• मंसिर ११ २०८१, मंगलवार

दर्शन : समाज विकासमा दार्शनिक पक्षको भूमिका

भाद्र ११ २०७८, शुक्रबार

आदिम साम्यवादी समाज आमा वर्गबाट परिचालित थियो । त्यसबेला भौतिक कठिनाइ थिए होला, तर त्यहाँ समानता, स्वतन्त्रता र भातृत्वताको कारणले सबैलाई आत्मिक शान्ति मिल्थ्यो ।

दसौँलाख वर्ष जङ्गलमा गुजारेका यो मानव समाज विकासको क्रममा आगो पत्ता लगाएपछि कृषि र पशुपालन युगमा प्रवेश गरे । कृषि र पशुपालनले मानव समाजमा वर्गको उत्पत्ति भयो । वर्गले राज्यसत्ताको जन्म गरायो ।

अनि समयक्रममा बनेका शासक वर्गले आफ्नो स्वार्थको लागि शोषण, दमन, हिंसा, लुटपाट र कोलाहलपूर्ण घटना, परिघटना सिर्जाए । अनि समाजका विद्वानहरुले मान्छेको धर्म, पालन गर्ने नीति नियमहरु बनाउन थाले ।

समाजमा शान्ति सुव्यवस्था गर्ने उनीहरुका लक्ष्य हुन्, तर पूर्वेली दर्शनका हिन्दु दार्शनिकहरुले रचना गरेको जाति प्रथा, छुवाछुत प्रथा, लिङ्गभेद प्रथा आज पनि यहाँ विकराल छ । सतिप्रथामा करोडौँ आमाहरु ज्यूँदै मारिएको, जलाइएको इतिहास पनि छ ।

मध्यपूर्वमा जन्मेका दार्शनिक मुसा, इसु क्राइस्ट, महम्मद शाहहरुले पनि तत्कालीन समाजलाई शान्ति, सुव्यवस्था पूर्णको समाज स्थापनाका लागि नै विविध नीति नियम र आचार संहिताहरु बनाएका हुन् । यसमा इसु क्राइस्ट तत्कालीन यहुदी शासकहरुबाट निर्ममतापूर्वक मारिए ।

त्यसपछि इसुको नामबाट छुट्टै सम्प्रदायको निर्माण विकास भयो, क्रिश्चियन भनेर । यो पनि कालान्तरमा विभाजित भयो, क्याथोलिक र प्रोटेस्टेन्ट भनेर । महम्मद शाहले रचना गरेको इस्लाम धर्म पनि सिया र सुन्नी सम्प्रदाय भनेर विभाजन भयो ।

हिन्दु धर्म दर्शनमा वेदव्यास, वाल्मीकि, मनु, महावीरहरुका नाम आउँछन । आज उनीहरु थुप्रै सम्प्रदायमा विभाजित छन । जस्तै– कृष्ण प्रणामी, ब्रह्मकुमारी, सत्य साई, राधेराधे, बाल योगेश्वर, रामदेव आदि इत्यादि ।

पूर्वीय दर्शनमा चीनमा कन्फ्युसियस, ताओ, लाउत्सु र नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्धहरु नामी दार्शनिक हुन् । सोह्रौँ शताब्दीमा भारत पञ्जाबमा जन्मेका गुरु नानक र बीसौँ शताब्दीका रजनिस (ओशो) पनि अर्का दार्शनिक हुन् ।

तीन हजार वर्षयता धर्तीको भिन्नभिन्न स्थानहरुमा भिन्नभिन्न दार्शनिक जन्मे र उनीहरुले आजीवन मानव समाजमा शान्ति र सुव्यस्थाबारे आआफ्नो मत, विचारहरु दिएर गए । त्यसमा उल्लेखनीय दार्शनिकहरुका अनुयायीलाई पङ्क्तिकारको अनुमानमा निम्न रुपले बाँडन सकिन्छ :

हिन्दु धर्म दर्शन : मूलतः भारत, नेपालमा झण्डै झण्डै १ अरब ५ करोड

क्रिश्चियन दर्शन : मूलतः युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, अस्टेलिया झण्डै २ अरब ।

मुस्लिम दर्शन : मध्यपूर्व, आसियान, सार्क, रुस, चीन, अफ्रिका– २ अरब ।

बौद्ध धर्म दर्शन : चीन, आसियान, जापान, नेपाल, भारत, श्रीलंका -१ अरब ५० करोड

कन्फ्युसियस धर्म दर्शन : (चीन) ४० करोड

प्रकृतिपुजक (बोन) धर्म दर्शन : हिमाल पर्वत, वन जंगल, समुद्र, खोलानदी किनारामा बस्ने (विविध दर्शनहरू) – १० करोड

