• फाल्गुन २३ २०८२, शनिबार

सरकारी बनोस् रमेश रेग्मीको स्वास्थ्य

भाद्र १६ २०७८, बुधबार

प्रा.डा. कृष्णप्रसाद दाहाल । 

रमेश रेग्मी नेपाली काङ्ग्रेसका नेता हुन् । विद्यार्थी कालदेखि नै नेपाली काङ्ग्रेसप्रति आस्थावान् भई नेपाली विद्यार्थी संघमा यिनले सक्रिय योगदान पुर्याएका थिए । आजसम्म यिनी निष्ठावान् नेताका रूपमा रहिरहेका छन् ।

नेपाली काङ्ग्रेसमा यिनको छवि सुधारवादी नेताका रूपमा चित्रित छ । सर्वोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका सान्निध्यमा रहेर यिनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।

आफूलाई चित्त नबुझेका कुरा उनी नेता त्रयका सामु निर्धक्क राख्न सक्दथे । विचारमा स्पष्टता र कार्यमा पारदर्शिता यिनको स्वभाव हो । यिनले कहिल्यै नाफामूलक राजनीति गरेनन् । नाफामूलक राजनीति गर्नेहरूसित यिनको कहिल्यै हल बाँधिएन ।

त्यसैले शीर्षस्थ नेताहरू यिनको स्वभावको प्रशंसा गर्दै आवश्यक परेका समयमा परामर्शका लागि आमन्त्रण पनि गर्दथे । विशेषतः पार्टीभित्र यिनले बौद्धिक पहिचान बनाएका थिए । तार्किक प्रतिक्रिया दिन सक्ने भएको हुनाले नै उनी साथीहरूका माझमा प्रिय हुन पुगेका हुन् ।

काठमाडौँको सिफलमा मूल घर भएको हुनाले रमेश रेग्मीको जननायक विश्वेश्वरप्रसाद कोइरालासित एकदमै राम्रो सम्पर्क र सम्बन्ध थियो । जयवागेश्वरीमा तारिणीप्रसाद कोइरालाको घर थियो । त्यो घर अहिले पनि छँदैछ ।

उपचारमा रहेका प्रजातन्त्र सेनानी रमेश रेग्मी नेपाली

राजा वीरेन्द्रले २०३६ सालको आन्दोलनको दबाबका कारण दलहरूमा लगाएको प्रतिबन्ध फुकुवा गरी सुधारिएको पञ्चायत वा बहुदल के रोज्ने भनी जनमत सङ्ग्रहको घोषणा गरेका थिए । जसले गर्दा विपी कोइरालाजस्ता नेताहरू स्वदेश फर्कन पाएका थिए । राजबन्दीहरूले आममाफी पाएपछि राजनीति क्रियाकलाप निर्वाध किसिमले अघि बढाउन पाएका थिए ।

विश्वेश्वरप्रसाद कोइराला पनि बनारसबाट आई जयवागेश्वरीको घरमा बस्न थाल्दछन् । त्यसबेला विश्वेश्वरप्रसाद कोइराला जहाँ बस्थे त्यो ठाउँ नै काङ्ग्रेसको पवित्र भूमि बन्ने गथ्र्यो । नेपाली काङ्ग्रेसको पवित्र भूमि मात्रै होइन, सिङ्गो नेपालको राजनीतिको विश्लेषण सचिवालय नै हुने गरेको थियो विपी निवास ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विपी निवासको छहारीमा आई देश विदेशको राजनीति ऐना हेरेर हिँड्ने गर्दथे । विपीका ओजस्वी वाणी सुन्दा  आफूलाई कृतार्थ भएको सम्झन्थे । त्यसताका विपी निवासको चक्कर काट्ने मध्येका एक रमेश रेग्मी पनि थिए ।

रमेश विपीकै आग्रहमा नित्य कोइराला निवास जाने गर्थे । कथम्कदाचित काम विशेषले विपी निवास कुनै कुनै दिन पुगन नसक्दा रमेशले विपीलाई स्पष्टीकरण दिनु पर्दथ्यो । त्यसैले प्रायः उनी अनुपस्थित हुँदैन थिए ।

केवल सामान्य भेटघाटका लागि मात्रै नभएर गम्भीर छलफलकै लागि कोइराला निवास जाने गर्थे । बाहिरी खबर के भइराखेको छ ? नेपाली काङ्ग्रेस र अन्य दलहरूप्रति जनताको भनाइ के कस्तो हुने गरेको छ ।

ती सबै कुराको जानकारी दिन रमेश विपीलाई भेट्न जाने गर्दथे । दरबार, पञ्च र राजनीतिक पार्टीहरूबीच त्रिकोणात्मक अवस्था थियो । पञ्चहरू निर्दलीयताको नाममा राजालाई ढाल बनाएर राजनीति गर्थे भन्ने काङ्ग्रेस प्रजातन्त्रबिना देशलाई सही गति प्रदान गर्न सकिँदैन भन्ने मान्यतामा दृढ थियो ।

कम्युनिष्टहरू साम्यवादको नारा घन्काउने गर्दथे । यी सबैका बीचमा काङ्ग्रेसको मुख ताक्ने गर्थे । यसको सही निष्कर्ष विपीले नै दिनु पर्दथ्यो ।

