• फाल्गुन २८ २०८२, बिहीबार

राईलाई हटाएर आचार्यलाई मुख्यमन्त्री बनाउने तयारीमा ओली

भाद्र १० २०७८, बिहीबार

काठमाडौं । पार्टी विभाजनको क्षति व्यहोर्दै आएको नेकपा एमालेले प्रदेश नम्बर १ सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ ।

यसैबीच मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी सुरु भएको छ । यसैका लागि बिहीबार एमाले संसदीय दलको बैठक बोलाइएको छ ।

‘अब कोर्स त्यतै अघि बढेको छ,’ एमाले सांसद विमल कार्कीले भने, ‘संसदीय दलको बैठकबाट सम्भवतः यही निर्णय हुनसक्छ ।’

उनका अनुसार मुख्यमन्त्री राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाउने र आज नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी छ ।

लामो समयदेखि झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव भीम आचार्यले पार्टी विभाजनका बेला उनीहरुको साथ छाडेर एमालेमै रहने निर्णय लिएका थिए ।

उनलाई यसअघि नै अध्यक्ष केपी ओलीले प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी एकता अभियानमा सक्रिय थिए तर पार्टी विभाजन नरोकिएपछि माधव नेपाल समूहका सांसदहरुलाई नयाँ दलमा जान नदिन उनलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको एमाले नेताहरुको भनाइ छ ।

माधव नेपाल समूहमा प्रदेश १ का १५ सांसद रहेको उक्त समूहको दाबी छ । आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन् । त्यही अनुसार आचार्यले सांसदहरुलाई फकाउँदै पनि आएका छन् ।

‘मैले सबै मन्त्रीहरु हाम्रो टिमबाट बनाउने हो,’ आचार्यले नेपाल समूहकालाई फकाउने क्रममा सांसदहरुलाई उनले भन्ने गरेका छन्, ‘मन्त्रीमण्डल र संसदीय समितिहरुमा पनि व्यापक फेरबदल हुनेछ । पार्टी नछाडौं ।’

तेस्रो प्रयासमा प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावनाको नजिकै पुगेका आचार्यका लागि सत्तारोहण सहज भने छैन ।