विविध धर्म तथा दर्शनहरू : ४५ करोड ।

४, ५ हजार वर्ष अघि पृथ्वीभरिका सबै मानिस प्रकृतिपुजक थिए, बोन धर्मवादी ।

उनीहरु सबै नदी, हिमाल, वृक्ष, ताल तलैया, पहाड, समुद्र, सूर्य, चन्द्रमा, भूमिको पुजा गर्थे, आराधना गर्थे । अझै पनि सूर्य र चन्द्रमालाई सबै धर्म सम्प्रदाय पुजा गर्छन् , आराधना गर्छन ।

यो उनीहरुको प्राचीनकालको धार्मिक अवशेष हो । तर मानव समाजमा जब चिन्तक, विद्वान, दार्शनिक जन्मे, उनीहरुका निधनपछि मान्छेहरु तिनलाई भगवान, ईश्वरका रुपमा पुजा गर्न थाले । यसको मूलकारण ती दार्शनिक विद्वानहरुले प्रकृतिको महानता र महत्वबारे क्यै बताएनन्, बरु प्रत्यक्ष÷अप्रत्यक्ष गुरुहरु महान् हुन्, गुरु भनेका भगवान हुन्, आँखा देखाउने गुरुहरु अद्वितीय हुन भनेर प्रभाव पारे, सम्प्रेषण गरे ।

यस पछाडिको एक महत्वपूर्ण कारण पारिवारिक स्वरुप एकनिष्ठ र व्यक्तिगत सम्पत्तिले बनेको समाज व्यवस्थापनको परिणाम पनि हो । जसको परिणाम कालान्तरमा गुरुहरुलाई पुजा गर्न थाले । कतै फोटो त मूर्ति बनाएर, यसलाई अर्को शब्दमा भन्नुपर्दा जब मानव समाजमा आमा वर्गको बाहुल्यताबाट पितृसत्ताको सुरु भयो । यो कृत्रिम सत्ता थियो । त्यसरी नै जब मानव समाजमा प्राकृतिक पुजकबाट व्यक्ति, गुरु र विद्वानहरुको भनौँ मान्छेहरुको पुजा गर्न थाले, यो अर्को कृत्रिमता थियो ।

कृत्रिमताले प्रकृति र मानव समाजमा थुप्रै समस्या र सङ्कट व्युत्पत्ति गर्दछ । विगत ३ हजार वर्षयता मानव जातिको इतिहास भनेको भीषण धार्मिक युद्ध, राष्ट्रिय युद्ध, जातीय युद्ध सङ्ग्रामका इतिहासले भरिएको छ । जहाँ असिमित रगत र आँसुका नदीहरु बगे ।

जुन प्रवृत्ति आज पनि ज्युँदोजाग्दो छ । मध्यपूर्वको जेरुसलम कस्को ? भनेर यहुदी, क्रिश्चियन र मुस्लिमहरुबीच अन्तहीन द्वन्द्व प्राचीनकालदेखि छ । जहाँ दसौँ, बीसौँ लाखको मृत्यु भइसक्यो, तर पनि समस्या हल हुने कुनै सङ्केत छैन ।

पृथ्वीमा मान्छेहरू रहुन्जेल त्यो हल नहुने देखिन्छ, या त संसारभरि एक भयानक १० रेक्टरको भूकम्प सरी त्यो मानवीय आँधी आउनु पर्यो   जसले सबै कृत्रिम पर्खाल भवनहरु मूल्य–मान्यता, संस्कार संस्कृति बढारोस्, सिनित्त बगाओस् ।

भारतमा हिन्दुहरु गाईलाई गौमाता भनेर पुजा गर्छन्, तर मुस्लिम भनौँ इस्लामहरु गाईगोरुहरु राँगाभैँसीझैँ काटेर खान्छन् । यो धार्मिक फरक मान्यताले भारत र पाकिस्तान राष्ट्रहरुको विभाजन मात्र हैन, उनीहरुबीच ३,४ पटक युद्ध समेत भएको छ ।

जहाँ दसौँ लाखको मृत्यु भयो र आज कस्मिरको सवाललाई लिएर अर्को युद्ध नहोला भन्न सकिन्छ । त्यति मात्र हैन, अब भारत अयोध्याको विवादास्पद राम मन्दिर र बाबरी मस्जिदको भूमिमा नरेन्द्र मोदी सरकारले सत्ताको आडमा राम मन्दिर स्थापना गर्न सक्छ ।

