लामो समयदेखि विश्वभरि नै पर्यटन उद्योगलाई धुवाँरहित उद्योगको मान्यता दिइएको छ । पर्यटन उद्योग भन्नाले सामान्यतया होटल, मोटेल (नेपाल मोटेल हालसम्म भएन-भएको यो पंक्तिकारलाई थाहा भएन), कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, पदयात्रा पर्वतारोहण अर्थात् माउन्टेनियरिङ, भ्रमण अर्थात् ट्राभल, जलयात्रा अर्थात् र्याफ्टिङ, बरफ आरोहण’आईस क्लाईम्किङ (एकदमै जमेको हिउँ जो नीलो देखिन्छ) अर्थात् आईस क्लाइम्बिङ आदिलाई बुझिनछ ।
यसमा वन–जंगल घुम्ने अर्थात् जंगल सफारी, निकुञ्ज, बन्जी जम्पिङ, चरा अवलोकन अर्थात् बर्ड वाचिङ, खेल पर्यटन अर्थात् स्पोर्ट टुरिज्म, फिसिङ अर्थात् माछा मार्ने-माछा सिरकार, शिकार पर्यटन, हट एयर बालुनिङ, जीप फ्लाईएर, चट्टान आरोहण अर्थात् रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाईकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर आदि पनि पयैटन उद्योगमा पर्दछ ।
औषधोउपचार अर्थात् मेडिकल टुर, ध्यान पर्यटन अर्थात योगा टुर, गाउँ अवलोकन भ्रमण (यस्तो भ्रमण कुनै जाति विशेषको बसोवास भएको ठाउँमा गरिन्छ) अर्थात् भिलेज टुर, सहर अवलोकन भ्रमण अर्थात् सिटी टुर, किल्ला अथवा दूर्ग भ्रमण फोर्ट टु, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर आदि पनि पर्यटन उद्योगमा पर्दछन् ।
पर्यटनको मेरुदण्डको रुपचाहिँ होटल, मोटेल (नेपाल मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदिलाई पनि मान्न सकिन्छ । किनभने, कुनै पनि मान्छे आफ्नो देश छाडेर (२४ घण्टाभन्दा बढी समय विताउने गरी) दोस्रो देश जाने बित्तिकै उसलाई सबैभन्दा पहिले वास बस्ने वा भनौं रात बिताउने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ अथवा खाने, पिउनेको व्यवस्था गर्छ ।
हुन त यसरी कुनै पनि मान्छेले आफ्नै देशमा पनि उसले आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । त्यसपछि मात्रै उसले खाने–पिउनेको व्यवस्था मिलाउँछ । तर, बाह्य वा आन्तरिक पर्यटक हुनका लागि आफन्त वा नातागोता कहाँ गएर बास बस्ने भन्ने हुँदैन । किनभने, उसले आफन्त वा नातागोताको घरमा गएर पैसा तिरेर रात बिताउँदैन ।
अर्को महत्वपर्ण कुरो के हो भने, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मै पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आवद्ध ‘विश्व पर्यटन संगठन (युएन डब्लुटीओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ ।
यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन गौतम बुद्धको जन्मस्थल नेपाल घुमेर लुम्बिनी घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरु) पर्यटकहरुलाई पर्यटक मान्ने कि नमान्ने ?
खास गरी हाल भगवान मानिएको र बुद्ध धर्मका प्रवर्द्वक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्नका लाग भारत भएर एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी (यस्तो पर्यटक श्रीलंका लगायत केही एसियाली देशको बढी रहेको अध्ययनले देखाएको छ ।) पर्यटकहरुलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने हो कि ?
