काठमाडौँ। नेपालको आफ्नो पहिलो भू–उपग्रह ‘नेपालीस्याट–१’ अन्तरीक्षमा पठाएपछि यसमा नेपालीहरुको चासो बढ्दै गएको हो । तर पठाइएको नानो स्याट–१ अब एक महिनापछि काम विहीन हुँदैछ ।
यसको समयसीमा सकिएपछि सेप्टेम्बरको अन्तिम सातामा वायुमण्डलमा खस्ने र हराएर जाने छ । २०७६ सालको बैसाख ४ गते अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको नेपाली स्याट–१ श्रीलंकाली स्याट ‘रावण–१’ र जापानको ‘युवुसु’ का साथ प्रक्षेपण गरिएको थियो ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले जनाएअनुसार नेपाली नानो स्याटेलाइटको आयु अगष्ट २५ मा सकिइसकेको छ । यो अबको एक महिनाभित्र वा सेप्टेम्बर अन्तिम सातामा वायुमण्डल खस्ने छ ।
प्रक्षेपणका बखत पृथ्वीबाट ४२० किलोमिटर माथि छोडिएको ‘नेपालीस्याट–१’ अहिले तलतल झर्दै वायुमण्डलको नजिक आइपुगेको भनिएको छ । यसको वायु मण्डलमा प्रवेशसँगै पथ्वीतिर सय किलोमिटरको दूरीमा आइपुग्दा तीब्र घर्षणका कारण जलेर नष्ट हुनेछ ।
‘नेपालीस्याट–१’ अभियान सफल भएसँगै धेरै कुराहरु सिक्न पाएको खुलासा गर्दै नाष्टका प्राविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल भन्छन् : यो अभियानसँगै स्याटेलाइटबारे अध्ययन गर्नेे नेटवर्कमा जोडिन पाएको, आफ्नै ग्राउन्ड स्टेसन बनाउन सकेको र सेटेलाइटको विविध पक्षबारे ज्ञान हासिल भएको छ । यसले त सामान्य नागरिकलाई स्याटेलाइट मिसनबारे आधारभूत ज्ञान दिन पनि सहज बनाएको छ ।
यो खस्ने प्रक्रियासँगै दोस्रो ‘नानो स्याटेलाइट’ बनाएर पठाउने तयारी भैरहेको छ । यसका लागि नेपाली युवा वैज्ञानिकहरुको सहभागितामा ‘नानो स्याटेलाइट’ तयार पार्ने अभियान सुरु गरिएको छ ।
युवा वैज्ञानिक आभाष मास्केसहितको टोली ‘नेपालीस्याट–२’ मिसन अन्तर्गत नानो स्याटेलाइट तयारीमा लागेको छ । यसअघिको ‘नेपालीस्याट–१’ पनि मास्केको नेतृत्वमा तयार पारिएको थियो ।
वायु मण्डलमा खस्न तयार रहेको १ किलो तीन शय ग्राम तौल भएको ‘नेपालीस्याट–१’ मा नेपालको झण्डा र नाष्टको लोगोसहित निर्माणकर्ताको नाम पनि छ । दोस्रो स्याट कहिलेसम्म निर्माण भैसक्छ भन्ने एकिन नभए पनि उक्त स्याट थाइल्यान्डको अन्तरीक्ष कम्पनी ‘इन्स्टेड’ कम्पनीसँगको सहकार्यमा सफल बनाइने निष्कर्षमा नास्ट पुगेको छ । पदयात्रा नाम दिएर यो स्याटेलाइट निर्माण अभियान जारी राखिएको छ ।