(नेपाली कांग्रेसको पार्टी महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति चुनावी दौडका लागि संपर्क कार्यालय खोलेर प्रचार अभियानलाई तिब्रता दिने क्रममा वानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरी पार्टी सभापति उमेदवारका रुपमा आफूलाई उभ्याउँदै गर्दा चर्चामा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग समसामयिक विषयमा गोलमेडियान्युज डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको मुख्य अंश प्रस्तुत गरिएको छ– सम्पादक ।)
१. सभापतिको प्रतिस्पर्धात्मक दौडका लागि प्रस्थान गर्नुभएकै हो ?
राजधानीको वानेश्वरमा सम्पर्क कार्यालय खोलिसकेपछि म दौडमा सामेल भैसकेको सन्देश गैसकेको छ । मैले नेपाली कांग्रेसको १४औं महाधिवेशन देखि नै म सभापतिको उमेदवार हुनेछु भनेर घोषणा गरिसकेको थिए । त्यसैले पनि यो दौड आज मात्र सुरु भएको होइन । अहिले सम्पर्क कार्यालय खोलिसकेपछि सबैसँग भेटघाट र छलफल हुने क्रम जारी छ । नेपाली कांग्रेस पार्टीमा सम्पर्क कार्यालय खोलेर आफ्नो सभापति उमेदवारीको प्रचारप्रसार खुलेरै अघि बढाउने प्रचलन नै छ । यो सबै आन्तरिक पार्टी जीवनमा भेटघाट, छलफल र प्रचारका लागि हो ।
२. सम्पर्क कार्यालय निकै ठूलो उत्साहका साथ खोल्नु भएको छ नि ?
उत्साहका साथ खोलेको छु । भेटघाट र सम्पर्कका लागि हो यो सबै । भेट्न चाहनेका लागि सजिलो होला भनेर वानेश्वरमै खोलिएको छ । सम्पर्क कार्यालय सबैको नजरमा पर्नुपर्छ । सबैले थाह पाउने गरी सबैको सहमति र सहभागितासहित खोलेको छु । साथीहरु उत्साहित हुनु हुन्छ । कोरोनाको महामारी रहँदा पनि सबै आएर मलाई सघाइरहनु भएको छ । साथीहरुको साथ, सहयोग, हौसला र प्रेरणा मिलिरहेको छ ।
३. संपर्क कार्यालय उद्घाटनका दृष्य अरुहरुका भन्दा अलि केही भिन्न र आकर्षक देखिए । धर्म गुरुहरुको पनि सहभागिता भयो त ?
म आफै जनकपुरको बासिन्दा । जानकी मन्दिरको महन्थ आफै आउनु भयो । दक्षिणकाली, पशुपति, सूर्य विनायक, डोलेश्वरलगायतका सबै धार्मिक मठमन्दिरबाट पनि उपस्थिति रह्यो । म आध्यात्मिक चिन्तन भएको मानिस हुँ । उहाँहरुले आशीर्वाद पनि दिनु भएको छ । लामाहरु र मौलानाहरु पनि आएर आशीर्र्वाद तथा शुभकामना दिनु भएको छ ।
४. तपाई आफैले धार्मिक स्वतन्त्रताको वकालत गर्ने भएकाले पनि सबैको आशीर्वाद मिलेको हो कि ?
हो, म धार्मिक स्वतन्त्रताको पक्षधर हुँ । म व्यक्तिगत रुपमा मात्र होइन, संस्थागत रुपमा पनि धार्मिक स्वतन्त्रताको पक्षमा छु । नेपाली कांग्रेसको विधानमा धार्मिक स्वतन्त्रताको स्पष्ट घोषणा गरिएको छ । म आफू हिन्दु हुँ । तथापि नेपालमा विभिन्न धर्मावलम्बी दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ । मेरो सबैमा सम्मान भाव छ । नेपाल बहुधार्मिक तथा बहुसांस्कृतिक समाज हो ।
धर्म र राजनीति अलगअलग कुरा हुन् । धर्म निजी जीवनसँग सम्बन्धित हुन्छ । राजकाज र राज्यसत्तासँग विचार सम्बन्धित हुन्छ । हाम्रो संविधानमा धर्मनिरपेक्षता उल्लेख गरिएको छ । नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्छ । हाम्रो विचार राजनीतिक आस्था यसैमा आधारित छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने भएकाले सबै धर्म र धर्मावलम्बीलाई समान रुपमा व्यवहार गर्दछ । मेरो पनि यही हो ।
५. सभापतिका लागि तपाईकै उमेदवारीको किन आवश्यकता महसुस गर्नुभयो ?
आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा छाप लगाई विजयी गराउन । नेपाली कांग्रेसको रुख चिन्हमा छाप नलाग्नाले पार्टी विजयी नभएको कारण अहिले देशमा यति विधि समस्याहरु भोग्नु परिरहेको छ । संघीय संविधान जारी गरेर हामीले संघीय संरचना लागू गरिसकेका छौं । यसलाई हामीले राज्यसत्ताको पुनर्संरचनाको संज्ञा दिएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली छ देशमा । तर पनि यसको स्वामित्व र संरक्षकको अभिभारा लिने हैसियत पार्टीहरुमा देखिएको छैन ।
६. यसको अर्थ यसलाई रक्षा प्रयोग र विकास गर्ने पार्टी नेपाली कांग्रेस मात्र हो भन्न खोज्नु भएको हो ?
