काठमाडौं । काबुलमा आत्मघाती हमला गर्ने इस्लामिक स्टेट खुरासान प्रान्त र उसको भारतीय कनेक्सन अहिले भारतीय सञ्चारमाध्यमको हेडलाईन्स बनेको छ । मिडिया रिपोर्टर्स अनुसार केरलाका १४ जना मानिस यस समूहसँग जोडिएका छन् ।
यी मानिसहरुले आतंककारी गतिविधिमा सहभागी भएर भारतको नाम खराब गर्नसक्ने चिन्ता भारतीयलाई छ । हिन्दुस्तान टाइम्सका अनुसार तालिवानले अफगानिस्तानका प्रान्तहरु कब्जा गरेपछि जेलमा बन्द गरेका आफ्नो लडाकुलाई रिहा गरेको थियो ।
यही क्रममा बगराम जेलबाट केरलका १४ जना पनि रिहा भएका छन् । उनीहरु अहिले इस्लामिक स्टेटमा आबद्ध छन् ।
जब २०१४ मा इस्लामिक स्टेट अफ सिरिया एन्ड लेभान्टले मोसुल कब्जा गर्यो, तब केरलाको मल्लापुरम, कासरगोड र कन्नुर जिल्लाबाट भागेर गएका केही स्थानीयहरु यस समूहमा जोडिएका थिए ।
उनीहरुमध्ये केही मानिस अफगानिस्तानको नंगरहार भएर आईएसआईएस–केसँग जोडिएका छन् ।