लकडाउनमा आहार बिहार के र कस्तो हुने, यस बारेमा हामीले गम्भीरतापूर्वक सोच्नैै पर्दछ । ग्रामीण इलाकामा लकडाउनको असर त्यति धेरै नपरे पनि सहरी इलाकामा भने निकै नै गम्भीर रुपमा परिरहेको छ ।
सहरका घर तथा डेरामा बस्ने बालबालिकामा लकडाउनसँगै शारीरिक तौल बढ्न थालेको छ । समय लामो पनि भयो । विगत २ वर्षदेखि शिक्षणसंस्था बन्द र लकडाउनले आहार तथा बिहारमा अनियमितता ल्याएको छ ।
यो बीचमा बच्चाहरु जंक फुड बढी खाने गरिरहेका छन् । केक चाउचाउ, चकलेट मात्र खान्छन् । यसले अभिभावकहरुलाई धेरै नै चिन्तित बनाएको छ । धेरै बच्चाहरु भिडियो गेम तथा मोबाइलमा मस्त छन् ।
घरबाहिरको खेलमा बन्देज र तयारी खानाप्रति बढी आकर्षित छन् । अझ कतिपय अभिभावक त खाना र खाजा बनाउने झन्झट र समय अभावका कारण बालबालिकालाई तयारी खाना नै दिने गर्दछन् । यसले वास्तवमै अनावश्यक मोटोपना बढाइरहेको छ ।
मेटोपना कसरी जान्ने त्यो पनि जरुरी छ । आवश्यक तौलभन्दा १० प्रतिशत बढी वा पुरुषको शरीरमा १०देखि २० र महिलामा २० देखि ३० प्रतिशतभन्दा ज्यादा बोसो भएमा तयसलाई मोटोपना मानिन्छ । मोटोपनाको मापन बि.एम.आई निकाल्न उचाईलाई सेन्टिमिटर र तौललाई पाउण्डमा राखी विभाजन गर्ने त्यसपछि २ ले गुणन गरी तौलको अङ्कलाई भाग गरेमा भागफल निस्कन्छ । उक्त भागफललाई ७०३ अङ्कले गुणन गरी जति अङ्क आउँछ, त्यही नै उक्त व्यक्तिको बी.एम.आई. हो ।
बी.एम.आई. ४० भन्दा बढी भए स्वास्थ्यका दृष्टिले ज्यादै असामान्य मानिन्छ । अनावश्यक तौल बढ्नु, मोटाउनु धेरै थरीका रोग घर हुनु र पीडित हुनु हो । मोटोपन घटाउनु पर्छ । यो रोगहरुको घर वा जड पनि हो । मोटोपनाले उत्साह एवम् जाँगरको कमी, हीनभावना, मानसिक तनाव तथा भावनात्मक रुपले कमजोर हुने र झन् स्वास्थ्य समस्या बढ्ने गर्दछ ।
हाम्रोमा सामान्यतः धेरै दुब्लो पातलो हुनु स्वस्थताको प्रतिक मानिदैन । तर दुब्लो हुनु र अस्वस्थ हुनु एउटै कुरा होइन । तर मोटोपना भने रोगको घर हो । रोगहरुको पूर्वसङ्केत पनि हो ।
नेपालका सहरी बालबालिकामा पनि अहिले मोटोपन समस्याको रुपमा देखिन थालेको छ । गुलिया मिठाइहरुको बढ्दो प्रयोग, कोक, फेन्टा जस्ता पेय पदार्थ, फास्ट तथा जंकफुड चिल्ला, तारेका, भुटेका खाना, मासुको बढ्दो प्रयोगले केटाकेटीको तौल नचाहिदो रुपमा बढिरहेको छ ।
स्कुले बालकले अभ्यास कम गर्ने, स्कुल जाँदा सवारी साधन बढी प्रयोग गर्ने, स्थान अभावले इण्डोर खेलमा समय बिताउने, घरमा कम्प्युटर, भिडियो गेम, टेलिभिजन अगाडि बढी समय बिताउने हुनाले यो समस्या निम्तिइरहेको छ ।
