दोस्रो ठूलो पर्यटकीय नगरी चितवनको पटिहानीमा सुविधासम्पन्न रिसोर्ट निर्माण भएको छ । एक अर्ब भन्दा बढी लगानीमा निर्माण भएको उक्त रिसोर्ट उद्घाटनको पर्खाइमा छ ।
अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनमा आएपछि विदेशी पर्यटकका लागि अनुकूल अर्को आधुनिक रिसोर्ट थपिने छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदीस्थित तटीय इलाकामा निर्मित यो भव्य रिसोर्टको हालको हैसियत पाँचतारे रहेको छ ।
चितवनसहित देशभरका २२ व्यवसायीको संयुक्त लगानीमा निर्मित उक्त रिसोर्ट रिसोर्टभित्र अनेकन रिसोर्टहरु छन् । तिनलाई भिला नामाकारण गरिएको छ ।
रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार हालसम्म ७५ करोड नेपाली रुपैया लगानी भैसकेको छ । अझैं पनि डेकोरेशन र भिलाका अन्य कामहरु बाँकी रहेकाले यो पूर्ण रुपमा निर्माण भैसक्दासम्म यसमा एक करोड रकम खर्च हुनेछ ।
हाल रिसोर्टमा सात अत्याधुनिक भिला तयारी अवस्थामा छन् । यी मध्ये दुई भिला स्विमिङ पुलसहित निर्माण गरिएका छन् । यसलाई देशका ठूला ठूला केन्द्रीय कार्यक्रमको व्यवस्थापन गर्न सकिने गरी निर्माण गरिएको छ । निर्माता भन्छन् : देशको मात्र नभएर दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बिम्स्टेक आदिको शिखर सम्मेलन आयोजना गरिए पनि सबै देशका राष्ट्रप्रमुखहरुलाई बस्न मिल्ने गरी यी भिल्ला तयामर पारिएका छन् ।
एक भिलाको एक दिनको भाडा एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको छ । उक्त रिसोर्टमा भिलाबाहेक बस्नका लागि ५२ वटा कोठा निर्माण गरिएका छन् । यस अतिरिक्त शानदार कार्यक्रम हलहरु छन् । ती हल निकै सुविधा सम्पन्न छन् ।
तीमध्ये सबैभन्दा ठूलो हलमा पाँच सय जना अट्न सक्छन् । दोस्रो ठूलो हलमा १५० जना अट्न सक्छन् । बाँकी रहेका चारवटा हलमा १०० जना अट्न सक्छन् । हलको बसाइमा सामाजिक दुरीलाई पनि ख्याल गरिएको छ ।
रिसोर्टको रेष्टुरेन्टमा ५०० जनाले एकै पटक बसेर खाना खान सक्ने गरी व्यवस्थापन मिलाइएको छ । यहाँ भिन्न सुविधा लिन चाहनेका लागि २५० जना अट्नसक्ने सुविधासम्पन्न आधुनिक बारको पनि व्यवस्था गरिएको छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन समेत निर्माण गरिएको छ ।
वरपर रमणीय बगैंचाले घेरिएको उक्त रिसोर्ट पाँच बिघा १० कठ्ठा जमिनमा फैलिएको छ । रिसोर्टको छानोमा न्यूजील्याण्डको टायल डेक्क्राको निकै आकर्षक छानो राखिएको छ ।
रिसोर्ट सञ्चालन गरिएसँगै पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउन सकिने गरी व्यवस्था मिलाइएको छ ।