प्रकृतिको अनुपम रचना भएर पनि विकासका पूर्वाधार र अवसरबाट बञ्चित गरिएको नेपालको कर्णालीका दुःखका कथा अनेक छन् । राणाहरुले त त्यताको क्षेत्रलाई आफ्नो शासन गर्ने क्षेत्रको रुपमा समेत मान्दैन्थे रे ।
नेपालमा एकल परिवारको बोलवाला भएको सामन्तवादी राणातन्त्र र राजतन्त्रको समयमा कर्णालीमा विकास गर्नुपर्छ भन्ने कुराको ध्यान गएन । बहुदल कालका ३० वर्षपनि सिंहदरबार र बालुवाटारका सत्ताहरु पनि कसले मोजमस्ती गर्ने भन्ने छिनाझपटीमै बिते ।
नेपालको इतिहासको सबैभन्दा ठूलो गृहयुद्ध पछि संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा समेत कर्णालीबासीका दुःख उस्तै छन् । व्यवस्था बदल्नका लागि त्याग र बलिदानी गर्न उच्चस्थानमा रहेको कर्णालीमा बगेको रगत जम्मा गरेको भए त्यही रगतको कुपिण्डे दह जत्रै अर्को दह बन्थ्यो होला ।
खास गरी हजारौंको बलिदानीपछि पाएको गणतन्त्रमा समेत देशका जनताको अवस्था उस्तै छ, कर्णाली पनि उस्तै छ । कर्णालीका अनेक समस्या छन् । ती सबै समस्याको एकैचोटी चर्चा गर्न सम्भव छैन तर हामी केही आंशिक समस्यालाई भने एकपटक केलाउने छौं ।
अहिलेको यो राजनीतिक व्यवस्था ल्याउन रगत बगाएका हजारौं मानिसहरु समाजमा भेटिन्छन्, जसको योगदान, परिश्रम र त्यागको कारणले केही सिमित नेताहरु सिंहदरबारको कुर्चीमा पुगे, तर त्यसलाई भर्याङ बनाएर नेताहरु माथि उक्लिए । भर्याङ बनाइएका तिनै मानिसहरुलाई बेवास्ता गरेर नेताहरु उनीहरुलाई समाजमा असरल्ल छोडिदिएका मात्रै छैनन् नेताहरु प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्दै आरामको जिन्दगी बिताइ बिहान बेलुका आफूले मासुभात खाइरहेका छन् ।
जनता, कार्यकर्ता र युद्धका घाइतेहरुलाई आँसुसित निख्लो आटोको डल्लोले घाँटी कोतर्दै निल्न बाध्य बनाइरहेका छन् । घाइते अपाङ्गहरुको योगदानको भर्याङ चढेर नेताहरुले मोजमस्ती र देशमा लुट खसोट गरिरहेका छन् तर घाइते र अपाङ्गहरु अझैपनि जीवन र मरणको दोसाँधमा पुगिरहेको यो दर्दनाक समयकाबिच एकजना कर्णालीका घाइतेको पीडादायी वर्तमान, लडाकू विगत र अन्यौलग्रस्त भविष्यका भोगाइहरु आज तपाईं समक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौं ।
कालिकोटका रत्न परियार जनयुद्धका जनमुक्ति सेना थिए । पार्टीमा आएपछि उनको नाम ‘प्रवल’ राखिएको थियो । माओवादीमा लागेर जनताको स्वतन्त्रताको लागि जनमुक्ति सेना भई दर्जनौं लडाइँ लडेका र जीवनमा एक साधारण मानिसले केवल कल्पना मात्रै गर्न सकिने एकदम संघर्षशील, पीडादायी र अप्ठेरो जीवनका पानाहरु पल्टाऔं :
अभाव र बाल्यकाल
उनी जन्मदा समाजमा बेथिति थियो, अत्याचार थियो, अन्याय थियो र थियो जातीय र समुदायगत विभेद । सामाजिक परिवेश जर्जर भएको त्यो समयमा कालिकोटका दमाई (दलित)को घरमा सुत्केरो परेको कुराले खास के महत्व राख्यो र ?
एक त विकट कर्णाली, त्यसमा कालिकोट, त्यही पनि खाँडाचक्रभन्दा टाढा तत्कालिन सिपखाना गाविस वडानम्बर २ लहरेला गाउँमा सुत्केरो पर्यो । समाजले कसलाई के अर्थ दिन्छ भन्ने कुरा अर्कै हो, तर भौतिक कुरा यो हो कि आलिसान महल र दरबारमा पनि मान्छे नै जन्मिन्छ र दूरदराज र गरिबको झुपडीमा पनि मान्छे नै जन्मिन्छ ।
२०३८ साल चैत १५ गते आमा सोमा दर्जी र बुवा जसकन्या दर्जीको घरमा परेको सुत्केरोसँगै जन्मिए एक शिशु । समाजको परम्परा र रितिथिति अनुसार न्वारनमा उनको नाम राखियो रत्न । कर्णालीको आफ्नो भाषामा ‘रत्न्या लख्या’ ।
शुक्ल पक्षका चन्द्रमा झैँ रत्न बढ्दै गए । उनी उमेर बढ्दै जाँदा आफ्ना दाजु र बुवा आमासँग विष्टमानका घरमा कपडा सिलाउने मेसिन बोकेर जाने गरे । बाहुन र क्षेत्रीहरुको दलानमा गएर उनका बुवा आमाले कपडा सिलाई रहँदा विष्टहरुका छोराछोरीहरुसँग ‘ताराबाजी लै लै’ उनले सँगै खेल्ने गरे ।
तर जब खाना खाने समय आउँछ, उनीसँगै खेल्ने उनका विष्टका छोरा छोरीहरुलाई उनका आमाहरुले सुनपानी छर्केर भित्र लिने र ‘रत्न्याले’ बाहिर दलानमै ल्याइदिएको खाना खानुपर्ने देख्दा र भोग्दा बालकको मतिष्कमा अनौठो छाप बस्यो ।
उनकै आमा बुवाले सिलाई दिएका कपडाले शरीर बेरेर लाज छोप्नेहरुले आफूलाई फरक व्यवहार गरेको देख्दा र भोग्दा बालक रत्नको दिमागले सोच्न बाध्य भयो । अहिले पनि विद्यालयमा दलित समुदायका छोराछोरी भर्ना त हुन्छन् तर माथिल्लो कक्षामा कमै पुग्छन् भने उतिबेला पञ्चायती सामन्तवादी समयको त कुरै छोडौं ।
