जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले
प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गरेको बताएका छन् ।
जसपाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले
दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताउदै भने
, ‘दलदलमा आफैं फसेपछि उद्धार गर्नेबारे सोच्यौं, उनीहरु शेरबहादुरजी समक्ष गए । अनुनय विनय गर्न थाले । शेरबहादुरले सोध्नुभयो के गरौं ? मैले उद्धार गरिदिनुस् भनेपछि २० प्रतिशतको आधारमा दल फुटाउने अध्यादेश ल्याइएपछि उनीहरुको उद्धार भयो ।’
उद्धार भएपछि २/४ जनाको समूह बनाएर महन्थ ठाकुर पक्ष अलग भएको यादवले बताए । ‘अलग भए पनि छाता छुटिहाल्यो, कार्यकर्ता अनि छाता जुत्ता सब यतै छुटिहाल्यो,’ यादवले भने ।
जसपाको आधिकारिकता निर्वाचन आयोगले यादवलाई दिएपछि दलविहीन बनेका ठाकुरले हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका छन् ।