• फाल्गुन २८ २०८२, बिहीबार

माओवादी केन्द्रको प्रवक्तामा पूर्वसभामुख ‘महरा’ नै किन ?

भाद्र ९ २०७८, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई हटाइएको छ । श्रेष्ठलाई हटाएर कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

नेकपा (एमाले)सँग माओवादी केन्द्रले एकता गर्नुपूर्व प्रवक्ता वर्तमान उर्जामन्त्री तथा नेतृ पम्फा भुसाल थिइन् । माओवादीले एमालेसँग एकता गरे पश्चात् प्रवक्ताको जिम्मेवारी श्रेष्ठले पाएका थिए । ‘श्रेष्ठले आफू लामो समयदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएको र उप्रान्त उक्त जिम्मेवारी बहन नगर्ने भएपछि पार्टीको औपचारिक निर्णयअनुसार प्रवक्ताबाट बिदा लिएको बताए ।’ श्रेष्ठ बिदाइ भएसँगै पार्टीको निर्णयअनुसार पूर्वसभामुख तथा नेता महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको माओवादी केन्द्रले बतायो ।

प्रवक्ता महरा नै किन ?

भद्र एवम् शालीन स्वभावका पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि गम्भीर आरोप लागेको थियो । २०७६ असोज १३ गते संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि सभामुखबाटै यौन दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् । उक्त आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएको केही दिनपछि बलात्कार आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले पक्रन पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गर्यो । प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीसहितको टोलीले उनलाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले महरालाई पक्राउ गरेको थियो । महरालाई पक्राउ गर्नुअघि प्रहरीले सरकारी वकिलसँग परामर्श पनि गरेको थियो । सरकारी वकिलको परामर्श पश्चात् महरालाई प्रहरीले नियन्त्रणमा लिएर बयान सुरू गरेको थियो ।

पक्राउ परेका महरालाई प्रहरीले हिरासतमै राखेर थप अनुसन्धान गरेको थियो । बलात्कारको प्रयास गरेको भन्दै ती महिला कर्मचारीले महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा अदालतको आदेश लिएर प्रहरीले महरालाई पक्राउ गरेको थियो ।

बलातकार आरोपमा महराले झन्डै ६ महिना लामो समय जेल जीवन बिताउनु पर्यो । त्यसपछि जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दियो । अदालतले सफाइ दिएपछि उनी २०७६ फागुन ५ गते कारागारबाट थुनामुक्त भए । त्यसपछि उनले पार्टीमा कुनै जिम्मेवार पाउन सकेका थिएनन् । नैतिक चरित्रमा आँच आउने कार्य गरेको भन्दै उनलाई माओवादी केन्द्रले कुनै जिम्मेवारी दिएको थिएन ।

यसअघिका प्रवक्ता रहेका नेता श्रेष्ठलाई पार्टीले केन्द्रको प्रवास समितिको इञ्चार्जको जिम्मा दिएको छ । नेकपा ९माओवादी केन्द्र०को सोमबार र मंगलबार संघीय राजधानी काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले यसअघिका प्रवक्ता श्रेष्ठलाई हटाएर महरालाई जिम्मेवारी दिएको हो । माओवादी केन्द्रका अनुसार, ‘महरा पार्टीको जिम्मेवार नेता भएको र झुट्टो आरोपमा आधा वर्ष जेल जीवन बिताए पश्चात् पार्टीले कुनै पनि जिम्मेवारी नदिएको र हाल आएर प्रवक्तको जिम्मेवार दिइएको छ ।’

महराले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै पार्टीको आधिकारिक सूचना तथा सञ्चार प्रवाह गर्ने बताएका छन् । पार्टीले दिएको जिम्मेवारी जिम्मेवार पूर्वक ग्रहण गर्ने र सोहीअनुसार कार्य गर्नेसमेत उनले बताए ।