यो घटनाले भारतमा हिन्दु र मुस्लिम बीच नराम्रो द्वन्द्व मच्चिन सक्छ, लाखौँको मृत्यु हुनसक्छ । अझ अगाडि बढेर उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको ‘नेपाल हिन्दुराज्य बन्नुपर्छ’ भन्ने कथनले नेपालमा राजतन्त्र र हिन्दुराज्यको वकालत गर्नेहरुले भारतको आडमा यहाँ पनि गृहयुद्ध मच्चाउन सक्छ । त्यसो भएमा कति रगत र आँसु बग्ला ? कल्पना मात्र गर्न सकिन्छ ।

जर्मनीका कार्ल  मार्क्सर फ्रेडरिक एंगेल्सले उन्नाइसौँ शताब्दीमा श्रमिक, सर्वहारावर्गको मुक्तिको सिद्धान्तहरु प्रतिपादन गरे । कम्युनिस्ट पार्टीको घोषणापत्र, फ्रान्समा गृहयुद्ध, पुँजी भाग १, २, ३ र ४ अनि पेरिस कम्युन, डयुरिङ मत खण्डन, परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्तिजस्ता उहाँहरुका पुस्तकहरुमा ती विस्तृत रुपले उल्लेख गरेका छन् ।

मार्क्सको सिद्धान्तलाई रुसी क्रान्तिका अग्रदूत लेनिनले भन्नुभएको छ– ‘मार्क्सवाद भनेको ब्रिटिस अर्थशास्त्र, फ्रान्सेली समाजवाद र जर्मनेली दर्शनशास्त्रहरुको समुच्च रुप हो ।’  मार्क्सवादको मूल सिद्धान्त भनेको ‘ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र वर्ग संघर्षको सिद्धान्त नै हो, जुन सिद्धान्तको समुच्च रुप नै  मार्क्सवाद हो ।’

कार्ल  मार्क्सको सिद्धान्तलाई बीसौँ शताब्दीको सुरुमा लेनिनले परिष्कृत गरेर रुसी भूमिमा लागु गरे । एउटै देशमा पनि क्रान्ति सम्पन्न हुन सक्छ र पुँजीवादको अन्तिम रुप साम्राज्यवाद हो भनेर । मार्क्स, एंगेल्स र लेनिनका सिद्धान्तहरुलाई व्यावहारिक रुप दिएर सफलताको शिखर चुम्ने मूल व्यक्तित्वचाहिँ जोसेफ स्टालिन हुन् ।

उनले व्यवहारतः कम्युनिष्ट अन्तर्राष्ट्रवाद र सोभियत समाजवादी संघको सुदृढीकरणमा अग्रिम भूमिका खेलेका छन् । साम्राज्यवादी फौजी आक्रमणलाई निस्तेज तुल्याउन फौजी रणनीति बनाउने र रुसी लालसेनालाई अचुक नीति, निर्देशन दिनेमा उनको अमूल्य योगदान छ ।

दोस्रो विश्वयुद्धमा जर्मनी, इटली र जापानी साम्राज्यवादलाई धुस्कुट तुल्याई युरोप र एशियामा शान्ति ल्याउन निर्णायक भूमिका खेल्ने, पूर्वी युरोप, मंगोलिया र चीनको मुक्तिका लागि भूमिका निर्वाह गर्ने, मानव इतिहासको अद्वितीय व्यक्तित्व हुन्, जोसेफ स्टालिन ।

हिन्दु सम्प्रदायका काल्पनिक राम, कृष्ण, क्रिस्चियनका इसु क्रिस्ट, बौद्धमार्गीका गौतम बुद्ध, कन्फ्युसियस, ताओ, लाओत्से, मुस्लिम धर्ममा महम्मद शाह, गुरु नानक सिंहरुका कथा भन्दा हजारगुणा सत्य, अद्वितीय र अपराजेय छन् जोसेफ स्टालिन । उनीसँग धार्मिक व्यक्तित्वको तुलना हुनै सक्दैन ।

स्टालिन क्रान्ति र विकास निर्माणका सारथी मात्र हैनन्, उनी विद्वताका खानी पनि हुन् । सोभियत रुसी कम्युनिस्ट पार्टीको इतिहास, द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद, लेनिनवादका आधारहरु, लेनिनवादका सिद्धान्तहरु, सोभियत जातिहरुको एकताजस्ता कैयौँ पुस्तकहरुका लेखक पनि हुन् ।

