काठमाडौं । हरेक वर्ष भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको सरकारले यो वर्ष ढिलासुस्ती गर्दा चाडपर्वमा चिनीको अभाव हुने र मूल्य वृद्धि हुने देखिएको छ ।
चिनीको अभाव हुन नदिन र बजारमा मूल्य नियन्त्रण गर्न अर्थ मन्त्रालयले सरकारी स्वामित्वका कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत छुटको चिनी आयात गर्न अनुमति माग गरे पनि अर्थले स्वीकृत दिएको छैन ।
दसैं, तिहारमा चिनी धेरै खपत हुन्छ । स्वदेशी उत्पादनले नपुग्ने भएकाले हरेक वर्ष भन्सार छुटमा चिनी आयात गरेर बिक्री गरिँदै आएको छ । ५० हजार मेट्रिक टन चिनी आयात गर्न प्रस्ताव पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।
‘५० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति माग गरेका छौं,’ केसीले भनिन्, ‘अर्थमा फाइल रोकिएको छ ।’
चिनी उद्योगले समेत बजारमा चिनी कम हुने भएकाले ५० हजार टन सरकारी माध्यमबाट आयात गर्न अनुरोध गरेको केसीले बताइन् ।
‘निजी क्षेत्रले पनि बजारको माग धान्न नसक्ने भएकाले सरकारी कम्पनीमार्फत ल्याउन भनेकाले अनुरोध गरिएको हो,’ केसीले भनिन्, ‘समयमा चिनी आयात गर्न नसके बजारमा भाउ बढ्छ ।’
खाद्यले १० हजार र साल्ट ट्रेडिङले ४० हजार मेट्रिक टन आयातका लागि अनुमति माग गरेका छन् । साल्ट ट्रेडिङसँग चिनी स्टक सकिएपछि भाउ बढेर अहिले बजारमा किलोको ९० देखि ९५ रूपैयाँ पुगेको छ ।
साल्ट टे्रडिङले ७९ रूपैयाँ ५० पैसा किलोमा बिक्री गरिरहेको छ । चाडपर्वमा धेरै खपत हुने भएकाले समयमै ल्याउन नसके अझै मूल्य बढ्ने देखिएको छ । सरकारी स्वामित्वका कम्पनीसँग चिनी सकिएपछि व्यापारीले मूल्य बढाएका थिए ।
विगतमा बजारमा चिनी ८५ रूपैयाँ किलोमा बिक्री हुँदै आएको थियो । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।