बालक रत्न परियार विद्यालय भर्ना त भए तर कक्षा ४ भन्दा माथिको कक्षा उनले देख्न पाएनन् । ४ कक्षा पछिको समय र जीवन पनि त्यही विष्टमानहरुको घरमा जाने, कपडा सिलाउने, खलो उठाउने जस्ता तत्कालिन समाजमा दमाईले गर्ने काममै व्यतित भयो ।
२०४८ सालमा ९ वर्षको बालक रत्नलाई बज्रपात आइपर्यो । ४८ वर्षका उनका बुवा त्यही वर्ष बितिगए । चारभाइ मध्येका माइला रत्न जेठा दाजु र आमाको अभिभावकत्वमा बाँच्न थाले । बाँच्नु के थियो र कामकाज गरेर हुर्किन थाले ।
सामान्यतया बिष्टहरुको काम पनि तिहार, दशैँको समयमा हुने हो । बाँकी समयको तुनतान त उनकी आमाहरुले पनि गरिहाल्थिन् । काम नभएको मौका छोपेर हिउँदको समयमा कर्णालीका पहाडबाट मानिसहरु कमाइ गर्न कालापार (भारत) जान्थे र अझै पनि जान्छन् ।
त्यही मेसोमा रत्न २०५२ सालको हिउँदमा १४ वर्षको उमेरमा कालापार गए । आफ्ना दाजु र गाउँका अरु मानिसहरुको साथ दुईपैसा कमाउने आशमा उनी भारतको पौडीगढवाल पुगे । लहरेलाबाट गाउँका प्रौढ र युवाहरुसँग पहिले चोटी गाउँ छोडेका रत्न र अर्को एकजना किशोरलाई दैलेख सदरमुकाम आइपुगुञ्जेलसम्म उनीहरु भन्दा पहिले नै गाउँ बाहिर गइसकेका र देश परदेश घुमिसकेकाहरुले उछिट्टे खोलाए ।
यो गर्न पठाए, त्यो गर्न लगाए । नारायण नगरपालिका दैलेखमा आइपुग्दा अगाडीकाहरुले रत्नलाई गाडी देख्दा गाडीलाई नै ढोग गर्न लगाए । देशको सिमाना बाहिर भारत पुग्दा रेललाई समेत ढोग गर्न लगाए ।
मंसिरमा मुग्लान पसेका रत्नहरु दुईचार पैसा कमाएर चैतमा घर फर्किए । भारतका कालापहाडहरुमा ढुंगा र बालुवा बोकिरहँदा त्यही वर्ष फागुन १ गतेबाट देशमा जनयुद्व सुरु भएको उनीहरुले उतै चाल पाए ।
अब माओवादीले वर्गीय र जातीय विभेद हटाउने रे । सामन्तवादी व्यवस्था पनि हटाउने रे । राजा फालेर जनताको छोराछोरी नै राष्ट्रप्रमुख हुने व्यवस्था ल्याउने रे भनेर अगाडिका मानिसहरुले गाँइगुइँ गरेको उनले सुने ।
कामी, दमाई, क्षेत्री र बाहुन लगायतका सबै मानिसहरुलाई माओवादीले बराबर बनाउने रे । सामन्तका जग्गा जमिन खोसेर गरिब र निमुखालाई बाँड्ने रे । माओवादीको सरकार देशमा भयो भने त यसरी कालापार आएर ढुंगा र बालुवा बोक्नु पर्दैन रे । आफ्नै देशमा खोजेको काम जम्मै पाइन्छ रे ।
आदि इत्यादी कुराहरु जसरी उनले अगाडिका पाकाहरुको मुखबाट नसुन्ने झैँ गरेर गाँइगुइँ गरेको सुन्दा रत्नलाई यस्ता राम्रा माओवादीलाई देख्न पाए हुन्थ्यो भन्ने लाग्यो । मंसीरमा मुग्लान पसेका लहरेलाबासी चैतमा गाउँ आउँदा नेपालका अरु पाखापखेरा र कुना कन्दरा जस्तै तिब्रिकोटका गाउँहरु पनि जनयुद्धमय भइसकेका थिए ।
माओवादी कार्यकर्ता फरार भएका थिए । प्रहरी दमनमा उत्रेको थियो । माओवादीलाई निमिट्यान्न पार्ने नाममा त्यतिबेला प्रहरी र स्थानीय सुदखोरहरुले निमुखा गरिब र दलितहरुलाई दिनुसम्म दुःख दिए । आगजनी गरे, बलात्कार गरे, दमन गरे, गरीबहरुको ज्यानै समेत लिए ।
प्रहरी र सुदखोरहरुको खास अनुसार त जनयुद्व सुरु भएपछि देखियो गाउँमा । त्यो समयमा सामन्ती राज्य व्यवस्थाको असली रुप भोग्दा जनता बढी पिल्सिए । यही परिवेशमा दिन दुईगुणा रात चौगुणाको दरले गरीबहरुको माओवादीप्रति आस्था बढ्यो सरकारप्रति घट्यो । गाउँमा प्रहरीको दमन र सुदखोरहरुको ज्यादती सहन नसकेर रत्नहरु फेरि कालापहाड जानलाई मुग्लान पसे ।
माओवादीमा प्रवेश
क्रमशः रत्न परियार युवक भए । जान्ने बुझ्ने पनि भए । भारतबाट घर आए । २०५४ सालमा जनयुद्व लगभग व्यापक भइसकेको थियो गाउँमा । उनीहरु मुग्लानबाट गाउँमा आउँदा माओवादी कार्यकर्ताहरु आएर मानिसहरुलाई संगठित गर्न लागिसकेका थिए ।
गाउँमा र देशमा व्याप्त अन्याय, अत्याचार जातीय र समुदायगत विवेद हटाउने एकमात्र उपाय माओवादीको जनयुद्व मानेर गाउँका मानिसहरुले बुझ्दै गए । दलित मुक्तिको लागि दलितहरु लागे र आ-आफ्नो उत्थान र मुक्तिको लागि सबै मानिस लागे ।
भारतबाट आएका रत्न र उनका दाजुको बीचमा सल्लाह भयो । यो जातीय भेदभाव, अन्याय र अत्याचार हटाउन चारभाइमध्ये एकभाइ माओवादीमा पूर्णरुपमा लाग्नुपर्छ भनेर उनीहरुले सल्लाह गरे । गाउँकै अगुवा माओवादी कार्यकर्ता र शिक्षक प्रदिपनाथ योगीले लहरेलाबासीलाई राजनीतिक विचार दिइसकेका थिए ।
जेठो दाइले घर परिवार सम्हाल्ने र साना भाइ–बहिनीहरुको लालन पालन गर्ने र माइलो रत्न दलित मुक्ति, न्याय र देशको स्वतन्त्रताको लागि जनयुद्वमा लाग्ने भन्ने सहमति रत्न परियार र उनका दाइ बिचमा भयो ।
