• बैशाख ९ २०८२, मंगलवार

महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह

भाद्र १२ २०७८, शनिबार

काठमाडौं । काबुलमा बिहीबार भएको विस्फोटपछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका बेला तालिबान सरकारले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ ।

प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमितरुपमा आफ्नो काममा फर्कन भनेको छ ।

इस्लामिक ईमिरेट्सको तर्फबाट उनीहरूको काममा कुनै बाधा हुनेछैन ।’ अफगानिस्तानमा तालिबानको पुनरागमनपछि महिलाहरू काममा फर्कन पाउने छन् या छैनन् भन्ने विषयमा अन्यौल रहेको छ । काबुल प्रवेश गरेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले सरिया कानुन अनुसार महिलालाई अधिकार दिने स्पष्ट पारेका थिए ।

मुजाहिदले भनेका थिए, ‘हामी सरिया व्यवस्था अन्तरगत महिलाको अधिकार तय गर्नका लागि प्रतिबद्ध छौँ । महिलाहरू हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौँ कि उनीहरूसँग कुनै भेदभाव गरिनेछैन ।’

अन्य तालिबान नेताहरूले पनि महिलाहरू काम गर्न दिने बारे बयान दिँदै आएका छन् । यद्यपि, अहिलेसम्म उनीहरूको स्पष्ट नीति बाहिर नआएको हिन्दी बीबीसीले जनाएको छ ।