काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको छ ।
महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पङ्क्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए । सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टी पङ्क्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।
नेता सिंहले भने, ‘क्रियाशील सदस्यहरुको विवादसम्बन्धी बाँकी काम पनि विधि र नियम पूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिजीसँग कुरा भएको छ र त्यसैअनुसार अघि बढिनेछ । आजै यो बैठकबाट रिले अनसनमा बसिरहेका जिल्ला सभापतिजीहरुको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनसन तोडाउने निर्णय गरिएको छ ।
अब महाधिवेशनका लागि सबैले एकजुट भएर काँग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति पनि गरिएको छ ।’ पौडेल पक्षले २ दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि सभापति देउवालाई दवाव दिएको छ ।
२ दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद समाधान गरी वडा अधिवेशन यही १८भदौँ १८ गतेबाटै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढने विषयमा सभापति देउवासँग सहमति गरिएकाले सोहीअनुसार अघि बढने निर्णय पनि गरिएको नेता सिंहले बताए ।