काठमाडौं । भनिन्छ सर्जकलाई उमेरले छेक्दैन । अहिले ७८ वसन्त पार गरिसकेका आख्यानकार ध्रुवचन्द्र गौतम आत्मकथा लेखनमा व्यस्त छन् । उनले जीन्दगीमा २८ भन्दा बढी उपन्यास लेखिसकेका छन् ।
बृद्ध शरीर भए पनि उनको लेखनीमा १६ वर्षे जवानी भेटिन्छ । शरीर हेर्दा बृद्ध, लेखनमा युवा र हाँसोमा जवान देखिने गौतमको लेखनी उनको जीवनको पर्याय हो ।
उनी दैनिक कुनै न कुनै पत्रपत्रिकाका झुल्किरहन्छन् । लाग्छ, गौतम निरन्तर सिर्जनाको यात्रामा छन् । उनको प्रिय नायक दिलिपकुमारका बारेमा पनि उनी कलम चलाइरहन्छन् ।
पटकथा, फिल्म तथा कथाहरुमा निकै जम्दै आएका गौतम जीवनलाई एक क्रियाशील पटकथाकै रुपमा लिन्छन् । घरमा बस्दा उनी दिक्क हुँदैनन् । बरु कुन लेखन कहिले सक्ने होला भन्ने उनलाई आतुर हुन्छ सधैं ।
कथा कुथुंग्रीका पारखी गौतम निकै रसिला र मिजासिला छन् । उनमा भाषिक मिठास पाइन्छ । साथै, समकालीन साहित्यको उत्तम र पारखयुक्त समिश्रण पनि ।
वैंसालु २८ वर्ष प्राध्यापनमै बिताएका उनले अवकाशप्राप्त जीवनलाई लेखनमै सुम्पिएका छन् । शायद उनी लेख्नकै लागि जन्मिएका हुन् क्या र ! खलक पनि उस्तै । उनका दाजुहरु गोपालचन्द्र गोतामे र धनुषचन्द्र गोतामेले पनि लेखनमै जीवन समर्पित गरे ।
उनमा लेखन कलाको प्रस्फुटन २०२४ सालको अन्त्यतिर एक उपन्यास प्रकाशित भएपछि हुन गएको देखिन्छ । पहिलो पटक, त्यसमा पनि उपन्यासजस्तो जटिल विधा ।
तर स्रष्टा न हुन्, ढुंगाको काप फोरेर पनि निस्कन्छ पिपल … । सुरु भयो उनको उपन्यास लेखन यात्रा पनि । उपन्यासमा सफलतापूर्वक हात हालेकाले उनले समाजलाई राम्ररी नियाल्न र छिलङ्ग्याउन सके ।
समकालीन समाजको चेतना बाहकका रुपमा रहेका गौतमको राजनीतिक चेत पनि काइदाको थियो । त्यसैले त उनको उपन्यासमा साकालीन समाजको यथार्थ चरित्र चित्रण पढ्न पाइन्छ ।
उपन्यासमा मदन पुरस्कार विजेता गौतम प्रतिस्पर्धामा पनि अब्बल नै छन् । २०४० सालमा उपन्यास अलिखितले मदन पुरस्कार दिलाएको थियो उनलाई । मदन पुरस्कार विजेताका रूपमा दरिएपछि उनकोलेखनी त झन रोकिने कुरै भएन ।
उनी कथाकार पनि । सैयौं कथाका सर्जक पनि हुन् उनी । कथा साहित्यको झ्याल हो । उपन्यास भने ठूलो ढोका । उनले समकालीन समाजलाई यिनै विधाको माध्यमबाट कहिले झ्याबाट चियाउँछन् त कहिले ढोकाबाट बाहिर चारैतिर हिँडाउँछन् ।
उनको प्रौढ दिमागमा सैयौं प्लट फुरिरहेका छन् । कैयौं सुषुप्त कथाका अंकुरहरुले पानामा पदार्पणका लागि कुरिरहेका छन् । गत वर्ष मात्र आख्यानकार गौतमले नयाँ उपन्यास चकमन्नमा एकान्त नामक उपन्यास पाठकमाझ पस्किएका थिए ।
जे गरे पनि पेटको साथ र सहयोग । लेखनमा हात चलाइराखे पनि त्यसवापत आउने रोयल्टीले उनको चित्तप्रशन्न हुन सकेको देखिदैन । उनको व्यक्त गुनासो छ- ‘युरोप अमेरिकामा मात्र होइन, भारतमै भएको भए पनि २७ वटा उपन्यास र अन्य कृतिको सर्जक रोयल्टीले धनधान्य भैसक्ने थिए । नेपालमा रोयल्टीले पकेट खर्च चल्दैन ।’
अहिले उनी अटोबायोग्राफीको तयारीमा छन् । आफ्नो जीवनलाई चार-खण्डमा ल्याउँदै छन् । उनको दाबी छ- ‘मेरो जीवनका बारेमा मलाई जति अरूलाई पक्कै थाहा नहोला । त्यसैले पनि यसलाई पुस्तकमा उतार्ने जाँगर चलाइरहेको छु ।’