दलित संगठनबाट उनले माओवादीमा काम गर्न सुरु गरे । उमेर बढेसँगै गाउँकी एकजना कन्यासँग विवाह गर्ने भनेर रत्नको मगनी समेत भयो । २०५५ सालमा रत्न परियारलाई माओवादी पार्टीको सदस्यता मिल्यो उनको पार्टी नाम बन्यो ‘कमरेड प्रवल !’ पार्टीको सदस्यता पाएसँगै प्रवल गाउँ सुरक्षादलमा समाहित भए ।
राति माओवादीको कार्यक्रममा जाने, माओवादीका चिठी र सरसमान ओसारपसार गर्ने उनीहरुको काम हुन्थो । सुदखोरहरुलाई, छोटे सामन्तहरुलाई गरिने कारबाहीहरुमा भाग लिने, दिउँसो घरको काम धन्दा गर्ने अर्धभूमिगत हिसाबमा उनले १ वर्ष काम गरे ।
२०५६ सालमा मंसिर महिनामा परेको तिहार मानेर विवाह गरी पूर्णकालिन माओवादी कार्यकर्ता हुने उनको योजनामा उनको विवाह गर्ने भनेर मगनी गरेकै कन्याले भाँजो हालिन् । माओवादीमा पूर्णकालीन हुनेभए विवाह नगर्ने, ती कन्याले बताइन् । अब कमरेड प्रवललाई पर्यो फसाद ।
देशको लागि लाग्ने कि विवाह गरेर ती कन्याले भनेजस्तै परिवारको सिमित घेरामा बस्ने द्वन्द्व चल्यो प्रवलको मनमा । ठूलो आत्मसंघर्ष भयो । आत्मसंघर्षमा उनको देशभक्तिको भावनाले जित्यो । प्रवलले देश र जनतालाई चाहिने स्वतन्त्रताको अगाडि आफूले विवाह गर्ने र घर व्यवहार गर्ने कुरालाई उनले तुच्छ ठाने । मगनी गरेर बसेकी कन्याको सर्तलाई उनले छोडिदिए र उनी जनयुद्वमा समाहित भए ।
उनी सहभागी कारबाही र लडाईंहरु
जनयुद्वमा पूर्णकालीन भइसकेपछि जनमिलिसियामा उनको जिम्मा पर्यो । तत्कालिन रुपमा कालिकोट अछाम र बाजुराको माओवादीको एउटै जिल्ला समिति थियो । त्यही जिल्ला समितिको एरिया मिलिसियामा उनी संगठिन भए ।
त्यसपछि उनी अछाम, कालीकोट र बाजुराको ४ वटा छापामार दलमध्ये १ नम्बर दल कालिकोटको छापामार दलमा परे । उनका कमाण्डर थिए जीवन बुढा (हाल राष्ट्रिय सभा सदस्य) । ३ वटा छापामार दलद्वारा गरिएको बाजुराको इलाका प्रहरी कार्यालय पाण्डुसेन कब्जा गर्दा उनी पहिलो पटक फौजी कारबाहीमा सहभागी भए ।
तीनजनाको कमाण्ड गरेर राय विमानस्थलबाट इलाका प्रहरी कार्यालयलाई छेक्नेमा उनी परे । पाण्डुसेन इलाका प्रहरी कार्यालय कब्जा नहुँदासम्म विमानस्थल सुरक्षामा खटिएको प्रहरीविरुद्व उनको टोलीले गोलाबारी गरिरह्यो । जनताको सहभागिता र जनमिलिसियाको आडमा छापामार दलले ६ वटा समूह बनाएर गरेको त्यो आक्रमण सफल भयो ।
इलाका प्रहरी कार्यालय कब्जामा आएपछि विमानस्थलको प्रहरीलाई रोक्न गएको उनी सम्मिलित समूह पनि फिर्ता भयो । भेरी कर्णालीमा छापामारका प्लाटुन बने । प्लाटुनका कमान्डर जीत (पछि उनी चर्चित कमाण्डरहुँदै शहीद भए) सह–कमाण्डर बहुवीर (उनीपनि बेनीमा शहिद भए) प्लाटुनहरुले भेरी–कर्णालीमा सेबोटेज गरे, एम्बुस गरे र गरे जनताको सेवा ।
प्रवल २०५८ सालमा जनसेनाको राष्ट्रिय भेलामा भेरी कर्णालीको तर्फबाट सहभागी भए । त्यहाँ कम्पनी निर्माण गरेर छापामारको देशभरिको एउटै सेना जनमुक्ति सेना, नेपाल बन्यो । जनमुक्ति सेनाले घोराहीमा ऐतिहासिक कारबाही गर्यो । कमरेड प्रवल संलग्न समूह घोराही कारबाहीको बेला जिल्ला प्रहरी कार्यालय कब्जा गर्नेमा पर्यो ।
कारबाही सुरु गरेको २० मिनेटमा जिल्ला प्रहरी कार्यालय कब्जा गरेर उनीहरु सैनिक ब्यारेकमै सोझिए जहाँ अरु योद्धाहरु सैनिक ब्यारेक कब्जा गर्न लडिरहेका थिए । २०५८ सालको फागुनमा फेरि उनी अछामको सदरमुकाम, सैनिक ब्यारेक र साँफेबगर विमानस्थल कब्जा गर्न पुगे ।
अछाममा उनी एसल्ट समूह (अग्रपंक्ति) बाट लडे । सेनाको ब्यारेक सहित सम्पूर्ण जिल्ला सदरमुकाम, साँफेबगर विमानस्थल समेत कब्जा गरेर जनमुक्ति सेना त्यहाँबाट फिर्ता भए ।
२०५९ सालमा जनमुक्ति सेनाको तारो बनेको रुकुमको खारा सैनिक व्यारेक कब्जामा सहभागी होउञ्जेल प्रवल जनमुक्ति सेनाको एक कुशल लडाकु बनिसकेका थिए । कमाण्डर पासाङ (अहिले उपराष्ट्रपति)को कोचिङ (प्रशिक्षण)ले कारबाहीमा जान प्रफुल्ल हुने उनी अर्का कमाण्डर जीतको लडाईंको बेलाको गर्जनले दुश्मनमाथि बाघले बाख्रालाई झम्टिए झैँ झम्टिन साहस गर्थे ।
खारा सिंगो जनयुद्वको यस्तो कारबाही भइदियो जहाँ माओवादी पूर्णरुपमा सफल हुन सकेन । रुकुम खाराको २०५९ सालको पहिलो आक्रमणमा अग्रभागबाट लड्दालड्दै उनको सेक्सनका २ जना शहीद भए । ३ जनाको ठाउँ एक्लै लिएर लड्दा लड्दै अकस्मात प्रवल घाइते भए ।
उपचार कसरी भयो ?
