• मंसिर ११ २०८१, मंगलवार

विष्णुको ‘चरी जेलैमा’ले एक सातामै कटायो ४० लाख भ्यूज

भाद्र ९ २०७८, बुधबार

काठमाडौं । ‘चरी जेलैमा’ गीतका कारण विष्णु माझी फेरि चर्चामा आएकी छिन् । यस वर्षको तीज नजिकिँदै गर्दा यो गीत युट्युबदेखि टीकटकमा निकै रुचाइएको छ ।

सार्वजनिक भएको एक साता नपुग्दै गीतले झण्डै ४० लाख भ्यूज पाएको छ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतका शब्दहरु सरल र मार्मिक छन् ।

तीज गीतले मौलिकता गुमाइरहेको गुनासो आइरहेको अवस्थामा आएको यस गीतले श्रोता एवं दर्शकलाई छुट्टै स्वाद दिएको छ । नेपाली सांगीतिक क्षेत्रमा विष्णु माझीको एक अलग्गै पहिचान छ ।

त्यो हो, एउटा तीज गीतको धेरै भाग ल्याउने गायिका । उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ–नयाँ भाग ल्याउँदै आएकी छिन् । यसवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ‘चरी जेलैमा’बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गतवर्ष उनको स्वरमा ‘पुतलीको भट्टी’ भाग १६ ‘नदिया सल सल’ सार्वजनिक गरिएको थियो ।

लोकदोहोरी क्षेत्रका जानकारका अनुसार विष्णुले वि.सं २०६१ सालमा ‘पुतलीको भट्टी’मा बोलको तीज गीत सार्वजनिक गरेकी थिइन् । त्यसयता उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ भाग ल्याउँदै आएकी छिन् ।

आफ्नै लगानीमा संचालनमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको प्रस्तुती रहने ‘पुतलीको भट्टी’का अधिकांश भागमा विष्णुका श्रीमान सुन्दरमणी अधिकारीकै शब्द तथा संगीत रहने गरेको छ ।

भने पछिल्ला भिडियोलाई सुन्दरमणी स्वयमले निर्देशन पनि गर्दै आएका छन् । यसवर्षको ‘पुतलीको भट्टी’मा सुन्दरमणीकै शब्द, संगीत र निर्देशन छ ।