मार्क्सवादी दर्शनका अर्का दूत हुन्, चीनका माओत्सेतुङ । करोडौँ  चिनियाँ जनताको हत्या गरी लुटपाट गरिरहेका ब्रिटिस, अमेरिकी, जापनिज साम्राज्यवादलाई चिनियाँ जनताको दीर्घकालीन युद्धको हतियारले नष्ट गरी समाजवादी समाजको निर्माण र विकास गर्ने ऐतिहासिक दायित्व पूरा गरे माओले ।

सन १९५३ मा सोभियत रुसमा स्टालिनको निधन भएपछि खुश्चेभ–ब्रेजनेभहरुले स्टालिनको नेतृत्वमा करोडौँ जनताले बलिदान दिएर निर्माण गरेका चौतर्फी संरचनाहरु मजबुत र दिगो तुल्याउनतर्पm लाग्नु पर्नेमा उनीहरु त सामाजिक साम्राज्यवादी मार्गतिर लागे ।

चेकोस्लोभाकिया, अफगानिस्तानमा सैन्य हस्तक्षेप गरेर समाजवादको रक्षा गरे । जुन गौरवपूर्ण सोभियत संघ नब्बेको दसकसम्म आइपुग्दा छिन्नभिन्न भयो । बिजोग र बेहाल पनि बेहोर्यो । आज भ्लादिमिर पुटिनको नेतृत्वमा रुस सैन्य र आर्थिक रुपले मजबुत हुँदै गएको देखिन्छ ।

तर विश्वका न्यायप्रेमी जनताको मुक्ति र स्वाधीनताको क्रान्ति र संघर्षप्रति उसको योगदान शून्यमात्र छ । यता चीनमा पनि १९७६ मा माओको शेषपछि तङ स्याओ पिङको नेतृत्वमा खुल्ला बजार अर्थनीति अपनाएर आज आर्थिक, भौतिक र सैन्य दृष्टिले मजबुत बनेको छ । विश्वका बादशाह बनेको अमेरिका र युरोपियन थुप्रै राष्ट्रलाई समेत ऊ ट्रिलियन–ट्रिलियन डलर ऋण दिन र लगानी गर्न सक्षम बनेको छ ।

यसो हुनुमा कार्ल मार्क्स, एंगेल्स, लेनिनका सिद्धान्त, स्टालिनको व्यवहारतः कम्युनिस्ट अन्तर्राष्ट्रवादको भारी र चौतर्फी सहयोग, माओत्सेतुङको प्रत्यक्ष नेतृत्व अनि करोडौँ  चिनियाँ लालसेना र जनमुक्ति सेनाहरुका योगदान छ भनेर वर्तमान चिनियाँ नेतृत्वले आत्मसात् गरेको देखिन्न ।

बरु उनीहरु त कन्फ्युसियसको दस हजार सिद्धान्तहरु प्रचार गर्न विश्वव्यापी १ हजार कन्फ्युसियस शिक्षा केन्द्रहरु खोल्न लागिरहेछन् । चिनियाँ नेतृत्वहरु आफ्नो राष्ट्रको समृद्धि विश्वभरि बाँड्न र सहकार्य गर्न तयार रहेको बताउँछन्, तर वर्गहरुको उन्मूलन, निजी सम्पत्तिलाई सामूहिकीकरण, श्रमिक वर्ग र महिला वर्गप्रतिको असीम सम्मान र श्रद्धा, राष्ट्र, जाति, भाषा, संस्कृतिको विलुप्तता र समायोजन अनि विश्वव्यापी समानता, स्वतन्त्रता र भातृत्वको मार्गमा लाग्दैनन् ।

यो कुरा ठोकुवा गरी भन्न सकिन्छ कि कन्फ्युसियसको सिद्धान्तले चीनलाई पनि विश्वमा अजिङ्गर भैmँ बनाउने छ । अनि जनताको रगत र आँसुको नदी जीवन्त रहिरहनेछ विश्वभरि र चीनभरि । जुन इतिहासभरि छताछुल्ल छ ।

आर्थिक, सैनिक र भौतिक रुपले विश्वमै एक उदीयमान भारतमा कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुरानो भयो । तर सहर पसेका र जंगल बसेका दुवै धाराका कम्युनिस्टले यहाँ छलाङ मार्न सकेनन् । बरु एउटा पशु भनौँ गाईको राजनीति गर्नेहरु यहाँ बलवान छन् ।

