• मंसिर १२ २०८१, बुधबार

एमसीसीको विज्ञापन बजाइएको बारे संघर्ष समितिले जनायो कडा आपत्ति

भाद्र १६ २०७८, बुधबार

काठमाडौं । एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समितिले एमसीसीका बारेमा केही मिडियामा बजाइएका विज्ञापनका बारेमा आपत्ति जनाएको छ ।

सो अभियानका संयोजक नारायण शर्माद्धारा जारी विज्ञप्तिमा यस्तो आपत्ति जनाइएको हो । देशघाती एमसीसीको प्रचारका लागि नेपाली मिडियाको प्रयोग गर्नु अक्षम्य गल्ती भएको शर्माद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज जारी गरिएको विज्ञप्तिः

‘केही समययता एमसीसीको राष्ट्रघाती स्वरुप र सार दुवै उदाङ्गो हुँदै गएपछि यसको विरोधले तीव्र, व्यापक र निर्णायक रुप लिन थालेको छ । तत्पश्चात एमसीसी पक्षबाट आफ्नो पक्षमा लविङ, काउन्सिलिङ र कन्भिन्सिङ स्वरुप विभिन्न हरकतहरु अघि बढाइएका छन् । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको कुरा अवगत गराउन चाहन्छौं । एमसीसीको पक्षमा पछिल्लो र प्रभावकारी अस्त्रको रुपमा मिडियाहरुलाई परिचालन गर्ने क्रममा उनीहरुलाई मोटो रकमका विज्ञापनहरु दिएर प्रचारप्रसार गराउन थालिएको छ । हामी सर्वप्रथम एमसीसी संसदबाट अनुमोदन नहुँदै यसलाई कार्यान्वयन गर्ने–गराउने सन्दर्भमा भैरहेका र हुने सम्पूर्ण गैरकानुनी गतिविधिहरु रोक्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, शान्ति र समृद्धिविरोधी भएकोले इतिहासमै सर्वाधिक विवादास्पद समेत रहेको चरम राष्ट्रघाती यो एमसीसीको पक्षमा नेपाली जनताको खुनपसिनाबाट संकलित राजश्व अनधिकृत रुपमा गैरकानूनी ढङ्गले खर्च गरी विज्ञापन गराउने कार्य घोर आपत्तिजनक छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी क्षेत्रबाट भैरहेको यस्तो राष्ट्रहित र जनआवाज विपरीतका कदमको हामी तीव्र निन्दा र भत्सर्ना समेत गर्न चाहन्छौं । साथै, देस र जनताप्रति जिम्मेवार र जवाफदेही मिडिया र मिडियाकर्मीहरुलाई पनि आफ्नो सिमित, संकीर्ण र संकुचित स्वार्थभन्दा माथि उठेर देश र जनताको बृहत्तर हितमाथि ध्यान दिंदै एमसीसीको पक्षका विज्ञापनहरु प्रचारप्रसार नगरिदिनुहुन हामी औपचारिक रुपमा समेत हार्दिक आग्रह गर्न चाहन्छौं ।
यससन्दर्भमा यसप्रकारको विज्ञापन दिइरहेको देसकै ठूलो र लोकपृय मिडिया एपी वन टेलिभिजनले जनताको यो आग्रहपूर्ण असहमतिलाई मध्यनजर गर्दै आफूले एमसीसीको पक्षमा दिंदै आएको विज्ञापनलाई हटाउने निर्णय गरेको छ । हामी एपी वन टिभीको यो जिम्मेवार निर्णयको हार्दिक स्मरण, स्वागत र सराहना गर्दछौं । यसैगरी यस्तो विज्ञापन प्रकाशन र प्रसारण गरिरहेका मिडियाहरुलाई पनि यसअघि प्रचार–प्रसार गर्दै आएका ती विज्ञापनहरु अविलम्ब खारेज गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, अब यसप्रकारका विज्ञापनहरु तयार पनि नगर्न हामी सम्बन्धित संघ–संस्था, व्यक्ति–व्यक्तित्व र प्रतिभाहरु सबैसँग विनम्र आग्रह गर्दछौं । हाम्रो यो राष्ट्रहितको आग्रहलाई कदर गरेर यहाँहरुले देश र जनताको उदात्त हितमा टेवा पुराउनुहुन पनि हामी यहाँहरु सबैलाई विशेष अनुरोध गर्दछौं ।
स्मरण रहोस्, हाम्रो यो अनुरोधलाई अनास्था र बेवास्ता गरी एमसीसीको पक्षका विज्ञापन निर्माण गर्ने, प्रचार–प्रसार गर्न दिने र प्रकाशन–प्रसारण गर्ने–गराउने लगायतका एमसीसीको कार्यान्वयनसँग सम्बन्धित विभिन्न कामकार्वाहीहरु गर्नु–गराउनु अक्षम्य हो । नेपालमा यो राष्ट्रघाती एमसीसी सम्झौता हठात् र बलात थोपर्ने वैदेशिक दलालहरुको गुरुयोजनामा साथ दिने दुस्साहस गरी देशलाई विदेशीहरुको कृडास्थल र रणस्थलमा परिणत गर्न चाहने जोकसैमाथि देशका सचेत र जिम्मेवार राजनीतिक शक्ति र सामाजिक संघसंस्था तथा सचेत र स्वतन्त्र जनसमुदायमार्फत जनआक्रोश अभिव्यक्त भएमा त्यसको सहन र सामना पनि सम्बन्धित पक्ष स्वयमले नै गर्नुपर्ने हुन्छ भन्ने चेतावनी समेत दिन चाहन्छौं ।’ सहयोगको लागि पूर्ण विश्वाससहित धन्यवाद ।

नारायण शर्मा
संयोजक
एमसीसी खारेजीका लागि
संयुक्त संघर्ष समिति,
नेपाल ।