समुदायमा रहेका आफूले पढाउने विद्यालय बाहेकका विद्यार्थीको सूची बनाई सहजीकरण गर्ने जिम्मेवारी शिक्षकलाई तोकिएको जिल्ला शिक्षा तथा समन्वय इकाई दाङका प्रमुख मित्र गौतमले बताए । स्थानीय तह तथा विद्यालयले स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गर्नु पर्ने निर्देशिकामा व्यवस्था छ ।

विद्यार्थी पहिचान तथा वर्गीकरण गर्ने प्रयोजनका लागि विद्यालयले चालु शैक्षिक सत्रको आधारमा आफ्नो विद्यालयको अभिलेख अनुसार विद्यार्थीको नाम नामेसी, आमा, बाबुको नाम, ठेगाना, सम्पर्क नं, विद्यार्थीको समूहकृत वर्ग र स्रोत साधनको पहुँचको अवस्था समेतको विवरण खुलाई सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ ।

यस्तै विद्यार्थीको विवरण उपलब्ध गराउन नसकिने अवस्था भएमा अघिल्लो शैक्षिक सत्रको विद्यालयको अभिलेखको आधारमा चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीनगरी विवरण उपलब्ध गराउनुपर्ने निर्देशिकामा व्यवस्था छ । यसरी विद्यार्थीको वर्गीकरण गरेपछि गर्नु पर्ने समूहगत सिकाइ कार्यक्रम सम्बन्धी व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

विद्यालयमा गएर पठनपाठन हुन नसक्ने अवस्थालाई सम्बोधन गर्दै प्रविधिको पहुँचका आधारमा ५ भागमा विद्यार्थीको वर्गीकरण गरिएको छ । सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीको समूह निर्धारणगरी सोही आधारमा पठनपाठन अघि बढाउन सकिने निर्देशिकामा व्यवस्था गरिएको छ ।

तर हाल अनलाइन भर्चुअल कक्षा प्रयोगमा लिइए पनि सबैठाउँमा इन्टरनेट हुने नहुँदा प्रभावकारी भएको छैन् । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्दा आवश्यक सामग्रीको निर्माण तथा वितरण अनी संघ, प्रदेश, स्थानीय सरकार तथा शिक्षा मन्त्रालय अन्र्तगतका निकायहरुको भूमिका पनि उल्लेख गरिएको छ ।

विद्यालय, अभिभावक तथा शिक्षकको भूमिकाको पनि सविस्तार व्याख्या गरिएको उक्त निर्देशिकामा विद्यार्थीको पहिचान तथा वर्गीकरणका लागि स्थानीय तह र विद्यालयलाई विवरण उपलब्ध गराउने कार्य शिक्षकको हुने उल्लेख छ । समुदायमा स्रोत शिक्षक वा सहजकर्ताको रूपमा काम गर्न नजिकैको विद्यालयमा सम्पर्क राख्ने तथा नयाँ तथा पुराना पाठ्यपुस्तकको प्रयोग गरेर पढ्ने वा सिक्ने, सिकाउने कुरामा सहजीकरण गर्ने जिम्मा शिक्षकलाई तोकिएको छ ।

समुदायमा रहेका आफूले पढाउने विद्यालय बाहेकका विद्यार्थीहरूको सूची बनाई सहजीकरण गर्ने र बसोबास नजिक रहेको विद्यालयलाई आवश्यकता अनुसार शिक्षकले सहयोग गर्नु पर्ने छ । विद्यार्थीलाई सर्वव्यापी रुपमा प्रयोग भएका अनलाइन पद्धति तथा अन्य शिक्षण सिकाइका साधनहरूलाई प्रयोग गर्न प्रोत्साहन गर्ने तथा खुला स्रोतमा आधारित निशुल्क उपलब्ध हुने अनलाइन र अफलाइन सिकाइ व्यवस्थापन प्रणालीहरू उपयोग गर्ने, गराउने काम शिक्षकलाई तोकिएको छ ।

नेपाल टेलिकमले वितरण गरिरहेको “पाठशाला सियुजी सेवा” सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन् । यसअघि विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि प्रयोग भइरहेको सो सेवा अभिभावक तथा विद्यालय सञ्चालक समितिका सदस्यले समेत प्रयोग गर्न पाउने भएका हुन् ।

सरकारी विद्यालयका विद्यार्थीहरुलाई सियूजि (कलोज्ड यूजर ग्रुप) पाठाशाला प्रविधि मार्फत पढाई हुने भएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा सम्वन्धी वनेको आकस्मिक कार्य योजना २०७७ को कार्यविधि अनुसार सरकारी विद्यालयका विद्यार्थीहरुलाई सियूजि मार्फत पढाई हुने भएको हो । सरकारी विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउनको लागि सियूजी मार्फत पढाई हुने भएको हो ।

त्यसको लागि जिल्लाका सबै पालिकाहरुलाई बजेट समेत गईसकेको छ । सबै भन्दा वढी प्रभावित भएको शिक्षा क्षेत्रलाई नीजि विद्यालयहरुमा अनलाईन मार्फत कक्षा संचालन भइरहेको छ । सरकारी विद्यालयका विद्यार्थीहरु सबै नेट इन्टरनेट र फोन नेटवर्कको पहुँचमा नहुँदा सरकारले यो प्रविधि ल्याएको हो । जसले गर्दा सरकारी विद्यालयका विद्यार्थीहरुले निशुल्क रुपमा पढन् पाउने छन् । यो प्रविधि मार्फत शिक्षक र विद्यार्थीहरु बिच विद्यालय नखुल्दासम्म वैकल्पीक रुपमा पढाई हुनेछ ।

शिक्षा क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावलाई मध्यनजर गर्दै सियूजि प्रविधि मार्फत् विद्यालयमा पढाई हुने भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ । सरकारी विद्यालयमा पढने विद्यार्थीको लागि निशुल्क रुपमा प्रिपेड मोबाइल सिमकार्ड दिएर सियूजि मार्फत पढाईने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मित्रप्रसाद गौतमले जानकारी दिए ।

सामुदायिक विद्यालयका अध्यनरत विद्यार्थी, कार्यरत शिक्षक र उनिहरुका परिवारको कुनै एक सदस्यले एउटा निशुल्क सिमकार्ड लिएर सियूजि मार्फत पढ्न, पढाउन सकिने उनले बताए । “पाठशाला सियूजी सिम लिएपछि प्रत्येक कक्षाका विद्यार्थी र सम्बन्धित विषयका शिक्षकलाई एउटै ग्रुपमा जम्मा गरेर पढाउन सकिन्छ” उनले भने । निशुल्क रुपमा पढाई हुने भएपछि सरकारी विद्यालयका विद्यार्थीहरु पनि सहभागी भएर पढाईलाई अगाडी बढाउन सकिने उनकोे विश्वास छ ।