खानाको गुणस्तर, असर एवम् प्रभाव, खानपान एवम् शारीरिक व्यायामबाट नियन्त्रण गर्न सकिन्छ । अमेरिकामा प्रत्येक ३ मा १ मा भएको केटाकेटीको मोटोपनाप्रति चिन्तित बाबुआमाको भावना समेट्दै प्रसिद्ध अमेरिकी पत्रिका वासिङटन पोष्टले राष्ट्रपतिका उम्मेदवारसँग मोटोपन नियन्त्रणसम्बन्धी बहस नै चलाएको थियो ।
मोटोपन उमेरसँगै बढ्दै जाने भएपनि शारीरिक परिश्रम नगर्ने मानिसका साथै आर्थिक रुपले सम्पन्न परिवार तथा वंशाणुगत रुपमा पनि मोटोपनको सिकार भएको पाइन्छ । खानामा भएको प्रोटिन, कार्बोहाइडे«ट, चिल्लो पदार्थबाट प्राप्त गरेको क्यालोरीको अनुपातमा परिश्रम भएन भने दिन प्रतिदिन क्यालोरी बढी बोसो जम्मा हुन्छ ।
माछामासु, अण्डा, दूध, बोसोयुक्त खाना, गुलियो, रक्सी, वियर, हल्का पेय पदार्थ, प्रोटिन, कार्बोहाइडे«ट आदिको बढी प्रयोगले बोसो बढाउँछ । शारीरिक परिश्रम नगरी सुस्त जीवन मात्र बिताए पनि मोटोपना आउँछ । त्यसैले खानपिनका साथै श्रम गर्नतिर ध्यान दिनुपर्दछ ।
इन्डोक्राइन ग्रन्थीबाट निस्कने हर्मोनले शारीरिक तौल, उचाइ, यौन, अन्तरदहन आदि क्रियामा असर पार्ने भएकोले हर्मोनको असन्तुलन भएमा हामीले खाएका सामान्य खाने कुराले पनि शरीरको तौल बढ्न सक्छ ।
औषधि सेवनले पनि मोटोपना बढाउन सक्छ । परिवार नियोजनको औषधि, मधुमेहको सल्फोनाइलपुरिया, डिप्रेसनको ट्राइसाइक्लिक एण्टिडिप्रेसेन्ट आदिको पाश्र्व प्रभाव, कफबद्र्धक फाष्टफुड, दिउँसो धेरै सुत्नु र पटकपटक खाना खाइरहने तथा बढ्दो तैलीय पदार्थको सेवन पर्दछ ।
गुलिया खाद्यपदार्थ प्रमुखतया चकलेटले मोटोपना, क्यान्सर, मधुमेहजस्ता दीर्घकालीन रोगहरु निम्त्याउने भएकाले धुम्रपानमा जस्तै कर, बन्देज लगाउनुपर्ने कुरा पाश्चात्य देशमा, युरोपमा चलिरहेको बेलामा हामीकहाँ पनि पहलकदमी चाल्नुपर्ने भएको छ ।
मोटोपनाले तत्काल कुनै रोग उत्पन्न नगरेपनि भविष्यमा विभिन्न दीर्घरोगहरु निम्त्याउने कुरामा दुईमत छैन । मोटा केटाकेटी वयस्क हुँदा मधुमेह मुटु रोगहरु उच्च रक्तचापजस्ता गम्भीर स्वास्थ्य समस्याको सिकार हुन्छन् ।
शरीरमा आवश्यकताभन्दा बढी जम्मा भएको बोसोले सानैदेखि नकारात्मक असर पार्न सुरु गर्दछ र युवावस्थामा पुगेपछि दीर्घकालीन असर सुरु हुन्छ । अधिक बोसोका कारण शरीरका महत्वपूर्ण अंगहरु मुटु मृगौला कलेजो आँखा कान आदि ठूला जोखिममा पर्दछन् ।
