काठमाडौं । काबुल बम विस्फोटमा मृत्यु हुनेको संख्या ८० नाघेको छ । विष्फोटमा अमेरिकी सैनिक तथा ठूलो संख्यामा अफगानी नागरिकहरु मारिएका छन् । यो घटनाको जिम्मेवारी आईएसआईएस खुरासानले लिएको छ ।
आईएसआईएस–के इराक तथा सिरियामा कुनै समय कब्जा जमाएको आईएसआईएस अर्थात् (इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया)को सहयोगी हाँगा हो । यसले पाकिस्तान र अफगानिस्तानका जिहादीहरुलाई एकजुट गर्ने काम गर्छ ।
पछिल्ला वर्षहरुमा निन्दनीय आक्रमणहरूको आरोप यस समूहमाथि लाग्दै आएको छ । छात्रालाई निशाना बनाउने, अस्पताल र प्रसुती गृहमा हमला गर्नेलगायत आरोप यस समूहमाथि लागेको छ । गर्भवती महिला र नर्सहरुलाई पनि गोली हानेर मारेको आरोप यस समूहमाथि छ । यो तालिबान जस्तो समूह भने होइन ।
तालिबान केवल अफगानिस्तानमा केन्द्रीत छ । तर, आईएसआईएस–के विश्वव्यापी सञ्जालको हिस्सा हो, उक्त सञ्जालले भ्याए जति ठाउँमा आक्रमण गर्ने गरेको छ । यो समूहको आधार इलाका अफगानिस्तानको पूर्वी नन्गर्हर प्रान्त हो । यस प्रान्त अन्तर्गत पाकिस्तान छिर्न र निस्कन सजिलो हुने जुन रुट छ, त्यही रुटमा ड्रग्स र अन्य कुराको कारोबार समेतमा यो समूह संलग्न छ ।
कुनै समय यस समूहमा ३ हजार लडाकु थिए । तर पछिल्लो समय अमेरिकी र अफगानी सैनिकसँगको भिडन्तमा यस समूहले ठूलो क्षति व्यहोर्नु पर्यो । तालिबानसँग पनि उनीहरुको पटक–पटक भिडन्त परेको थियो ।
सायद उनीहरुबीच सम्बन्ध हुनसक्छ तर तेस्रो पक्ष अर्थात् हक्कानी नेटवर्क मार्फत । अध्ययन अनुसार हक्कानी नेटवर्क र आईएसआईएस–के बीच निकै नजिकको सम्बन्ध छ । र, तालिबानसँग पनि हक्कानी नेटवर्कको राम्रो सम्बन्ध छ ।
अहिले काबुलको सुरक्षाको जिम्मेवारी पाएका खलिल हक्कानीको टाउकोको मूल्य अमेरिकाले कुनै समय ५० लाख डलर तोकेको थियो र यो अझै फिर्ता भइसकेको छैन । एशिया प्यासेफिक फाउन्डेशनका डाक्टर साजन गोयलले यी सैन्य नेटवर्कहरुका गतिविधिलाई वर्षौंदेखि नियालिरहेका छन् ।
‘२०१९ र २०२१ को अवधिमा भएका धेरै प्रमुख आक्रमणमा आईएसआईएस–के र तालिबानको हक्कानी नेटवर्क तथा पाकिस्तानमा रहेका धेरै आतंकवादी समूहबीच समन्वय भएको देखिन्छ ।’ जब १५ अगस्टमा तालिबानले काबुल कब्जा गर्यो ।
त्यसपछि पुल ई चार्की जेलबाट ठूलो संख्यामा बन्दीहरु रिहा गर्यो, यसक्रममा आईएस र अलकायदाका लडाकुहरु पनि रिहा भए । उनीहरुको संख्या ठूलो छ । यी सबैका बाबजुद आईएसआईएस–के र तालिबानबीच ठूलो भिन्नता छ ।
अमेरिकाको कठपुतली बन्नका लागि तालिबानले जिहादी युद्धभूमी छाडेर कतारको होटलमा वार्ता गरेको आईएसआईएस–केको आरोप छ ।
अबका दिनमा भने आईएस लडाकुले नै तालिबानलाई सरकार सञ्चालनमा चुनौती दिनेछन् ।