काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्त्य गरेकी छिन् ।
मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै सरकारमा विश्वासको मत नपुग्ने देखेपछि उनले सरकार टिकाउन संसद्को अधिवेशन अन्त्य गरेकी हुन् ।
भदौ २ गते एकाएक बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका थिए । उनले राजीनामा दिए लगत्तै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेकी शाक्यले हाल केपी ओली पक्षमा लागेपछि मुख्यमन्त्री बनेकी हुन् । मुख्यमन्त्री शाक्यलाई यतिबेला सरकार जोगाउन सकस परेको छ । कुल ५६ जना सांसदका साथ नेकपा एमालेबाट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्यलाई तत्कालीन माधव नेपाल समूहका सांसदहरुले साथ छोड्ने क्रम जारी रहेको छ ।
माधव नेपालको पार्टी नेकपा एसमा खुलेका नेता राजेन्द्र पाण्डेले आफू निकटको १२ जना सांसदहरुले मुख्यमन्त्री शाक्यलाई साथ नदिने र उनको सरकार ढल्ने बताउँदै आएका छन् । यहि कारणले पनि मुख्यमन्त्री शाक्यले अविश्वासको डरले मुख्यमन्त्री शाक्यले हतारमा संसद् अधिवेशन अन्त्य गरेकी हुन् ।