• फाल्गुन २४ २०८२, आईतवार

अफगानिस्तान सैन्य मिशन अन्त गर्नु हाम्रो फौजको जीवन जोगाउने सर्वोत्तम तरिका थियो : बाइडेन

भाद्र १६ २०७८, बुधबार

काबुल । अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट गरिएको उद्धार अभियान अन्तर्गत सुरक्षा खतरामा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञ लगायत १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको बताएका छन् ।

अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति वाइडेनले उक्त कुरा बताएका हुन् ।

तालिवान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौता अनुरूप अमेरिकाले अगस्ट ३१ भित्र नै अफगानिस्तान छोड्ने बताएको थियो ।

उनले भने, “विगत १७ दिनदेखि हाम्रो फौजले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो हवाई उद्धार कार्य सम्पन्न गरेको छ । यो अवधिमा कूल एकलाख २० हजारभन्दा बढी अमेरिकी, हाम्रा सहयोगी राष्ट्रका नागरिक तथा अफगानिस्तान मिसनमा सघाउँदै आएका सहयोगीहरूलाई उद्धार गरेको देखिएको छ । अमेरिकी सैनिकले बेजोड साहस, व्यवसायिकता र कटिबद्धताका साथ यो कार्य सम्पन्न गरेका छन् ।”

“यससँगै अब अफगानिस्तानमा हाम्रो २० वर्षे सैन्य उपस्थिति समाप्त भएको छ,” अमेरिकी राष्ट्रपति वाइडेनले भने । मंगलबार अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनबारे अमेरिकी जनतालाई थप जानकारी गराइने पनि उनले बताए ।

“यो अमेरिकी सैन्य प्रमुख तथा सबै अधिकारी र कार्यस्थलमा रहेका हाम्रा सबै कमान्डरहरूको सर्वसम्मत सिफारिस थियो ताकि योजना अनुसार हाम्रो हवाई उद्धार सेवा अन्त्य भएको छ । सैन्य मिशन अन्त गर्नु हाम्रो फौजको जीवन जोगाउने सर्वोत्तम तरिका थियो भने हाम्रो बहिर्गनसँगै अफगानिस्तान छोड्न चाहनेहरूका लागि सर्वसाधारणको प्रस्थानको सम्भावना सुरक्षित राख्नु हाम्रो कर्तव्य थियो ।” उनले भने ।

अमेरिकी सैनिक परिचालन को २० वर्षपछि सोमबार पेन्टागनले पनि अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने काम पूरा भएको घोषणा गरेको थियो ।