खाराको लडाइँमा सेनाको ब्यारेकमाथि थियो, तलबाट उनीहरु लड्दै गइरहेका थिए । अंधेरी कालिरातमा उनीसँगै एसल्टमा लडिरहेका जुम्लाका दिपेन्द्र र अछामका टपेन्द्र दुश्मनले प्रहार गरेको गोली लागेर घाइते भए । हेर्दाहेर्दै उनकै आँखा अगाडी ती दुई योद्धा शहिद भए ।
समूहका कमाण्डर मिम्मा शाही ‘सचेत’लाई मोर्चा सम्हाल्नै गाह्रो भो । शाहीलाई ढाडस दिँदै लड्दै गर्दा उनी आफै घाइते भए । प्रवलको बायाँ कोखमा गोली लागेर दाँयातिर गोली गएछ । युद्वको भीषणताबीच उनी आफैले आफैलाई गोली लागेको चाल पाएनन् । लडदा लड्दै युद्व मैदानमा उनी ढले । संयोगले उनी प्लाटुनका एसल्ट कमाण्डर जो त्यो समूहका समेत कमाण्डर थिए, कमरेड भौतिक (गोरक्ष महतारा)को काखमा लड्न पुगे ।
कमाण्डरले उनलाई तुरुन्तै डाक्टर कहाँ पुर्याए । जनसेनाका कम्पनीका डाक्टर प्रदीप जो उनका अगुवा समेत थिए, ले उनलाई सक्दो उपचार गरे । प्रवल सहित सयौं घाइते र अरु दर्जनौं शहीद हुँदा जनसेनाले पूर्णरुपमा नजितेरै खाराको मोर्चाबाट फर्किनु पर्यो । घाइते प्रवलको अवस्था नाजुक थियो ।
मुखबाट लिएको सास कोखको घाउबाटै बाहिर जान्थ्यो । उनको अगाडी घाइतेहरु पनि भोलि पर्सिपल्ट कयौंको ज्यान गयो । बाँचेका घाइतेहरुको नेपालमा उपचार गराउन आउन सम्भव थिएन । त्यसकारण उपचार गर्न भारत जानुपर्ने भयो ।
घाइतेहरुले पाउनु दुःख पाए । एउटै सुन्तला आठजनासम्मले समेत बाँडेर खाए । सुन्तलाका बोक्रा समेत खानुपर्यो । घाउ अलि सुकेपछि दिनभरि एक ठाउँ सेल्टरमा बस्ने राती घाइतेलाई बोकेर हिँड्ने गरेर नेपाल–भारतको सिमानाको गाउँमा पुर्याइयो । सिमाना जोडिएको गौडिया गाउँमा १ महिना बस्यो घाइतेहरुको समूह । त्यसपछि भारत गए उपचारको आसमा ।
भारतको उत्तरप्रदेशमा उपचार भइरहँदा अर्को अस्पतालमा उपचार गराई रहेका २ जना साथीहरुलाई भारतीय प्रहरीले थाहा पाएर पक्रिहाल्यो । पार्टीका प्रवास संगठनमा काम गरिरहेका साथीहरुले उपचार र सेल्टरहरुमा सहयोग गर्दा दाङका कमरेड विशालले उनलाई सहयोग गरे ।
केन्द्रित रुपले बस्दा र एउटै अस्पतालमा धेरैले उपचार गराउँदा भारतीय प्रहरीले सुइको पायो । त्यसैले घाइते र बिरामीहरु त्यहाँ विकेन्द्रित गरियो । त्यहाँ उनको घाउको अप्रेसन भयो । समस्या उनको यति जटिल रहेछ कि अप्रेसन भएको ३ दिनसम्म उनको होस् आएन । अस्पतालमा भर्ना भएको ७ दिनपछि अप्रेसन गरेका उनलाई होस आउँदा १० दिन भइसकेको थियो ।
जब उनको होस् आयो भारतीय प्रहरीले त्यसैबेला त्यस अस्पतालमा छापा मार्यो । छापा मारेर प्रहरीले उपचाररत जनमुक्ति सेनाका केही बिरामीहरुलाई पक्डेर लियो । आईसीयुमा रहेका रत्नलाई भने प्रहरीले नचिनेर हो या लिन अल्छि गरेर हो छोडिदियो । पछि उनलाई थाहा भयो डाक्टरले प्रहरीको अगाडी यो बिरामी मरिसकेको छ भनिदिएका रहेछन् ।
डाक्टरहरुले त्यसो भनेर रत्नलाई प्रहरीबाट त जोगाएछन् तर त्यही विन्दुबाट उनको जीवनले थप दुःखदायी मोड लियो । अस्पतालमा प्रहरीले छापा मारेर घाइते बिरामीहरुलाई पक्राउ गरिसकेपछि त्यस अस्पतालमा उनलाई सहयोग गर्न कोही आएन । अस्पतालको आईसीयुको शैयामा त्यही एउटा गाउन (अस्पतालमा लगाउने कपडा) मा छन् उनी ।
न कसैले केही खबर पठाउँछ, न कोही खाना लिएर आउँछ । न कसैसँग सम्पर्क छ, न उनले राम्रोसँग कुरा गर्न सक्छन् । उनी जिउँदै छन् भन्ने थाहा पाएर हरेक दिन त्यहाँ भारतीय प्रहरी पनि आउँदा रहेछन् । कसैले खाना पनि नल्याइदिने, औषधि पनि नल्याइदिने कुरुवा पनि कोही नहुँदा अस्पतालको बिल दैनिक चढिरहने तर तिर्ने पैसा नहुने ।
