• फाल्गुन २८ २०८२, बिहीबार

नेकपा (एकीकृत समाजवादी) पार्टी चौथो ठूलो पार्टी

भाद्र १० २०७८, बिहीबार

काठमाडौं । माधवकुमार नेपालले खोलेको नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल भएको छ ।

केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत नयाँ दुई दल दर्ता भएका हुन् ।

माधवकुमार नेपाल अध्यक्ष रहने गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर अध्यक्ष रहने गरी दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई बुधबार निर्वाचन आयोगले दल दर्ता प्रमाण पत्र दिइसकेको छ ।

यससँगै नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा संघीय संसदमा २९ जनाभन्दा धेरै सांसद छन् । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर सनाखत गरेका थिए । तर यो संख्याभन्दा धेरै अध्यक्ष नेपालतर्फ लागेका छन् ।

पार्टीका वरिष्ठ नेता रहेका झलनाथ खनाल भारतमा उपचार गराइरहेका छन् । उनले दिल्ली दूतावासमार्फत् बुधबार सनाखत पठाएका थिए । विभाजित भए पनि संसदमा ठूलो दल भने नेकपा एमाले नै भएको छ । एक सय २१ जना प्रतिनिधि सभा सदस्यमध्ये एमालेमा ९९ जना सांसद छन् ।

राष्ट्रिय सभातर्फ पनि एमालेतर्फ नै धेरै सांसद छन् । संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसमा दुई जना निलम्बितबाहेक ६१ जना सांसद छन् । तेस्रो ठूलो दल भने नेकपा माओवादी केन्द्र हो । माओवादीमा ४८ जना सांसद छन् ।

चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी) मा २२ जना सांसद छन् । जनता समाजवादी पार्र्टी जसपा पाँचौं ठूलो दल बनेको छ । जसपामा ३४ जना प्रतिनिधि सभा सांसद थिए । जसमध्ये १४ जना महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न बुधबार आयोग पुगेका थिए ।

अब उपेन्द्र यादव नेतृत्वको जसपामा १८ जना सांसद छन् । अब संसदमा छैटौं ठूलो दल ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी दल हो । संघीय संसदमा राप्रपा, राष्ट्रिय जनमोर्चा नेपाल मजदुर किसान पार्टीका पनि एकेक जना सांसद छन् ।