आइतवार बेलुकीपख काबुलमा अर्को बम विष्फोट भयो । काबुल विमानस्थल नजिकै बाक्लो बस्तीमा । कति जनाको हताहती भयो त्यसको विवरण छैन । उद्दार कार्य पछिल्लो समयमा पनि जारी छ र प्रभावित पनि ।
यस अघि काबुल विमानस्थलमा भएको बम बिष्फोटन पछि उद्दार कार्य ठप्प जस्तै हुन पुगेको थियो । तर अर्को बिष्फोट हुन सक्ने अनुमान र प्रचारबाजीसँगै उद्दार कार्यलाई निरन्तरता दिइयो ।
अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने क्रममा अन्य देशका नागरिक तथा अफ्गानी नागरिक पनि काबुल छाड्न विमानस्थल ढाक्ने गरी उपस्थित हुने क्रम टुटेको छैन । काबुलस्थित तालिवान सरकारले विमानस्थलमा जाने बाटोमा काँढेतार बिछ्याए पनि मानिसको भिडभाडमा कमी आएको छैन ।
यसको कारण हो, काबुलमा ‘वार अफ टेरर’ अर्थातु युद्ध आतंक जारी छ । विदेशी नागरिक तथा तालीवानलाई मन नपराउने अफगानी नागरिक जुनसुकै मूल्यमा काबुल छाड्न तयार छन् ।
काबुलबाट उद्दार भै स्वदेश फर्किएका नेपाली नागरिक भन्छन् ः ‘विमानस्थलको वरपर बन्दुक र राइफल पड्किइरहेको आवाज आइरहन्छ, विमानस्थलमा महाप्रलय आइरहेको झै मानिस अलापविलाप गरिरहेका छन् ।’
कहालीलाग्दो दृष्य देखेर फर्किएका नेपालीहरु भोलिका दिनमा काबुल कुन अवस्थामा फर्कने हो भन्दै भय प्रकट गरिरहेका छन् । बीस वर्षपछि भएको तालिवानको आगमनसँगै काबुल–सत्ता शान्तिपूर्ण हस्तान्तरण भएजस्तो देखिए पनि युद्धको छायाँ सघन रुपमा मडारिइरहेको भान हुन्छ ।
त्यहाँको मानवीय समवेदना विश्व मानव समुदायका लागि निकै सोचनीय बनिरहेको छ । त्यसो त अफगानिस्तान इतिहासदेखि हालसम्म सबैभन्दा बढी वैदेशिक हस्तक्षेप, अस्थिरता, अराजकता र तनाव बेहोर्दै आइरहेको छ ।
युरोपबाट थलमार्गहुँदै दक्षिण एशिया प्रवेश गर्ने एकमात्र भौगोलिक नाका हुनुको कारणले पनि अफगानिस्तान सधैं विदेशी शक्तिको आँखामा परिरहेको छ । हरेक शताब्दीमा विदेशी शक्तिको अतिक्रमण, आक्रमण र उत्पीडन यहाँका वासिन्दाका लागि जबर्जस्त जीवनपद्धति नै बनेको देखिन्छ ।
प्राचिन कालमा पर्सियन अतिक्रमण, सिकन्दरको एशिया आक्रमण, मंगोल र मुगललगायतका शासकहरुको हमला र शासन अफगानिस्तानले आफ्नो नियतिका रुपमा बेहोर्दै आइरहेको छ ।
आधुनिक कालमा आउँदा पनि विदेशी अतिक्रमणको नियतिले बेर्न र लपेट्न छाडेन । प्रजातन्त्रका मसिहा र संरक्षक रहेका बेलायत, रुस र अमेरिकाको अतिक्रमणको अति नै नमीठा दिन पनि यसले बेहोर्यो ।
यति मात्र होइन, आन्तरिक रुपमा विभिन्न समूहमा विभाजित धार्मिक सम्प्रदाय र समूहबीचको भिडन्त पनि निरन्तर चल्दै आएको छ । अफगानी अफगानी बीचको यो भिडन्तले निम्त्याएको पीडा झनै अकल्पनीय छ ।
भित्र हेर्दा अफगानीको लडाइँ तर त्यसमा विदेशी हतियारको प्रयोग र प्रदर्शनले अफगानी गृह कलह पनि कम पीडादायी हुने गरेको छैन । सन् १९८९ मा रुसी सेना मास्को फर्किए लगत्तै तात्कालीन मुजाहिद्दिन र तालिबानी लडाकुहरु रुसी एके–४७ बोकेर टी–५५ ट्याङ्कमा हतियार प्रदर्शन गर्दै हिंड्ने गर्दथे ।
समय फेरियो । तर अहिले सन् २०२१ मा आएर तालिबानी लडाकुहरुले अमेरिकी एम–१६ राइफल बोकेर अमेरिकीकै फौजी ट्याङ्कहरुमा बसेर तालिवानहरु आधुनिक हतियार प्रदर्शन गरिरहेका छन् ।
अगष्ट ३१ भन्दा पछि एक दिन पनि अमेरिकी सेना काबुल विमानस्थलमा रहेमा उनीहरुमाथि आक्रमण गरिने तालिवानको चेतावनीले पनि काबुल सन्त्रासमा छ । बिमानस्थलमा भएको बम बिष्फोटमा परी अमेरिकी सेनाको ठूलो संख्यामै हताहती हुन गएको छ ।
अमेरिकी सेना हतार हतार काबुल छाड्ने क्रममा यसले प्रयोग गरेका जहाज, गाडी, हेलिकप्टर, अत्याधुनिक साना ठूला हतियार र बन्दोबस्तीका सामानहरु छोडेर गएको छ । यी सबै तालिवानको हातमा परेका छन् ।
युद्ध आतंकको छायाँ जारी छ । ठीक यसैबेला चीनले आफ्नो विदेश मन्त्रीमार्फत् अमेरिका लगायत सबै मिलेर काबुलको शान्तिपूर्ण राजनीतिक व्यवस्थापनका लागिपर्न आह्वान गरेको छ ।
तथापि अफ्गानिस्तान अझैं विदेशी र स्वदेशी शक्तिहरुका बीचमा हुनसक्ने युद्ध आतंकको छायाँले ढाकिइरहेको छ ।