तिनले दक्षिणपूर्वी एशियाभरि दादागिरि प्रदर्शन गरिरहेछन् । जनताको अन्धविश्वासलाई भजाएर अनि कम्युनिस्टहरुको अकर्मण्यताले यहाँ ठूलो युद्ध र अशान्ति मच्चाउने प्रबल सम्भावना छ । कस्मिर मिसन उसले भर्खरै सुरु गरिसक्यो । अब अयोध्यामा राम मन्दिर बनाएर उसको पल्टन नेपाल तर्फ बढ्ने सम्भावना छ, ‘हिन्दु राज्य र राजतन्त्र’ स्थापना गर्न ।

यही भारतमा बीसौँ शताब्दीको सत्तरीको दशकमा दसौँ करोड किसानले किसान आन्दोलन थालेका थिए । नेपालको काँकडभित्तादेखि केही पूर्व पर्ने नक्सलवाडी गाउँबाट जमिन्दारहरुको जग्गा कब्जा गरेर थालिएको यो आन्दोलन, अभियान र क्रान्ति भारतको बिहार, उत्तरप्रदेश, मध्य प्रदेश, उडिसा, आन्ध्र प्रदेशलगायत १०,१२ वटा प्रान्तमा  फैलिएको थियो ।

त्यो ऐतिहासिक घडीमा चीनसँग आत्मीय सम्बन्ध गाँस्न गएको भारतीय कम्युनिस्ट पार्टीको टोलीलाई चिनियाँ नेतृत्वले आर्थिक, भौतिक, सैन्य, वैचारिक, नैतिक हररुपले सहयोग गर्नुपर्नेमा ‘क्रान्तिको आयात निर्यात हुँदैन’ । ‘चीनको माओ हाम्रो माओ भन्न पाउँदैन’, भनेर झपारेर पठाए ।

क्रान्तिका नायिका, नायकहरु निराश बने, हतोत्साही भए । अनि त स्वदेशी, विदेशी जनवैरीहरुको सहयोगमा इन्दिरा गान्धी सरकारका सेना र प्रहरीहरुले आन्दोलनकारीको लाखौँ संख्यामा कत्लेआम गरे । नक्सलाइट उग्रवादी भनेर विश्वव्यापी प्रचार गरे, अझैसम्म गर्छन् ।

तर अब नक्सलवादी आन्दोलन भएको पचास वर्षपछि त्यही भूमि वरपरबाट धर्तीयोद्धा जन्मदै छन् । जुन योद्धाहरुले दक्षिणपूर्वी एसिया र चीनमा अनि विश्वभरि के कति गर्ला ? भविष्यले नै बताउला ।

मुस्लिम मुलुकहरुमा कम्युनिस्टहरु सुषुप्त छन् । त्यसको मूल कारण  मार्क्सवादी कम्युनिस्टहरु पूर्वजन्म र पुनर्जन्म, स्वर्ग र नर्कजस्ता कपोकल्पित कुराहरुमा विश्वास गर्दैनन् । तर धर्मका नाममा शासन गर्ने मुस्लिम मुल्लाहरु र पश्चिमा परचक्री शक्ति र स्रोतहरु सबै गठबन्धन गर्छन् कम्युनिस्टहरु विरुद्ध ।

अनि कम्युनिस्टहरु पनि त्यहाँको मूल उत्पीडित महिला वर्ग, किसान वर्ग हो भनेर पार्टी र क्रान्तिको आधार बनाइ चल्दैनन्, बरु सर्वहारा वर्ग हो भनेर १७५ वर्ष अघिको मार्क्स, एंगेल्सको दुहाई दिन्छन् ।

विगत एक दसकमा मध्यपूर्वका टयुनिसिया, लिबिया, यमन, सिरिसा, इराक विद्रोह र गृहयुद्ध, अफगानिस्तानमा चार दसक अघिदेखि भएको गृहयुद्ध र विद्रोहमा कम्युनिस्टका उपस्थिति शून्यप्रायः छ । विद्रोह र क्रान्तिको नेतृत्व अन्ततः धार्मिक अन्धता र साम्राज्यवादीहरुका पकडमा छ । अब सैद्धान्तिक मार्गदर्शन त्यहाँ फेर्नैपर्छ, नयाँ सोधखोज हुनैपर्छ ।

(२०७६ भदौ ३ र ४ गते काठमाडौंमा आयोजित मार्क्सवाद र एशियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सुदर्शन प्रधानद्वारा प्रस्तुत कार्यपत्रको सम्पादित अंश–सं. ।)