अतः यसै कारणले रमेशजस्ता कार्यकताले बाहिरी रिपोर्ट लिनु पथ्र्यो र विपीलाई सुनाउनु पथ्र्यो । विपीसित नजिकबाट सङ्गत गर्दा रमेशले देशको राजनीतिबारे थुप्रै कुरा सिक्न पाएका थिए । मूलतः नेपालका स्वनामधन्य नेताको छत्रछायाँमा रही उनले राजनीति टुप्पाबाट होइन जराबाटै बुझ्ने अवसर पाएका थिए ।

त्यसैले सतही राजनीतिले यिनलाई कहिल्यै बिटुल्याउन सकेन । साँचो अर्थमा भन्ने हो भने रमेश जस्ता नेताकै कारणबाट नेपाली काङ्ग्रेसले कठिनभन्दा कठिन घडीमा राहतको सास फेर्न सफल भएको हो । रमेशजस्ता नेता रहेसम्म नेपाली काङ्ग्रेस कहिल्यै मर्दैन ।

कानपा ७ नं. वडाका अध्यक्ष भई यिनले वडाको विकासमा गरेको योगदानको अहिले पनि बडाबासी मुक्तकण्ठले प्रशंसा गर्दछन् । यिनले सच्चा जनप्रतिनिधि हुनुको परिचय दिएका थिए । त्यस्तै यिनले गरेको पशुपतिनाथ महोत्सव कम उल्लेख्य रहेको छैन ।

पाशुपत क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन एवम् त्यसको प्रचार प्रसारको निम्ति गरेको अनुष्ठान ‘नभुतो नभविव्यति’ भएको छ । विद्वान् गुरु नयराज पन्तलाई प्रमुख अतिथि बनाएर गरेका पशुपति महोत्सव पुनः गर्नुपर्ने आवाज उठिरहेको छ । हेरौँ कहिले पूरा हुन्छ ?
रमेश रेग्मी राजनीति र सामाजिक क्षेत्रमा मात्रै योगदान दिएका छैनन् । यिनले नेपाली साहित्यको उन्नयनमा पनि उल्लेखनीय कार्य गरेका छन् । यिनको एउटा उपन्यास प्रकाशित भइसकेको छ भने अर्को उपन्यास प्रकाशनको मुखमा आइसकेको छ ।

त्यस्तै यिनले कथासङ्ग्रह पनि तयार पारिसकेका छन् । कवितामा पनि यिनले राम्रो छाप छोडिसकेका छन् । यस्ता बहुमुखी प्रतिभाका धनी आज घाँटीको क्यान्सर रोगसित लडिरहेका छन् । धेरै मानिस उनको स्वास्थ्यबारे बेखबर छन् । दिल्लीमा छ महिनाभन्दा बढी उपचार गरी काठमाडौँ फर्किएका छन् ।
काठमाडौँ आएको पनि दुई महिना हुन लागिसक्यो । उनको स्वास्थ्य पूर्ववत अवस्थामा आइसकेको छैन । कोरोनाको महामारीले गर्दा परिवारका सदस्यबाहेक अन्यले भेट्न पाइएको छैन । अम्बे अपार्टमेन्टमा उनी बस्ने गरेका छन् ।

आज उनको स्वास्थ्य कस्तो भइरहेको छ भनी भेट्न गएको थिए । अपार्टमेन्टका पालेले पुरानै कुरा दोहो¥याए । अपार्टमेन्टमा बस्ने मानिसले पनि उनलाई भेट्न पाइरहेका छैनन् भन्ने कुरा पालेले बताए । फोनमा कुरा गर्न मिल्छ कि मिल्दैन भनी सोधेँ ।

उनले मिल्छ भनी गेटबाटै ल्याण्डलाइनमा डायल गरे । रमेशजीकी श्रीमतीले फोन उठाइन् । रमेशजीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ । पेटमा प्वाल पारेर झोलीय पदार्थ खान दिने गरेको छ । अलि अलि सुधारको संकेत देखिएजस्तो लाग्छ । हेरौँ के हुन्छ ? भन्न सक्ने अवस्था छैन ।

मलाई उनलाई सम्झाउन गाह्रो भइरहेको थियो । तपाईले चाहिँ हिम्मत नहाुर्न होला । तपाईले हिम्मत हार्नुभयो भने रमेशजीलाई झन् गाह्रो हुन्छ । तसर्थ संयम अपनाएर कार्य गर्नुहोला । रमेशजीजस्तो मान्छेको यो राष्ट्रमा अभैm खाँचो छ । उनको स्वास्थ लाभको निम्ति भगवान् पशुपतिनाथ र माता गुहेश्वरीसमक्ष प्रार्थना गर्दछु भनी सान्त्वना दिँदै म आफ्नो बाटो लाग्दछु ।

आज रमेश रेग्मी थला परेका छन् । सधैँ प्रजातन्त्र र मानव अधिकारका लागि संघर्ष गर्ने रमेश आज इन्तुनचिन्तु भएर ढलेका छन् । राज्यले उनको खोजी गर्नुपर्छ । उनको स्वास्थ्योपचारको जिम्मा राष्ट्रले लिनु पर्दछ । प्रजातन्त्रको पहरेदारलाई गुमनाम भएर मर्न दिनु हुन्न । यो हामी सबै सचेत नागरिकको कर्तव्य पनि हो ।