• माघ १८ २०८१, शुक्रबार

पाटनका ६ प्रधान : इतिहासको रोमाञ्चक तर एक निर्मम पाठ

भाद्र १० २०७८, बिहीबार

मल्लकालीन पाटनमा राजा कमजोर हुन थालेपछि दरबारभित्रका काजी तथा भारदार शक्तिशाली हुँदै गए । यीमध्ये ६–प्रधान निकै चलाख थिए । त्यतिबेला जय प्रकाश मल्लका भाइ राज्यप्रकाश मल्ल पाटनका राजा बनाइएका थिए । पाटनका राजा विष्णु मल्ल निःसन्तान भएकाले राज्यप्रकाश मल्ललाई काठमाडौंबाट झिकाई राजकुमार बनाइएको थियो ।

राज्यप्रकाश मल्ल र उनको दुर्भाग्य :

वि.सं. १८०२ मा ६–प्रधानले राज्यप्रकाश मल्ललाई पाटनको राजगद्दीमा राखे । वि. सं. १८१४ जेठ १९ गते शनिवारको दिन पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गर्दा कान्तिपुरका राजा जयप्रकाश मल्ल र राज्यप्रकाश मल्ल मिलेर गोर्खालीहरुलाई हराइदिए । यो युद्धमा दुवै राज्यको सेनाको नेतृत्व जयप्रकाश मल्लले गरेका थिए ।

यो कुरा ६–प्रधानलाई मन परेको थिएन । त्यसैले उनीहरु राज्यप्रकाश मल्ललाई चयनसँग राज्य गर्न नदिने निधोमा पुगे । राजासँग बढ्दै गएको अन्तरविरोधका कारण ६–प्रधान मिलेर राजा राजा राज्य प्रकाशको आँखा फुटाइदिएपछि वि.सं. १८१५ मा आँखा दुखाइले राज्यप्रकाश मल्लको देहाबसान हुनगयो ।

विश्वजित मल्ल र जार काट्ने प्रथा :

त्यसपछि ६–प्रधानहरुले विश्वजित मल्ललाई पाटनको राजा घोषणा गरे । तर दुई वर्षपछि विश्वजितलाई तलेजु लगेर काटियो । अर्काकी श्रीमतीलाई आफ्नो भनेर राखेका हुनाले जारले काटेको भन्ने भनाइ छ । बाहिर प्रचारमा त्यतिबेलाको जारकाट्ने प्रथाअनुसार उनको जारले राजा विश्वजितलाई काटेको भनिए पनि यो काम ६ प्रधानहरुबाट भएको धेरैको विश्वास छ । किनकि राज्यमा हैकम चलाउन र राजा फेर्न ६–प्रधान निकै सिपालु थिए ।

उता आफ्नो भाइलाई आखाँ फुटाएर मारेको कारणले जयप्रकाश मल्ल यी ६ प्रधानसँग निकै क्रुद्ध थिए । अर्कोतिर ६ प्रधान पनि राजा जयप्रकाशको कडा स्वभावका कारण निकै डराइरहेका थिए । यी ६–प्रधानले कान्तीपुरे राजा जयप्रकाश मल्ललाई पाटनको पनि राजा घोषणा गरे ।

निर्बल राजा र गद्दीका गुलाम :

तर ६–प्रधान र जयप्रकाश मल्लका बीचमा सम्बन्ध राम्रो हुन सकेन । करीब डेढ वर्ष पछि नै टेकु दोभानमा नुहाउन गएको बेला जय प्रकाश मल्ललाई ६–प्रधानले काठमाडौं धपाइदिए । त्यसपछि रणजित मल्ललाई पाटनको राजा घोषणा गरियो । रणजित मल्लले प्रशासनिक सुधार गरी ६–प्रधानको एकाधिकारमाथि अंकुश लगाए ।

अपमानित भएका जयप्रकाश मल्ल ६–प्रधानसँग बदला लिने सुरमा थिए । राजा जयप्रकाशलाई फकाउनका लागि रणजित मल्ल शंखमूलमा श्राद्ध गर्ने बहाना बनाएर भेट्न गएका बेला उनलाई लखेटेर फेरि जयप्रकाश मल्ललाई नै राजा घोषणा गरिदिए ।

पृथ्वीनारायण शाह र ६–प्रधानबीच दाउँपेच :

त्यति बेलासम्म गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यकामा नाकाबन्दी गरी चरम आर्थिक संकट उत्पन्न गराइसकेका थिए । चतुर ६–प्रधानले पृथ्वीनारायण शाहलाई पाटनको राजा बन्न अनुरोध गरे । तर यो कुरा थाह पाएपछि कान्तीपुरे राजा जयप्रकाश मल्लले ६–प्रधानलाई आवश्यक सल्लाह गर्न किर्तिपुरमा बोलाएर थुनामा राखे । त्यतिबेला प्रमुख काजी भिख्वाल धनकाजीले अपमान महसुस गरी आत्महत्या गरे ।

पाटनका जनताको अनुरोधमा जयप्रकाश मल्लले प्रधानहरुलाई रिहा गरे । तर प्रधानहरु झनै आवेगी भएर निस्किए । डराएका राजा जयप्रकाश पाटन छाडेर कान्तिपुर भागे । उता पृथ्वीनारायण शाहले आफ्नो साटो भाइ दलमर्दन शाहलाई पाटनको राजा हुन पठाए ।

दलमर्दन शाह र प्रधानहरुका अन्तिम दिन :

वि.सं. १८२० फागुन ९ गते दलमर्दन शाह पाटनको राजगद्दीमा बसे र उनको सुरक्षाको निम्ति हरेक प्रधानहरुको एक–एकवटा छोरालाई गोरखामा राखिएको थियो । राजा दलमर्दन शाहको शासनको समयमा पाटनको सबै गतिविधिको सूचना गोरखा दरबारमा पुग्दथ्यो । यत्तिकैमा ६–प्रधानले दलमर्दन शाहलाई उनको दाजु पृथ्वीनारायण शाहको विरुद्धमा प्रयोग गर्न निकै प्रयास गरेका थिए ।

वि.सं. १८२२ चैत्र ३ गते गोर्खाली फौजले किर्तिपुरमा विजय प्राप्त गर्यो । पाटनका राजा दलमर्दन शाहको यो युद्धमा निकै ठूलो सहयोग थियो । प्रधानहरुले राजा दलमर्दन शाहलाई कैद गरेर व्यापारी तेज नरसिंह मल्ललाई राजा बनाए । कैद भुक्तान गरिरहेका दलमर्दन शाह भागेर गोरखा पुगे ।

वि.सं. १८२५ असोज १३ गते पृथ्वीनारायण शाहले कान्तिपुरमा विजय प्राप्त गरेसँगै जयप्रकाश मल्ल फेरि पाटनमा शरण लिन पुगे । प्रधानहरु आत्मसमर्पण गर्ने तरखरमा रहेको देखेर तेज नरसिंह मल्ल र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगे । लगातार २५ वर्षसम्म पाटन राज्यको हर्ताकर्ता बनेका प्रधानहरुको अधिकार अन्ततः मल्लवंशको समाप्तिसँगै समाप्त हुन पुग्यो ।