हो, यो संविधानअनुसार चुनाव भएर पनि संविधान र शासन प्रणालीलाई संरक्षण र संचालन गर्नसक्ने पार्टीको पराजय हुन गयो । अरु पार्टीहरुले जितेर आए । त्यसैले पनि यी वर्षहरुमा भाँडभैलो भैरहेको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित प्रदेश तथा स्थानीय निकायमा भाँडभैलो भैरहेको छ । फलतः सिंगो शासन प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुने, संविधानप्रति नै वितृष्णा उत्पन्न हुने, संविधानलाई लावारिश छोड्ने र अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने काम भैरहेको छ ।
यो सबै भाँडभैलो हुनुको कारण वर्तमान प्रणाली र संविधानमा विश्वास गर्ने दल विजयी हुन नसक्नु नै हो । त्यसमा नेपाली कांग्रेसको पनि आफ्ना कमी कमजोरीहरु छन् । हामीहरु पनि जिम्मेवार छौं । अबका दिनमा यसको सफल संचालनका लागि नेपाली कांग्रेसको विजय जरुरी हुन गएको छ । म पार्टी सभापतिमा विजय भएपछि त्यही दिशामा लान खोजिरहेको छु ।
७. आगामी पार्टी सभापतिका लागि ८ जना उमेदवार देखा पर्नु भएको छ । तपाईकै गलामा विजयको माला आउला त ?
म निकै आशावादी छु । मैले वर्तमान सभापति शेरबहादुर देउवालाई पहिले देखि नै भन्दै आइरहेको छु । मैले ७७ जिल्लाका सभापतिको भेलामा पनि यो कुरा राखिसकेको छु । उहाँहरुलाई अनुरोध गरिसकेको छु । केन्द्रीय सदस्यहरु, सांसदहरु, प्रदेश र स्थानीय तहका साथीहरु सबैसँग अनुरोध गर्दै आइरहेको छु । सबैसँग कुराकानी गरिरहेको छु ।
उहाँहरुले भन्नु भएको थियो– ‘कतै तपाईले बीचैमा छाड्न् हुने त होइन ?’ तर मैले भनिरहेको छु – ‘तपाईहरुको माया र विश्वास तथा साथ पाएपछि मैले किन छाड्नु ? म आत्मविश्वासका साथ उभिइरहेको छु ।’
८. तपाईलाई वीपीले विश्वास गरेको मानिस पनि भनिन्छ नि ।
हो, २०३६ सालको जनमत संग्रहको कठीन घडीमा मैले नेपाल विद्यार्थी संघको नेतृत्व सम्हाल्ने मौका पाएको थिए । त्यो अवसर वीपी कोइरालाले प्रदान गर्नु भएको थियो । वीपी कोइराला दुरदर्शी भएर नै होला मलाई उक्त जिम्मा सुम्पनु भएको थियो । उहाँले निकै भरोसा पनि गर्नु भएको थियो । मैले सफलतापूर्वक उक्त जिम्मेवारी बहन गरेको थिए ।
त्यतिबेलाका समकक्षी साथीहरु अहिले केन्द्र, प्रदेश र स्थानीय तहमा हुनुहुन्छ । त्यसैले मलाई पूरा विश्वास छ कि म नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुने छु ।
९. एउटै कित्तामा रहेका तपाई पनि उठ्ने र देउवा पनि उठ्ने गर्दा अब खेमा अलग भएको हो ?
खेमा अलग भएको, विद्रोह गरिएको, खेमाबन्दी भएको वा नजोडिएको केही पनि होइन । फुटेको पनि होइन । पार्टीको विधान छ । सबै कुराको विधातः व्यवस्था गरिएको छ । मैले शेरबहादुर देउवासँग १०औं, ११औं महाअधिवेशनदेखि नै मलाई सहयोग गर्न अनुरोध गर्दै आएको छु । म एक दिन सभापतिको उमेदवार हुन्छु भन्ने देउवालाई पहिलेदेखि नै थाह छ ।
सभापति देउवा र मेरो बीचमा हार्दिकतापूर्ण सम्बन्ध छ । राजनीतिक नेतृत्व हस्तान्तरणीय हुन्छ । पदीय जिम्मेवारी पनि हस्तान्तरण हुन्छ । गिरीजा बाबुपछि सुशील कोइराला र त्यसपछि शेरबहादुर देउवामा क्रमशः नेतृत्व हस्तान्तरण हुँदै पनि आएको छ । मैले अचानक सभापति लड्छु है भनेको छैन । यति बेला मैले आफ्नो अवसर देखे, यो नै उपयुक्त समय पनि हो भन्ने मलाई लागेको छ । मैले साथीहरुसँग सल्लाह गरेर पार्टी सभापतिको उम्मेदवारी दिएको छु । पार्टीभित्र हुने स्वच्छ प्रतिस्पर्धालाई अन्यथा मान्न हुँदैन ।
१०. सभापतिको दौडमा तपाईका आगामी कार्यक्रमहरु के छन् ?
मैले लैजाने भनेको पार्टीले लिएको निर्णयको कार्यतालिका नै हो । भदौं १८ गतेदेखि ६७४३ वडा अधिवेशन सुरु हुन्छ । त्यसपछि क्रमशः गाउँपालिका र नगरपालिका अधिवेशन हुन्छ । त्यसपछि असोज ५ गते संसदीय निर्वाचन क्षेत्रको अधिवेशन हुन्छ । त्यहाँ हरेक निर्वाचन क्षेत्रबाट एक क्षेत्रीय सभापति र २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुहुन्छ । यी सबैसँग मेरो छलफल, भेटघाट र परामर्श हुने छ । म बढि भन्दा बढि समर्थन जुटाउन लागि पर्ने छु ।