काठमाडौं । सरकारी अधिकारीहरुले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए । तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् ।
थप २०० जना उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट उद्धार भई नयाँ दिल्ली आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अफगानिस्तानका विभिन्न स्थानबाट उद्धार गरी ४२ जना नेपाली नागरिकलाई काबुल विमानस्थल नजिक ल्याएर राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैजना सुरक्षित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा भनेको छ,‘विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका नेपाली नागरिकलाई विमानसम्म पुर्याउनको लागि विभिन्न तहमा समन्वय भइरहेको छ ।’
यस बाहेक ४६७ जना नेपाली सुरक्षा गार्डहरु युनाइटेड नेसन्स एसिसटेन्ट मिसन र युनिसेफमा सुरक्षा गार्डको रुपमा काम गरिरहेको छन् । उनीहरुमध्ये १०० जनाले घर आउन बिदा लिएका छन् र उनीहरुको छिट्टै नेपाल आउने छन् तर बाँकी सुरक्षाकर्मीहरुको हकमा भने उनीहरुले घर फर्कने इच्छा व्यक्त गरेका छैनन् ।
यद्यपि नेपाल सरकार उनीहरुको सुरक्षाको बारेमा आश्वस्त हुन खोजिरहेको छ । अफगानिस्तान मामिला हेर्ने नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने, ‘दुवै कार्यालयमा काम गर्ने नेपालीहरु क्याम्पमा हुनुहुन्छ र पूर्ण रुपमा सुरक्षित हुनुहुन्छ ।’
सरकारले अफगानिस्तानको ग्रिन जोनमा काम गर्नका लागि मात्र श्रम स्वीकृति दिने गरेको छ । यस बाहेक अनियमित बाटोबाट गएका र पर्याप्त कागजात नभएकाहरुलाई कागजात बनाएर उद्धार गरिएको छ । अनियमित बाटोबाट गएका र अफगानिस्तानमा प्रवेश गरिसकेपछि काम परिवर्तन गरेका कारण उनीहरुलाई उद्धार गर्न केही कठिनाइ उत्पन्न भएको हो ।
केहीसँग राहदानी समेत नभएका कारण यात्रा अनुमति पत्र जारी गर्न केही समय लागेको छ । अफगानिस्तानमा मूलत सुरक्षा गार्डको रुपमा नै नेपालीहरु जाने गरेका छन् अन्य कामको लागि श्रम स्वीकृति दिने गरिएको छैन ।
धेरै नेपाली अमेरिका, क्यानडा, बेलायत, जापान लगायतका दूतावासमा काम गरिरहेका थिए भने अन्य नेपाली युनिसेफ, त्यहाँको राष्ट्रसंघ कार्यालय लगायतका कार्यालयमा काम गरेका थिए ।