एक बेवारिसे मानिस जस्तै बिना औषधि, बिना लुगाफाटो र बिना खाना अस्पतालमा उनको १९ दिन बित्यो । यसरी अस्पतालमा बेवारिसे भएर बस्दा ‘नेपालमा बन्दुक पड्काउने, यहाँ आएर बिना पैसा औषधि गर्न खोज्ने ?’ भनेर डाक्टरहरुले उनको मन सारै दुःखाए ।
अस्पतालको बाहिर हरेक दिन प्रहरी आइरहन्थे । ‘सायद मलाई उठ्न बस्न सक्ने भएपछि गिरफ्तार गर्ने उनीहरुको योजना थियो होला’, उनले आशंका व्यक्त गरे । ‘प्रहरी आएको बेलामा मरेजस्तो गर्नुु’ भनेर त्यहाँका परिचारिकाहरुले उनलाई सिकाए ।
२०औं दिनमा धनगढीका एकजना मानिस आमालाई उपचार गर्न त्यही अस्पतालमा आए । नेपालीलाई त्यहाँ भेट्दा उनलाई आफ्नै घरको दाई भेट्टाए झैँ लाग्यो । उनले आफ्नो सम्पूर्ण वास्तविकता र समस्या उनलाई बताए । धनगढीका ती दाइले उनलाई जीवनदान दिए जत्तिकै सहयोग गरे ।
आमासँगै उनले प्रवललाई खाना खुवाए, कपडा किनिदिए । र उनले सबैलाई भनिदिए ‘यो बिरामी माओवादी होइन, रुखबाट खसेर बिरामी भएको हो यसको कोही छैन ।’ ४९औं दिनसम्म अस्पताल बस्दा ६५ हजार भारतीय रुपैया बिल भएको रहेछ । भारतीय प्रहरीले पक्राउ गर्ने डरले प्रवलका साथीहरु उनको उपचार खर्चको बिल तिर्न आएनन् ।
पैसा नतिर्दासम्म अस्पतालले उनलाई घर जान दिएन । अब उनलाई ठूलो आपत आइपर्यो । देश र जनताको लागि भनेर लड्दा लड्दै घाइते भएका उनी अहिले यस्तो अवस्थामा आइपुगे जहाँ आफ्नै जीवनको लागि कसको शरणमा परुँ भन्ने भयो ।
दुःखमा परेका मानिसलाई दुःखबाट पार लगाउने भनेर लडिएको युद्वमा घाइते भएर पाउनु दुःख पाए उनले । अब त उनलाई अस्पतालमा आउने जाने सबैले थाहा पाइसके कि उनी एक सहाराबिहीन बिरामी हुन् भनेर । उनलाई २० दिन धनगढीका दाइले खाना खुवाएर पाले ।
धनगढीकै दाईले उनलाई उपाए लगाए कि ‘अस्पतालका मुख्य मान्छेसँग आफ्नो समस्या राख्ने’ भनेर । सोही उपाए अनुसार अस्पतालका मुख्य डाक्टरसँग गएर उनले भने ‘म रुखबाट लडेर यस्तो भएको हुँ अस्पतालको बिल तिर्न मसँग केही छैन, बरु यहीँ तपाईंकै घरमा काम गरेर बस्छु, तपाईंकै सेवा गर्छु ।’
अस्पतालमा उनको बिल ६५ हजर भारतीय रुपैया भएको रहेछ । त्यहाँको मुख्य डाक्टरले उनलाई उत्तर दिएछ, ‘तिमी के भएर बिरामी भएको भन्ने कुरा मलाई थाह छ, तिमी मलाई नढाँट, यहाँ मेरो सेवा र मेरो काम गर्नु पर्दैन बरु जाऊ आफ्नै गाउँमा गएर आफ्ना बुवा आमाको सेवा गर्नु, अबदेखि यस्तो दुःख पाउने काममा नलाग्नु ।’
यति सम्झाएर डाक्टरले अस्पतालको सम्पूर्ण बिल छुट गरि दिएछ्न । अनि घर जान भनेर भारतीय रुपैयाँ ३०० भाडा पनि दिएछन् । अस्पतालबाट आउँदा भारतीय बिरामी कुरुवा र बिरामी भेट्न आएकाहरुले पनि सबैले जम्मा गरेर ४०० दिए । भारतीय जनताले तीनचार दिनलाई पुग्ने फलफूल समेत किनिदिए ।
भारतीय जनताले देखाएको मानवियताबाट प्रवल प्रफुल्ल भए । उनीहरुले नै बरेलीको रेल स्टेसनसम्म आउने रिक्सा खोजिदिए । उनको पीडा बुझेर रिक्सावालले पनि भाडा लिएनन् । कुरो अचम्मको त यो छ कि उनलाई पक्राउ गर्ने भनेर ४० दिनसम्म अस्पतालको ढोकामा कुरिरहेको भारतीय प्रहरीले समेत उनलाई गिरफ्तार नगरेर अस्पतालबाट सरासर बाहिर आउन दियो ।
उनी भन्छन्, ‘सायद अस्पताल र भारतीय जनताले मलाई गरेको माया र स्नेहको अगाडी त्यहाँको प्रहरी पनि नतमस्तक भयो होला ।’
सिमामा पक्राउ, यातना र जेल
बरेली र लखनउका रेल अड्डाहरुमा त्यही भारतीय अस्पताल र जनताले उठाएर दिएको ७०० पनि त्यहाँका डाँकाहरुले लुट्न खोजे । तर उच्च सावधानी अपनाएर उनी लखनउ आए । लखनउमा एकजना नेपाल आउने नेपाली भेटिए ।
बेलुका ५ बजे लखनउबाट गाडी चढेका उनीहरु अर्कोदिन बिहान दाङको कोइलाबास आइपुगे । सिमा नाकामा भारतीय प्रहरीसँग त उनी अस्पतालका कागज देखाइ उपचार गर्न गएको उपचार गरेर आएँ भनेर जोगिए तर नेपालको प्रहरीले उनलाई बढी केरकार गर्यो ।