कोरोनजाको महामारी सुरु हुनुअघि नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको कुरो गर्दा ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौं प्रगति भई रहेको थियो । किनकि केही वर्षअघि आएको समाचारमा नेपालको होटल उद्योगमा लगभग १० खर्ब नेपाली रुपैयाँ लगानी भैसकेको थियो भने, हाल नेपालको होटल उद्योगमा थप चार खर्ब नेपाली रुपैयाँ लगानी थपिएको भन्ने भनाइ रहेको छ ।
यस आधारमा हेर्दा हाल नेपालको होटल उद्योगमा लगभग १५ खर्ब लगानी भैसकेको अनुमान गर्न सकिन्छ । हुन पनि बि.सं. २०७५-०७६ मै कैलाली जिल्लाको धनगढी, बाँकेको नेपालगञ्ज लगायत विभिन्न जिल्लाको पर्यटकीय स्थानहरुमा मात्रै होटल उद्योगमा ८ अर्बभन्दा बढी लगानी भएको भनी त्यही बेला एक अनलाईन न्युज पोर्टलले समाचार छापेको थियो ।
त्यस्तै सन् २०१८ मा दक्षिणी छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दु तथा बौद्घ धर्मालम्बीहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेका थिए । यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथको भ्रमण गरेपछि मुक्तिनाथको भ्रमण गर्न आउने भारतीय पर्यटकहरुको सोचेभन्दा बढी नै घुईँचो लाग्न थालेको थियो ।
तर, त्यो क्रम कोभिड-१९ को महामारीसँगै हाल रोकिएको अवस्था छ । यसरी भारतीय लगायत अन्य देशका पर्यटकहरुको चाप बढ्न थालेपछि मुुस्ताङ जिल्लाको मुक्तिनाथ लगायत माथिल्लो मुस्ताङ क्षेत्रमा समेत नयाँ होटल खुल्ने क्रम बढ्दो कममा रहेको थियो ।
सन् १९९३-९४ तिर यो पंक्तिकार ट्रेकिङ भरियाको रुपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईवटा मात्रै होटल देखेको थियो । त्यसो त त्यो वेला थोराङपास ट्रेकिङ रुटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रुटहरुमा त्यो वेला होटल वा लज हुन्थेनन् । त्यसरी होटल वा लज उपलब्ध नभएकैले प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो, त्यो बेलामा ।
साथै, हिन्दु धर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल पनि भएकाले गर्दा त्यो वेला मुक्तिनाथ दर्शन गर्न आउने धेरैजसो भारतीय र नेपाली हिन्दु तीर्थयात्रीहरु पाटी, पौवा वा भनौं धर्मशालामा वास बस्थे भने, युरोप, अमेरिका, जापान लगायत विकशित देशका पदयात्रीहरु क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे ।
साँच्चै भन्ने हो भने, हाम्रो देश नेपालमा होटल उद्योगले अपेक्षा गरेभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । तर, भविश्यमा अपेक्षा गरेअनुसार विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आएनन् भने, होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरुले नाफा कमाउने त कता हो कता सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ ।
होटल उद्योगीहरुमध्ये धेरैले आप्mनै पकेटको पैसा भन्दा पनि बैँक तथा वित्त कम्पनीहरुसँग ऋण लिएर लगानी गरेका छन्, भने कतिपय बहुराष्ट्रिय लगानीकर्ताहरु पनि नेपालको होटल उद्योगमा लगानी गर्न आएका छन् ।
अर्को, तथ्य भनेको काठमाडौंको सहरी क्षेत्रमा खुलेका बीबी (बेड एन्ड ब्रेक फास्ट), ‘होस्टेल’ र ‘होम स्टे’हरु पनि नेपालका ठूला वा भनौं तारे होटलहरुका लागि प्रतिस्पर्धी मात्रै नभएर सौताकै रुपमा रहेको हुन सक्छ ! किनभने केही वर्षअघि ‘काठमाडौं लगायत सुविधा सम्पन्न क्षेत्रमै ‘होस्टेल’ र ‘होम स्टे’हरु चलाउन दिनु हुँदैन !’ भनी तारे होटलका सञ्चालकहरुले माग राखेका थिए, एक हिसाबले हेर्दा तारे होटेल साहूहरुको सो मागलाई नाजायज भन्न सकिँदैन ।