• मंसिर ७ २०८१, शुक्रबार

इन्जिनियर पेशा छोडेर कृषि क्रान्तिमा लागेका कर्णालीका राजेश

भाद्र १४ २०७८, सोमबार

कालिकोट । नेपाली समाजमा इन्जिनियरलाई ठूलो मान्छे मान्ने चलन । भिन्न र परम्परागत पेशामा परिवर्तन आएको विधाको हिसाबले त्यो ठीक हो पनि । तर कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित तिलागुफा नगरपालिकाको मध्यम वर्गीय परिवारमा हुर्केर पढेका सव इन्जिनियरको कहानी अलि छुट्टै पाउन सकिन्छ ।

कालिकोटका राजेश उपाध्यायले इन्जिनियर विषय पढेर पनि कृषि पेशा अंगालेका कारण आजको हाम्रो रिपोर्टिङको विषय नै यही बन्न गयो । कुराकानीकै क्रममा उनीसँग धेरै विषय उठान भए । समय अनुसारको पेशा गर्नुपर्ने भएकोले उनले पेशा बदलेको बताए । उनी भन्छन्,‘देशको बदलिँदो राजनीतिक अवस्थाले गर्दा सचेत युवाहरु कि राजनीतिमा आउन जरुरी छ कि व्यवसायीक बन्न जरुरी छ ।’

रोजगारमूलक र सीप सहितको व्यवसायीक क्रान्ति अबको युवा पुस्ताको अन्तिम विकल्प हो । सक्षम र आर्थिक प्रगतिको अथाह संभावना बोकेका बुद्धिजीवी र युवा हरेक वर्ष इण्डियाका कालापहाडमा मजदुरी गर्न जान र विदेशी भूमिबाट मृत अवस्थामा बाकसमा बन्द भएर आउनु पर्ने बाध्यताको अन्त्य हुनुपर्छ ।

स्वदेशीमै रोजगारी सिर्जना गरी आफूलाई र देशलाई आर्थिक सम्पन्नतातिर डोर्याउने योजना बनाउनु पर्छ । आफ्नै देशमा रोजगार कम्पनी स्थापना गरी नेपाली युवालाई यतातिर डोर्याउनु पर्छ । विशेष गरी कर्णालीबासी युवालाई यस काममा सक्षम बनाउने आर्थिक योजना त नल्याइ भएकै छैन । यसका लागि अभियान नै चलाउन जरुरी देखिन्छ ।

४५ हजारको जागिर छोडेर व्यवसायमा किन ?

समयको परिवर्तनसँगै मनमा उत्साह, जाँगर, पारिवारिक समर्थन, अग्रजहरुको मायाको साथै आफू परिवर्तनको एक हिस्सेदार हुनु स्वभाविकै हो । उनी भन्छन्, ‘जब यस्तो अनुभव हुन थाल्यो तब मेरो जागिरभन्दा पनि व्यवसायमा लाग्नुपर्छ भन्ने आँट आउन थाल्यो ।’ परिवारको प्रमुख रोजाइ भनेकै मेरो जागिर थियो ।

बुवाआमालाई समाजमा इन्जिनियरको बुबाआमा भनेर चिनिन मन थियो होला । ‘सायद मेरो परिवारका कुनै बाध्यता पनि थिए होलान् तर पनि मेरो मनमा भने व्यवसायिक क्रान्ति नै गर्नु पर्छ भन्ने भाव थियो, उनी भन्छन् । उनले करिब ७ वर्षको अस्थायी जागिरबाट सबै अनुभव लिएका पनि थिए ।

हुन त जागीरे जिन्दगीमा पनि कुनै अप्ठ्यारो अवस्था आएन र राम्रो नाम र पद पनि पाएका थिए । उनले कालिकोटको त्रिरत्न प्राविधिक विद्यालयको सहायक प्राचार्य भवन, सिन्धुपाल्चोकको सव इन्जिनियर, जाइका इन्टरनेश्नलको कन्सल्ट्यान्ट, आसा प्रोजेक्टको सब–इन्जिनियरजस्ता विभिन्न पदहरु सम्हालिसकेका थिए ।

