• माघ १८ २०८१, शुक्रबार

पूर्वसेनानी बजगाईंको लघु कविता संग्रह ‘उतार’ प्रकासित

भाद्र ११ २०७८, शुक्रबार

काठमाडौं । नेपाली सेनाका पूर्वसेनानी टंकबहादुर बजगाईं खत्रीले ‘उतार’ नामक लघु कविता संग्रह प्रकाशनमा ल्याएका छन् । उनले यो कृतिलाई धार्मिक तथा साँस्कृतिक लघुकाव्य भनेका छन् । सामान्य रुपमा पद्य कविता ४ हरफमा लेख्ने गरिएपनि बजगाईंले भने यसमा नयाँ प्रयोग गर्दै ३ हरफमै कविता सिर्जना गरेका छन् । ३ हरफमा सिर्जना गरिएको यो कवितामा पहिलो र तेश्रो लाइनको अन्तिममा लय र अक्षर मिल्न आउँछ भने बीचको दोस्रो भने मिलेको हुदैन । जस्तैः

तीज पर्व मनाए
तीर्थवर्त गरेर
नारी धर्म जगाए ।

तिनवटै हरफमा ७ वटा अक्षर रहेका हुन्छन् । यो तरिकाको कविता लेखाइलाई साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले नयाँ प्रयोग भएको बताएका छन् ।

पुस्तकमा उनै अनामणिले शुभकामना मन्तव्यमा भावका हिसाबले यो कवितालाई देशप्रेमको भावना झल्किएको कविता बताएका छन् । उनले यसलाई कविताको उपविधा भनेका छन् । यी तीन हरफलाई उनले ब्रह्मा, विष्णु र महेश्वरको संज्ञा दिएका छन् ।

कविको आनिबानी थाहा पाएका अनामणिले ‘उतार’मा कविता मार्फत् कविले उनको मनमा उकुसमुकस भएका भावना, ऐतिहासिक र साँस्कृतिक पक्षलाई मिश्रण गरेर पस्किन सफल भएको बताएका छन् । उतारमा ९८ वटा लघु कविता रहेका छन् । पुस्तक गौरी रिलेसन एण्ड पब्लिकेसनले बजारमा ल्याएको छ ।

कवि बजगाईंका यसभन्दा अघि पनि ७ वटा कृतिहरु प्रकाशन भइसकेका छन् । यो उनको आठौं कृति हो । आगामी दिनमा पनि बजगाईंको लेखनले निरन्तरता पावस् । शुभकामना ।