• आश्विन १३ २०८१, आईतवार

भौतिक सुख खोज्दा हामी दुखी भयौँ

भाद्र १५ २०७८, मंगलवार

डा. हरिप्रसाद ‘मानासग्नी’ । जीवन एउटा सिर्जनात्मक अभिव्यक्ति हो । जीवन हेर्ने पद्धति हो । जन्मेदेखि मर्ने अवधि बीचको सिर्जनालाई उत्कृष्टतातिर लगेर ज्युनु नै मानव जीवन हो ।

जस्तै बालक अवस्था चाँदी, जवानीको अवस्था सुन र बृद्धावस्था हिराजस्तो हुनुपर्छ । त्यसको लागि जीवन निरन्तर सिर्जनात्मक हुनुपर्छ । जीवनशैली राम्रो भएर उमेरसँगै अहोभाव आउनु पर्छ । त्यो जीवन जिएको परिभाषा हो ।

मानव जीवनको महत्वलाई निश्चित परिधि र घेरामा हेर्न सकिन्न । यो असिमित छ । अर्को जीवन आउँछ, आउँदैन भन्नेमा विवाद छ । सम्पूर्णतामा उपयोग गर्नु नै जीवन हो ।

शारीरिक मानसिक र अध्यात्मिकतामा हरक्षण उन्नत गराउँदै लैजानु जीवनको कार्य हो । मलाई लाग्छ– मानवीय दुःखको कारण जीवन जीउन नजानेर हो । मानिस जहिले सुख खोज्छ ।

जे पनि खोज्छौँ सुखको लागि भनेर तर झन्झन् दुःखी भइरहेका छौँ । यो हुनु, सुखको मूल्य चिन्न नसक्नु र बेहोश जीवनशैलीको कारण हो । चेतनाको नजिक हरक्षण रहयौँ भने सुखी हुन्छौं ।

वस्तुमा सुख खोज्यौँ, त्यसकारण दुःख पायौँ । परिवार, घरवार, पैसा केले सुख पाइन्छ ? वस्तुले सुविधा दिन्छ, सुख दिँदैन । जीवनभित्रबाट बग्ने सुख, आनन्दमा डुबुल्की मार्न सकेनौँ । जीउन सिक्यो भने सुख छ ।

काममा सफल बन्न यी कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ :

अहङकार, महत्वाकांक्षा र प्रतिस्पर्धालाई छोडेर लगातार निस्काम कर्मयोग गर्ने मान्छे संसारमा सधैँ सफल हुन्छ ।

प्राप्तिलाई पहिलो उद्देश्य सोच्नु भएन । साक्षीभाव भएर काम गर्नुपर्छ । काम गर्दा न त त्यसमा टाँसिने न त त्यसबाट उछुट्टिने नै । असल हुनुपर्छ । सफलताको कुञ्जी असफलताबाट सुरु हुन्छ ।

काममा पाँचवाट गुण (श्रम, सीप, समय, सदाचार र साधना हुनुपर्छ । शारीरिक रुपमा गृहस्थ र रुपमा सन्यास हुनुपर्छ । शरीर गृहस्थको जस्तो सदा श्रमशील, मन सन्यासीको जस्तो कुनै कुरामा पनि नटाँसिएर अगाडि बढेको । म चिन्ता वा पीरपर्दा यस्ता उपायहरु अपनाउने गर्छु ।

आफ्नै अन्तर मनभित्र अध्ययन गर्छु । कसैसँग सोधखोज गर्दिन । चिन्ता आफैँ जान्छ भन्ने सोच्दछु । सुरुका दिनमा चिन्ता पर्दा मनलाई ध्यान र योगका पाटाहरुमा लगाउँथे, स्वनिरीक्षण गर्थें । तर अबका दिनमा त्यो आवश्यक छैन ।