तर पनि उनको मनमा शान्ति थिएन । किनकि उनलाई आफ्नो नभई अरुकै ज्याला मजदुर गरेर कमाएको छु भनेर हिनताबोधको महसुस भएको थियो । हुन त इन्जिनियर पेशाबाट राम्रै आम्दानी हुन्थ्यो तर बिहान बेलुका समयमा नै पुग्नु पर्ने, आफन्त र साथी लगायतसँग पनि भेटघाट गर्न समय नहुने जस्ता विभिन्न कारणले जागिर छोडेर उनी काठमाण्डौ लागे ।

काठमाडौं देशकै ठूलो, ब्यस्त सहर र ठूलाठूला घर, ठूलाबडा भनिएका मान्छे बस्ने ठाउँ हो । त्यहाँका मानिसलाई कर्णाली प्रदेश र अझ कालिकोटको नाम त धेरैले थाह नै नपाउने अवस्था अहिले पनि छ । उनले यस्ता अनेक समस्याका बाबजुद पनि कम्पनी दर्ता गरि केही समय काठमाडौं कर्मथलो बनाए ।

कम्पनी पनि ठीकै चलिरहेकै थियो । उनलाई लाग्यो, ‘अबको मेरो यात्रा कर्णाली हो ।’ उनका बाजे र बुबा र कर्णालीकै माटोमा जन्मेर हुर्केका थिए । उनले कर्णाली मै तिला इन्जिनियरिङ कन्सल्टेन्सी र शिवालय मल्टिप्रपोज कम्पनी खोलेका छन् ।

साथै, हाम्रो कम्प्युटर इन्स्टिच्युट पनि सञ्चालन गरेका छन् । उनको कार्यालयमा आजभोलि हरेक दिन ७–८ जनाले निःशुल्क रुपमा व्यवसायिक परामर्श लिन स्थानीय मानिसहरु आउने गर्दछन् । साथै ४ जनाले नियमित रोजगार पनि पाएका छन् ।

उनले हरेक दिनजसो गाउँले दाजूभाइ, नातेदार, शिक्षक, बुद्धिजीवी लगायतका दुर्गम बस्ती र दुरदराजबाट भौंतारिएर सहर आएका बेरोजगार युवा, गरीब, विपन्न र असहायलाई सशुल्क र निःशुल्क रोजगारमूलक सीप सिकाउने र विभिन विषयमा उर्जा र हौसला दिइरहेका छन् ।

अबको यात्रा :

भनिन्छ, धन र पैसा मात्र सम्पत्ति होइन, इज्जत र सम्मान पनि सम्पत्ति हुन् । यही प्रमुख उद्देश्य लिएर गाउँबाट आएका बिरामी, अशक्त, अपाङ्ग र गरीबहरुको सेवा गर्ने साथै स्वदेशमै विभिन्न किसिम उद्योग, कलकारखाना, खोल्न युवायुवतीलाई प्रोत्साहन गरिरहेका छन् ।

कर्णालीमा रहेका विभिन्न संभावनाको खोज, अनुसन्धान गर्ने पनि उनको उद्देश्य रहेको छ । देशव्यापी रुपमा आत्मनिर्भर युवा अभियान सञ्चालन गर्ने पनि उनको कार्यक्रम रहेको छ । कर्णालीको अर्गानिक वस्तुको प्रचारप्रसार गर्ने र युवा उद्यमीहरुसँग सहकार्य गरी विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्था, स्थानीय तहसँग पनि समन्वय गरी यो अभियान चलाउने उनको योजना रहेको छ ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने, युवाहरुलाई मजुदरी गर्न कालापहाड जानुपर्ने बाध्यताको अन्त्य गर्ने र आफ्नो व्यवसायलाई पनि निरन्तरतामा प्राथमिकता दिने कुरा उनको प्राथमिकताका विषय हुन् । यसरी उनीसँग हाल कर्णालीको माटोलाई शिरोपर गरेर अघि बढ्ने मुख्य कार्यक्रम रहेका छन् ।