तोकिएको समय सीमाभित्रै अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सैनिक फिर्ता लगेको छ । योसँगै अमेरिकी सेना फिर्ता होलान् वा काबुल बसिरहलान् भन्ने बहस एकपटका लागि अन्त्य भएको छ ।
काबुल एयरपोर्टमा अमेरिकी सेनाको उपस्थिति नदेखिएसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अमेरिकाले आफ्ना सेना काबुलबाट फिर्ता लगिसकेको र अफगानिस्तानका लागि एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । यसले अमेरिकाले काबुलबाट केही समयका लागि आफ्नो हात झिकिसकेको संकेत दिएको छ ।
आन्तरिक रुपमा तालिवान र अमेरिकी प्रशाासनका बीचमा के कस्ता सम्झौता वा सहमति भएका छन् । ती कुनै पनि बाहिर आएका छैनन् । तर अफ्गानको मामला हल गर्नका लागि अमेरिकी प्रशासन र तालिवान दुवैले चर्को बार्गेनिङ र महङ्गो मूल्यमा लेनदेन गरेको भने स्पष्ट अनुभूत गर्न सकिन्छ ।
यसका पछिल्ला सङ्केतका रुपमा अमेरिकाले अफ्गान छोड्नका लागि अगष्ट ३१ को समयसीमा खुलमखुल्ला माग गर्नु र उक्त समयसीमाभित्र अमेरिकी सेना फिर्ता नभए हमला गरिने भनी सत्तासीन तालिवानले दिएको धम्की नै पर्याप्त छन् । अमेरिकाजस्तो
महाशक्तिले ठूलो क्षति र अपमानसहित राजधानी काबुल छाड्नु परेको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको भाषामा अबका दिनबाट सुरु भएको ‘नयाँ कुटनीतिक मिसन’ ले गरेको सङ्केत के हो बुझ्न अप्ठेरो पारिरहेको छ । किनकि तालिवानसँग भएको सहमति अनुसार काबुलस्थित अमेरिकी दूतावास कतारको राजधानी दोहामा सारिएको छ ।
अमेरिकी नागरिकलाई सम्बोधन गर्दै विदेशमन्त्री ब्लिङ्केनले ‘अमेरिकी सेनाको अन्तिम उडान पूरा भइसकेको’ र ‘सेनाले अफगानिस्तान छाडिसकेको’ प्रष्ट रुपमा बोलेका छन् । यसले पश्चिम एशियामाथि बदलिएको अमेरिकी रणनीतिको सङ्केत दिएको छ । अफगानिस्तानसँग त झन् अमेरिकाको नयाँ अध्याय नै सुरु भएको मान्नु पर्छ ।
अलकायदा र आईएस्आईएस्–के को उदयसँगै सन् १९३५देखि सुरु भएको अमेरिका–अफ्गान कुटनीतिक सम्बन्ध अहिले आएर फेरि नयाँ मोडमा पुगेको आइपुगेको छ । अमेरिकी जनतासमक्ष ब्लिङ्केनले दिएको मन्तव्यमा हाल काबुलका लागि ‘सैन्य अभियान पूरा भएको’ तर ‘नयाँ कूटनीति पहल सुरु भएको’ बुझ्न सकिन्छ ।
अफगानिस्तानबाट एक लाख २३ हजार मानिसको सुरक्षित उद्दार गरेको फेहरिस्त सार्वजनिक गर्दै ब्लिङ्केनले काबुल बिमानस्थल सुरक्षाका लागि राखिएका ६ हजारभन्दा बढि अमेरिकी सैनिक सुरक्षित अमेरिका फर्किएको जानकारी दिएका छन् ।
ब्लिङ्केनको आफ्नै शब्दमा ‘आजबाट काबुलमा कूटनीतिक उपस्थिति बन्द गरी दूतावासलाई कतारको दोहामा लगिएको छ ।’ यसलाई उनले अमेरिकाको ‘सुझबुझपूर्ण कदम’का रुपमा व्याख्या गरेका छन् । उनको अभिप्राय भनेकको यस कदमलाई अमेरिकी संसदले अनुमोदन गर्ने छ ।
कुनै देशमा यति लामो बसाइपछि अमेरिका आफैले आधिकारिक रुपमा शान्त भएर यथार्थसँग मिल्ने अभिव्यक्ति दिएको शायद पहिलो पटक हो । यसका पछाडि पछिल्लो समयमा विकास भएको विज्ञान तथा प्रविधि, महाशक्तिका रुपमा चीनको उदाउँदो उपस्थिति, अमेरिकाभित्रै शक्ति सन्तुलनको नयाँ आयाम र डेमोक्र्याटको उदार नीतिसहित पछिल्लो समयमा चीनको आबीओआरको रणनीतिक महाजालोसँगै अमेरिकाले विश्व प्रभुत्वका लागि सोच्न थालेको नयाँ सैन्य तथा कुटनीतिक पहलले प्रचुर मात्रामा प्रभाव पारेको छ ।