अस्पतालका कागज, एक्सरेहरु हेर्दा उनको घाउ देखियो, शरिरमा उनको घाउ हेर्यो र प्रहरीले एकछिन यहीँ बस्नु भन्यो । त्यस्तै भन्दै भन्दै प्रहरीले दिनभरी त्यहीँ बसाल्यो । घर सोध्यो प्रहरीले ।
कालिकोट भन्दा प्रहरीले चिन्ला भनेर उनले आफ्नो घर दाङकै देउखुरी भने । देउखुरी त देउखुरी कहाँ भनेर सोध्दा उनी अलमल परे । बोलीको लवज कर्णालीको थियो तर उनले आफ्नो घर दाङ भने । प्रहरीले उनलाई थप शंका गर्यो ।
उनलाई त के थियो र साथमा आएका निर्दोष अर्को भाईलाई पर्यो फसाद । प्रहरी उनलाई बिरामी माओवादी र उनका साथमा भएका भाईलाई सहयोगी कुरुवा माओवादी भनेर नेपाल र भारतको प्रहरीले संयुक्तरुपमा सिमानामा दुईजना माओवादी आंतककारी पक्रेको मुचुल्का बनाउन थाले ।
त्यतिञ्जेल उनलाई र अर्का अपरिचित भाइलाई नेल र हत्कडी लगाई सकिएको थियो । निर्दोष मानिस लखनउबाट आफूसँग साथमा आएकै कारण किन फसोस भन्ने सोचेर उनले साँचो कुरा भनिदिए । ‘म माओवादी हुँ, भाइ माओवादी होइनन् लखनउबाट एउटै गाडीमा सँगै आएको मात्रै हो ।’ त्यो निर्दोष केटालाई छोडिदिन र जे गर्ने हो आफूलाई गर्न समेत उनले प्रहरीसंग याचना गरे ।
सँगै आएका भाइलाई प्रहरीले छोडिदियो भने उनलाई नेल हत्कडी सहित राती सशस्त्र प्रहरीको व्यारेक गोरुसिंगे ल्याइयो । अब उनी दुःख र पीडाको अर्को सागरमा डुबे । सशस्त्रको व्यारेकमा ल्याएकै रातिदेखि उनलाई यातनाका श्रृंखला चल्न थाले । उनलाई खुट्टा माथि बाँधेर झुण्डयाइयो । मासुका फिलाहरु छाम्दै कुट्दै गरियो ।
उनको आँखामा पट्टी बाँधेर ७ दिनसम्म यस्ता यातनाका सिलसिला जारी रहे । सयौं भोका बाघहरुले एउटा मृग पाए झैँ ब्यारेकमा भएका सशस्त्र प्रहरीका हाकिम सिपाही सबैले उनलाई पालैपालो झम्टिरहे, कुटिरहे ।
बिरामी र घाइते शरिरमा त्यसरी यातना पाउँदा बाँच्ने आशा शुन्यमा झर्यो उनको । मानसिक र शारिरीक यातना चलिरहँदा सशस्त्र प्रहरीको व्यारेकमा तिनीहरुका पिपा (खाना पकाउने भान्से) एकजना मानवियता देखाउने पात्रको रुपमा देखा परे । ती पिपाले सशस्त्र प्रहरीको हिरासतमा सान्वना दिँदै रत्नलाई भने, ‘तिमी वीर हौ र बहादुर पनि हौ, जन्मेपछि मानिसले मर्नैपर्छ, हामी जस्तो तिमी भाडामा बिकेका छैनौ, देशको लागि दुःख गरेका छौ ।’
हप्तादिन सशस्त्र प्रहरीको व्यारेकमा उनलाई यातना दिएर उनीहरु अघाइसके पछि होला फेरि एकदिन आँखामा पट्टी बाँधेर गाडीमा हाले । प्रवललाई लाग्यो आज यिनीहरुले मलाई मार्न लिँदैछन् । तर नमारेर जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा उनीहरुले उनलाई पुर्याएछन् ।
जिप्रका दाङमा उनलाई यातनाको अर्को श्रृंखला सुुरु भयो । सशस्त्रको क्याम्पमा भएबाहेक एउटा अनौठो यातना त्यहाँ दिइयो उनलाई । त्यहाँ खाना लिएर आउने मान्छेले पहिला खाना छेउमा राख्यो अनि आफू थाकुञ्जेल र अघाउञ्जेल उनलाई यातना दिन्थ्यो अनि मात्रै खाना दिएर जान्थ्यो ।
सायद त्यो खाना पुर्याउने प्रहरीलाई पनि अरुले जस्तै मान्छेलाई यातना दिन रहर लाग्थ्यो । मानिसलाई यातना दिएर प्यास मेटाउन उसले आफूलाई अवसरको रुपमा लिएको प्रवल सम्झन्छन् । २० दिनसम्म घोराही हिरासतमा यातना दिएर उनीहरु पनि अघाइसकेपछि त्यसपछि उनलाई तुल्सीपुर क्षेत्रीय कारागारमा पठाइयो ।
कारागार एक पुर्नजीवन स्थल
तुल्सीपुर कारागारमा ल्याईंदा प्रवल अर्कै स्वरुपका थिए रे ! कारागारमा उनीसँगसँगै सयौं रात बिताएका पत्रकार जीवन हमालको भनाइमा प्रवल कारागारमा आउँदा शरीरको अस्थिपञ्जरमा छाला बेरिएका, कपाल र दारीजुँगाले छोपिएका वनमान्छे जस्ता थिए रे ! हातखुट्टाका नङहरु लामालामा पलाएका, जंगलमा बसेर आएका जस्ता देखिन्थे रे !
