• फाल्गुन २८ २०८२, बिहीबार

मेरो बाँकी जीवन बोनसको जीवन हो, सास रहुञ्जेल देशको सेवामा समर्पित रहन्छु : झलनाथ खनाल

भाद्र १४ २०७८, सोमबार

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश सोमबार (आज) फर्किएका छन् ।

भारतको एपोलो अस्पतालमा उपचार गराएर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताएका छन् ।

त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गर्न पुगेका थिए । त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफूले पुनर्जीवन पाएको बताए । साथै, बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् ।

‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ, अव मेरो बाँकी जीवन बोनसको जीवन हो,’ खनालले भने, ‘उमेरले ७१ वर्ष पार गरिसकेँ, अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’