• माघ १८ २०८१, शुक्रबार

प्रिय युवा तिमी गर्जिनु पर्छ

भाद्र ८ २०७८, मंगलवार

प्रिय युवा,
जब तिम्रा आँखाहरु
राता राता भएर
दुश्मनतिर हेर्छन्
मुठ्ठीहरु कसिन्छन्
स्वासको गति बढ्छ
जोडजोड्ले चिच्याउँछौ
मानौं तिमी
विस्फोट हुनै लागेको
ज्वालामुखी हौ,
र हुंकार गर्छौ
गर्जिन्छन तिम्रा गर्जनहरु
ओ हो
कति सुन्दर लाग्छ त्यो पल
इतिहासका पानामा कैद हुने
झुपडीहरुले सलाम ठोक्ने
दुःखीहरुले सम्मान गर्ने
अनि तिम्रो सुन्दरता
जनताको बिचमा
प्रतिबिम्बित हुनपुग्छ
सगरमाथा झैं अग्लो
तिम्रो उँचो शीर
तिम्रो लोभलाग्दो जीवन
मजदुरको बिचमा उभिँदा
हेरिरहुँ जस्तो हुनपुग्छ ।
प्रिय युवा,
तिमी मात्र यस्तो सम्झना हौ
गरिबको झुपडीमाथि
सामन्तले डोजर लगाउँदा
मजदुरको पसिना
दलालले लुटिखाँदा
अवोध र असहाय नारीहरु
नरपिशाचबाट बलात्कृत हुँदा
कसैको पेट भोको हुँदा
या कसैको आङ नाङ्गो हुँदा
कोही दलित हुनु पर्दा
या कोही दमित भैरहनु पर्दा
ओ हो,
त्यतिबेला तिम्रो सम्झना आउँछ
प्रत्यक मनहरुले
प्रत्यक उत्पीडित आत्माहरुले
तिमीलाई सम्झन्छन्
शतिसाल झैं
ठिङ्ग उभिएको
दुश्मनहरुको निम्ति काल
जनताहरुको आफ्नो प्यारो
प्यारो मेरो युवा ।
प्रिय युवा,
तिमीलाई खोजिरहेछ दुनियाँ
पछ्याइ रहेछन् तिम्रा पदचापहरु
तिमीले थाक्नु हुन्न
केही जल्लादहरुले तिम्रा गोरेटोहरु
बन्द गर्न कोसिस गर्दा
तिमीले न्याय र मुक्तिको
चौडा सडक विस्तार गर्दै
जनताको गर्जन बनेर अगाडी बडिरहनु पर्छ
जनताका दुश्मन विरुद्ध
जब तिमी विस्फोट हुन सुरु गर्ने छौ
त्यतिबेला
तिमीलाई आरोपित गरिने छ
र भनिने छ
यसले आंतक फैलायो
यो आतंककारी हो
यो अतिवादी हो
यो राज्यद्रोही हो
दलालका आरोपहरुलाई
रद्धीको टोकरीमा मिल्काउँदै
यो युगको नायक
मेरो प्रिय युवा
तिमी अगाडि बढिरहनु पर्छ
तिमीले युगयुग बाँचिरहनु पर्छ
जनताको बिचमा
जनताको प्रिय बनेर ।
२०७४ दमक, झापा ।