शरीरमा भएका ती एकजोर कपडा पनि ठाउँठाउँमा च्यातिएका थिए । उनी पृथ्वीलोक होइन अर्कै संसारबाट आएजस्तो पो लाग्थ्यो रे ! जेलमा उनको रुकुम चुनबाङका पुराना माओवादी कार्यकर्ता राजकुमार विष्ट, ठानबहादुर बुढाथोकी, जाजरकोट रिम्नाका दिपक रानामगर, माओवादी नेता बलबहादुर ओली ‘शितल’ राष्ट्रिय जनमोर्चाका दाङ्ग जिल्ला अध्यक्ष भरत भण्डारी लगायतहरुसँग भेटघाट भयो ।
कारागार आएको एकैदिनमा आफ्नो वर्गका र विचारका ती भेट भएका नेता तथा कार्यकर्ताहरुले उनलाई सरसफाई गरिदिए । दारी, कपाल, नङ काटिदिए । आफ्ना कपडाहरु लगाउन दिए । कारागारमा पुगेकै पहिलो दिन २ महिनापछि उनले नुहाए ।
खाना पनि आँत भरिनेगरी खान पाए । प्रवललाई आफ्नै हातले नुहाइदिएको, उनका कपडा धोइदिएको र आफैले लगाउने कपडा लगाइदिएको पत्रकार हमाल सम्झन्छन् । २ महिनासम्म तिरस्कार, अभाव, एक्लो अनि शारीरिक र मानसिक यातनाले थिलथिलो भएका प्रवलको जीउ कारागारमा रहेका माओवादी नेता तथा कार्यकर्ताहरुको माया, प्रेरणा र हौसलाले प्रफुल्ल भयो र उनी मोटाउँदै गए ।
कारागारभित्र माओवादी बन्दीहरुको ७२ जनाको एउटै भान्सा चल्यो । जन्तीले समूहमा खाएजस्तो र पूजा लाएजस्तै गरेर, रमाएर उनीहरुको जेलजीवन बित्न थाल्यो । रुकुमका राजकुमार विष्ट र दाङका जीवन हमाल त झन जनकलाकार नै थिए । उनीहरुले जेलभित्र संगीतमय वातावरण बनाउँथे रे ।
लोकगीतहरुको बीचमा उनीहरुले जनवादी गीतहरुपनि गाउँथे रे । कारागारमा उनीहरुले केही पुस्तक पढ्ने मौका पनि पाएछन् । माओवादी आस्थाका बन्दीहरुप्रति कारागार प्रशासनको निकै कडा निगरानी त थियो नै तर पनि पढ्ने, बोल्ने, आफ्ना अनुभूतिहरु सुनाउने, भलिबल खेल्ने, क्यारमबोर्ड खेल्ने, टिभी हेर्न पाउनेजस्ता सुविधाहरु भएका कारण बन्दीहरुको दिन बितेको पत्तै हुँदैनथ्यो भने अब प्रवललाई प्रचण्डले के खान्छ ? पासाङ कहाँ बस्छ ? र बाबुरामले कहाँ बसेर कुन किताब पढ्दै छ ? भनेर कसैले सोध्दैनथे ।
त्यसको साटो साथीहरुका बीचमा जेलमा भित्रभित्रै वैचारिक छलफल हुनथाल्यो । खास गरेर जेलमा माओवादी नेता शितल र जनमोर्चाका नेता भरतबीच राजनीतिक छलफल हुन्थ्यो । आ-आफ्नो कोणबाट उनीहरुले गर्ने बहस हुन थाले । बहसमा भागपनि लिन थाले उनीहरुले । २०६० साल साउनमा दाङको हापुरेमा भएको त्यतिबेलाको सरकार माओवादीबिचको वार्ताको दौरानमा प्रवल जेलमुक्त भए । २ महिनाको हिरासत र ६ महिनाको जेल बसाइपछि उनी खुला आकाशमुनि आए ।
जेलमुक्त भएपछि
कारागार मुक्त भएर प्रवलहरु दाङ जिल्ला पार्टीको सम्पर्कमा पुगे । पश्चिम दाङमा रहेको नेता शितलको घरमा खुला आकाशमा आएका साथीहरुलाई जिल्ला पार्टीले भव्य रुपमा स्वागत गर्यो । पार्टीले प्रवललाई उपचारमा काठमाडौँ पठायो । त्यसपछि उनी पार्टीको सम्पर्कहुँदै आफ्नै जिल्ला कालिकोट पुगे ।
जेल र हिरासतमाहुँदा सधैं मनमा सम्झनामा आइरहने आमा, सबैभन्दा कान्छा भाइ र बहिनी, आफ्नो संगठन, रोल्पा, रुकुमका बस्तीहरु, जनमुक्ति सेनाका आफ्ना सहयोद्धाहरुसँग अब उनले प्रत्यक्ष भेट्न पाउने भए ।
झण्डै ३ वर्षसम्म कसैको सम्पर्क हुन नसक्दा उनलाई कयौं मानिसहरुले मरिसक्यो समेत भनेछन् । खारामा सँगै लडेका सहयोद्धाहरुले समेत उनको लाश गाडेर आयौं समेत भनेका रहेछन् । घर परिवारले माया मारिसकेछन् । जनमुक्ति सेनाले उनलाई भारतबाटै हराएको सूचीमा राखेछ । उनीबारे कालिकोटको जिल्ला पार्टी पनि अनभिज्ञ नै रहेछ ।
जब उनी तुलसीपुर कारागारबाट मुक्त भएको समाचार जनादेश साप्ताहिकमा छापियो, तब मात्र उनको जिल्ला, लहरेला गाउँ र घर परिवारमा खुसियाली छायो । आफ्नो विचार र आस्थाको केन्द्र पार्टीको जिल्ला कार्यालयमा उनी हाजिर भए ।