बोसोको मात्रा बढिरहँदा आलस्यपन आउने शरीरका नशा तथा मांसपेशीमा दबाव परेर खुट्टा दुख्ने, मेरुदण्डको हड्डी खिइने, सर्ने आदिले गर्दा नसा च्यापिएर कम्मर दुख्ने, बढी तौलले हिँडडुल गर्दा खुट्टामा बढी जोर परी घुँडा, कुर्कुच्चा दुख्ने, पत्थरीजस्ता पीडादायी समस्याले सताउँछ ।
रगतमा कोलेस्ट्रोल आदि बढी रक्तनलीलाई साँघुरो पार्दछ र उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या, जोर्नीहरुका दुखाइजस्ता समस्या युवावस्थामा नै उत्पन्न हुन्छ । हृदयघात, मष्तिष्कघात भएर पक्षघात हुने संभावना हुन्छ ।
मधुमेह, स्वासप्रश्वासको समस्या भइ दम बढ्ने, खानासम्वन्धी गडबडी, अनिद्रा, कलेजोका रोगहरु, छालासम्बन्धी संक्रमण, पित्तथैली तथा मुत्राशयमा पत्थरी हुने, यौन क्षमतामा कमी आउने, बाझोपनको सिकार हुनेजस्ता अनगिन्ती समस्या ल्याउँछ ।
महिलाहरुको मासिक धर्ममा गडबड, स्तनको, पाठेघरको क्यान्सर, वाझोपन, यौनरोग, श्वास प्रस्वास एवं पाचनक्रियामा समस्या, हर्निया, मानसिक रोग लगायतका विभिन्न रोगहरु लाग्ने संभावना बढ्छ ।
मोटो मान्छेको मुटुको आकार पनि सामान्यभन्दा ठूलो हुने गर्छ । हृदयरोगबाट मर्ने संभावना २ गुणा बढ्छ । त्यस्तै मोटोपन मध्येमा पनि शरीरको अन्य भागभन्दा भुँडी ठूलो हुनु मुटु रोगका लागि नराम्रो हुन्छ ।
मानिस मोटाएर उसको कम्मर पनि मेवाको आकारमा नभै स्याउको आकारमा वृद्धि हुन थाल्छ । त्यसपछि ऊ मृत्युको मुखमा पुग्दछ भन्ने अनुसन्धानले देखाएको छ । शरीर फर्सी होइन, लौका जस्तो हुनुपर्दछ ।
मोटाएपछि मोटोपना घटाउनुभन्दा पनि शरीर मोटो हुन नदिनु राम्रो हो । मोटोपना आफैमा भयानक रोग नभएपनि धेरै रोगहरुको कारण र समस्या भने हो । मोटाएपछि मात्र योग, शारीरिक, व्यायाम, डाइटिङ गर्न थाल्छन् । शारीरिक तन्दुरुस्तीका लागि डाइटिङ भने हानिकारक हुन्छ ।
तेल, घ्यू मिश्रित बोसोयुक्त गरिष्ठ खाना, तयारी खाना, फाष्टफुड खाना प्रयोग नगरी हरियो सागपातलाई उसिनेर खाने, मौसम अनुसारका फलफूल खाँदा र प्रशस्त पानी पिउँदा लाभप्रद हुन्छ ।
भात, आलु, चिया, कफी, गुलियो पदार्थको सेवन कम मात्रामा गर्ने, सुख्खा २।३ वटा गहुँको रोटी र दाल नियमित खानुपर्दछ ।
बिहान र बेलुका १-१ घण्टा छिटोछिटो हिँडडुल गर्ने, उफ्रने, दौडने, जगिङ गर्ने, ब्याडमिण्टन, टेबलटेनिस खेल्नु, पौडी खेल्नु, साइकल चलाउनु, योगासनको अभ्यासले शरीरको तौलमा सन्तुलन हुन्छ ।
बी.एम.आई.४० वा सोभन्दा बढी भएकोमा शल्यचिकित्साद्वारा पेटको बोसो र मासु घटाइन्छ । बङ्गारामा तार बानी मुख बन्द गर्देर तथा शल्यक्रिया गरी मोटोपन कम गर्न सकिन्छ ।