• फाल्गुन २४ २०८२, आईतवार

अमेरिकी शीर्ष नेतृत्वको मदहोशीका कारण काबुल बम बिष्फोट भएको अमेरिकी सैनिककै स्वीकारोक्ति

भाद्र १३ २०७८, आईतवार

काबुल । अमेरिकी सेना फिर्ता हुने क्रममा रहेकै बेला गत बिहीबार अफगानिस्तानको राजधानी सहर काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भयानक आत्मघाती बम बिष्फोट भएको थियो । उक्त बिष्फोटमा दुई दर्जन अमेरिकी सेनासहित कम्तिमा १७० जना मारिएका थिए ।

यो घटना किन र कसरी घट्न पुग्यो भनी छानबिन भैरहेका बेला काबुलमा कार्यरत एक जना अमेरिकी सेनाको मरिन कप्र्सका कर्णेल स्टुअर्ट शेलरले फेसबुकमा एक भिडियो पोस्ट गर्दै अमेरिकी सरकारको नीतिप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले पोष्ट गरेको यो भिडियो भाइरल बनेसँगै यथार्थताको जानकारीले काबुलस्थित सिंगो अमेरिकी सेनामा असन्तुष्टि ब्यापक रुपमा फैलन थालेको छ ।

यो घटना काबुल बिमानस्थलमा आतंक सिर्जना गर्न वा अमेरिकी सेनासँग बदला लिन आईएस् आईएस्–के ले घटाए पनि यसको जिम्मेवारी अमेरिकी शीर्ष नेतृत्वले लिनुपर्ने शेलरको जिकिर रहेको छ । तर हालसम्म कुनै पनि उच्च अमेरिकी अधिकारी वा सम्बन्धित विभागले यसको जिम्मा लिएका छैनन् ।

गाँठी कुरा त के हो भने काबुलबाट अमेरिकी सेना फिर्ता गर्ने भनेर तालिवानलाई अघोषित रुपमा काबुल कब्जाका लागि आमन्त्रण गरिसकेपछि अमेरिकी सेनालाई बेलैमा सुरक्षितसाथ घर फर्काउन सक्नुपर्दथ्यो । तर अन्य मानिसहरुको पनि उद्धार गर्नुपर्ने कारण देखाएर अमेरिकी सेनाको सानो फौजी टुकडीलाई काबुल बिमानस्थलमा राखियो । यही कमजोरी थाह पाएर बम बिष्फोट गरी यति धेरै मानिसको ज्यान लिइयो ।

फौजी रुपमा काबुल बिमानस्थल सुरक्षाका लागि अमेरिकी सेनाको नियन्त्रणमा रहेको बडगाम एयर बेस छाड्नु नहुने थियो । यो एयर बेस छाडेपछि काबुलमा रहेका अमेरिकी सेना सपोर्ट बिहीन अवस्थामा रहन गए । यही नै सबैभन्दा ठूलो गल्ती भएको असन्तुष्ट सैनिक शेलरको रहेको छ ।

शेलरको टिप्पणी र भिडियोसहितको पोष्टले अमेरिकी नेतृत्वमा खैलाबैला मच्चाएको हुनसक्ने धेरैको टिप्पणी आइरहँदा अमेरिकी सेनाले उनीमाथि कारबाही गरेको जनाएको छ । बेलायती सञ्चार माध्यम डेली मेलले जनाए अनुसार उनीमाथि अनुशासनहीनताको आरोपसहित जिम्मेवारीबाट पनि मुक्त गरिएको छ ।

अमेरिकी सेना आफ्नो २० वर्षे अफगानिस्तान मिसन सकेर फर्कदै छ । साथै, यही अगस्ट ३१ सम्म एकजना अमेरिकी सेना पनि अफगानिस्तानमा रहने छैनन् । सम्झौता अनुसार तालिवानले ३१ अगस्टभन्दा एक दिन पनि ढिलो नगर्न अमेरिकी पक्षलाई सचेत गराइसकेको छ ।

(एजेन्सीको सहयोगमा)