अन्तरीक्ष कसको ? भन्ने विषयको उठान गर्ने हो भने विश्व विभाजित भएको देखिन्छ । यसमा कोही चीन, रसियाको पक्षमा त कोही अमेरिका युरोपको पक्षमा खेमाबन्दी भएको देखिन्छ । तर अहिलेसम्म अमेरिकाले नै यसको नेतृत्व गरिरहेकाले स्वाभाविक रुपमा अमेरिकाभित्रै पनि विश्वका सबैभन्दा दुई धनी व्यक्तिहरु ः जेफ बेजोस र एलन मस्क एकअर्कामा तछाडमछाड गरेर लागि परिरहेका छन् ।
उनीहरु अमेरिकाको राष्ट्रिय एरोनाउटिक एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) को अन्तरीक्ष परियोजना आआफ्नो संस्थाबाट कार्यान्वयन गर्नका लागि होडबाजीमा लागिपरिरहेका छन् । नासाको चन्द्रमा मिसनको ठेक्का आफ्नो हातमा लिन सम्झौताका लागि भिडिरहेका छन् ।
यसका लागि बेजोसले आफ्नो कम्पनी ‘ब्लु ओरिजिन’ लाई अघि सारिरहेका छन् भने मस्कले आफ्नो कम्पनी ‘स्पेस एक्स’ लाई । तर नासा भने दुवै अर्बपतिहरुलाई समान व्यवहार गरेर चन्द्र परियोजना पूरा गर्ने रकम दुवैलाई उपलब्ध गराउन सक्षम देखिदैन ।
यी दुवैले चन्द्रमा–मिसनसम्बन्धी फरक फरक प्रस्ताव नासासमक्ष प्रस्तुत गरेका छन् । मस्कको स्पेस–एक्सले ‘स्टारशीप यान’ को प्रयोग गर्ने योजना बनाएको छ भने बेजोसको ब्लु ओरिजिनले मान्छेसहितको पहिलो चन्द्र मिसनको एपोलो यान जस्तै यान निर्माण गरेर चन्द्रमामा पुग्ने योजना प्रस्तुत छ । एलनको स्टारशीप यान धेरै ठूलो ‘स्पेसक्राफ्ट सिस्टम’ मस्कको अपेक्षाअनुसार यसले कुनै दिन मंगल ग्रहमा कब्जा जमाउने छ ।
नासालाई अमेरिकी सरकारले केवल २ अर्ब डलरको बजेट मात्र दिलाउने भएपछि मानव अवतरण प्रणाली निर्माणका लागि स्पेस एक्सलाई छनौट गरिसकेको छ ।
स्पेस एक्स र ब्लु ओरिजिनले क्रमशः ३ अर्ब डलर र ६ अर्ब डलरको प्रस्ताव गरेका थिए । स्पेस–एक्स छनौटपछि बेजोसको ब्लु ओरिजिनले प्रतिस्पर्धा नै नभएको भनी कानुनी रुपमा मुद्दा नै चलाएको छ । दुवै पक्षका वकिलहरुको कानुनी बहस चलिरहँदा एलन मस्कले आफ्ना प्रतिद्वन्द्वी बेजोसलाई उडाउँदै ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्– ‘यदि वकिलहरुले अन्तरीक्ष पथमा पुर्याउन सक्ने भए, बेजोस यतिबेला ‘प्लुटो’ मा हुने थिए ।’
तर पनि अमेरिकीहरु यी दुई अर्बपतिहरुको बीचमा भएको अन्तरीक्ष प्रतिस्पर्धा देखेर निकै खुसी छन् । उनीहरुलाई लागिरहेको छ, कम्तिमा अन्तरीक्ष खोजको भविष्य कोरोना महामारीले थलिएको विश्वमा पनि उज्यालो नै देखा परिरहेको छ ।