काठमाडौं । उपचारमा रहेका एमाले नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को बैठकलाई भर्चुअल रूपमा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा नेता खनालले नयाँ पार्टी निर्माणका लागि विद्रोह गरेको भन्दै पार्टीलाई अनुशासित, एक ढिक्का र सामूहिक ढङ्गले अगाडि बढाउनु पर्ने बताए ।
उनले नयाँ पार्टी अघि बढाउन ठूलो चुनौती भए पनि त्यतिकै सम्भावना पनि रहेको बताए । ‘हामीसामु ठूलो चुनौती छ तर सम्भावना पनि छ । हाम्रो सफलता सुनिश्चित छ । बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन् । हामी भीर पाखामै हुर्केका हौं, त्यसैले हामी सफल हुन्छौ’, नेता खनालको भनाइ छ ।
उनले आम नेता कार्यकर्ताले केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवाद नबिर्सेको भन्दै पार्टीको वैचारिक क्रान्तिकारी दिशा महत्वपूर्ण हुने र त्यसैले पार्टीको दिशा तय गर्ने बताए । आफू अस्पतालको शैयाबाट बोलिरहेको भन्दै उनले नेपालमा रहेका साथीहरूलाई सबभन्दा पहिला पार्टी दर्ता गर्न सुझाव पनि दिए ।
‘पहिला पार्टी दर्ता गरौँ त्यसपछि नीति सिद्धान्त अपडेट गर्नुपर्छ’, खनालको सुझाव छ । उनले एमाले स्थायी समितिका धेरै साथीलाई मध्यपन्थी दृष्टिकोणले निकै नराम्रोसँग अल्झाएको बताए । ‘मध्यपन्थ भनेको पनि अवसरवादको एउटा रूप हो । त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ’, खनालले मध्यमार्गी नेताहरूप्रति लक्षित गर्दै भने, ‘तर मध्यपन्थको आयु कहिल्यै पनि लामो हुँदैन । यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ ।’
उनले दक्षिणपन्थी अवसरवादमाथि दरिलो हमला गर्नुपर्ने भन्दै उनले त्यति नै क्रान्तिकारी माक्र्सवादको विकास गर्न सकिने बताए । आफूहरूसँग सशक्त वैचारिक क्रान्तिकारी शक्ति निर्माण गर्नसक्ने क्षमता रहेको भन्दै त्यो शक्तिले ठूलो परिवर्तनको महसुस गर्न सकिने बताए । उनले जनवादी क्रान्ति पुरा गरिसकेको भन्दै जबजको युग सकिएको बताए ।