पार्टीका जिल्ला इञ्चार्ज लोकजंग शाही ‘समर’को नेतृत्वमा लहरेला गाउँमा ३ वर्षपछि उनलाई बाजागाजासहित स्वागत गरियो । त्यहाँपनि उनका लागि पार्टीले भव्य कार्यक्रम गर्यो । उनी गाउँमा आएको खुसियालीमा गाउँमा भोजभतेर भयो । यता उनी खाराको लडाईंमा घाइते भएर यहाँसम्म आउँदा उता उनका साहिँला भाइ र बुहारी पनि पार्टीमा पूर्णकालिन भएछन् । निश्चय नै आफ्नो गुमाइसकेको छोरो पाउँदा सबैभन्दा बढी उनकी आमा खुशी भईन् । त्यसपछि सारा नेपाल खुसी भयो ।
फेरि पार्टी काममा
घर पुगेको १ महिना घर परिवार र आफ्ना एरियाका साथीहरु अनि जनताको माझमा बिताएर उनी फेरि पार्टी काममा लागे । जनमुक्ति सेनाको भेरी–कर्णाली ब्रिगेडमा उनी जोडिए । अब उनी लड्न सक्ने अवस्थामा थिएनन् । त्यसकारण उनले ब्रिगेडको विज्ञान तथा प्रविधि विभागमा काम गर्ने जिम्मा पाए । जिल्ला पार्टीको आयुर्वेदिक विभाग र सेनाको ब्रिगेडको विज्ञान तथा प्रविधि विभाग मिलेर उनीहरुले कालिकोटको मुम्रामा ‘जन उपचारकेन्द्र’ सञ्चालन गरे ।
जहाँ जाजरकोट, दैलेख, जुम्ला र कालिकोटबाट समेत गएर जनताले निःशुल्क प्राथमिक उपचार पाउने गर्थे । २०६४ सालको संविधान सभाको निर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन उनी अहिले कर्णाली प्रदेशका मुख्यमन्त्रीको गाउँ पचालझरना गाउँपालिकाको नानिकोटमा खटिए ।
०६१ साल बैशाखमा उनको विवाह भयो । कमरेड ईच्छा बुढासँग भएको त्यसखाले विहेलाई ‘जनवादी विहे’ भनिन्छ । २०६२–०६३ सालको जनआन्दोलनपछि जनमुक्ति सेना प्रमाणिकरण भएर अस्थायी शिविरमा गए । तर प्रमाणिकरणमा उनी छुटे । उता गोली लागेको उनको घाउ बल्झियो र पीडा फर्कियो । उपचारको आशामा उनी जनसेनाको डिभिजन कार्यालय दशरथपुर सुर्खेत गए । प्रमाणीकरण नभएको मानिसलाई उपचार हुँदैन भनियो ।
समस्यै समस्याको घेराबन्दी
प्रवलको हाल कम्मरदेखि माथिको दाँया भाग चल्दैन । उनका चारवटा करङ छैनन् । फोक्सोमा गोलीका छर्रा छन् । टाउकोमा पनि छर्रा छन् । हालपनि दैनिक घाउको दुःखाई बढ्दो छ । महंगो खर्च लाग्नेगरी वर्षमा ३ चोटी उपचार गर्नुपर्छ ।
कालिकोटबाट उनी लगायतलाई दिँइदै आएको अपाङ्ग भत्ता समेत हाल कटौती गरिएको छ । उनी भन्छन्, ‘गणतन्त्रका लागि बगेको हाम्रो रगतको मूल्य खोई ?’ आधा रगत यही धर्तीमा बगाएर आधा अङ्ग र आधा रगत सहित पृथ्वीमा दाँतेनंग्रे गरिरहेका उनी बर्दियाको खैरापुरमा रहेको सुकुम्बासी बस्तीमा टहरो बनाएर आफ्नो जीवन र परिवारलाई ओत लगाउन खोजिरहेका छन् ।
सुकुम्बासी बस्तीमा रहेको उनी लगायतको टहरामा कसले कतिबेला आएर डोजर लगाइदिने हो पत्तै छैन । १२ कक्षामा पढ्ने उनको ठूलो छोरालाई काठमाडौँमा एउटा संस्थाले पढाइरहेको भएपनि बाँकी दुई सन्तानलाई कहाँ र कसरी लालनपालन गर्ने शिक्षादीक्षा गर्ने केही टुंगो नभएर उनको जीवन हरपल तनाबमा बितिरहेको छ ।
उनी भन्छन्, ‘हामी अपाङ्ग भएर कमाइकजाइ गर्न नसकेका कारण हाम्रा छोराछोरीको भविष्य अन्यौल हुनु भएन । समय छँदै हाम्रो पहिचान सहित राज्यले सम्मान गरोस् ।’ घाइते अपाङ्गहरुका यस्ता समस्या र पीडाहरु लिएर भेट्न जाँदा गृहमन्त्री रामबहादुर थापा र प्रचण्ड लगायतका नेताहरुले ‘हामी सकारात्मक छौं, छिट्टै देखिने काम गर्छौं’ भनेर भनेपनि प्रचण्ड बादलहरुको व्यवहार हालसम्म सकारात्मक भएको पाएका छैनन् ।
माओवादी नेताहरुले भावनात्मक रुपमा हाम्रा पीडा बुझेनन् भने तिनीहरुले आफूहरु र जनतालाई धोका दिएपनि आफूले जनतालाई धोका नदिने धारणा राख्दै प्रवल भन्छन्, ‘आधा शरीर लिएर भएपनि अब हुने विद्रोहमा सामेल हुनेछु ।’ एउटै लडाइँ र आन्दोलनमा तिनै घाइते अपाङ्गहरुसँग सँगै लडेका नेताहरु ऐस आरामको जिन्दगी बिताउने, घाइते अपाङ्ग कार्यकर्ताहरु भने नरकको जिन्दगी बिताउनु पर्ने ?
जुन घाइते र अपाङ्गहरुको योगदानले व्यवस्था परिवर्तन भयो तिनै योद्धाहरुको यस्तो अवस्था किन ? भूमिगत अवस्था र आन्दोलनमा नेताहरुको ढाल बनेर उनीहरुको सुरक्षा गरेका यस्ता आन्दोलनका योद्धाहरुको अवस्था कहिले हो सुध्रिने ? ‘आन्दोलन र लडाइँले बनाएका नेताहरुलाई सुनको सिरानी, तिनीहरुलाई कुर्सीमा पुर्याउने अपाङ्ग योद्धाहरुलाई नुनको बिरानी’ कहिलेसम्म ?