• फाल्गुन २८ २०८२, बिहीबार

क्रियाशील सदस्यको नामावली वेबसाइटमै सार्वजनिक हुन्छ : शर्मा

भाद्र ८ २०७८, मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको सूची वेबसाइटबाटै सार्वजनिक गरिने बताएका छन्।

सोमबार सभापति शेरबहादुर देउवालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशीलबारेका विवाद समाधान गरिएको प्रतिवेदन बुझाएको र सभापति देउवाले रुजु गरेर निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए ।

क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापतिहरूले आजदेखि केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरू गरेका छन्।

निर्वाचन समितिले सदस्यता प्राप्त गरेलगत्तै पार्टीको वेवसाइटमार्फत् सार्वजनिक गर्ने भन्दै जिल्ला सभापतिहरुलाई केही दिन प्रतीक्षा गर्न प्रवक्ता शर्माले आग्रह गरे ।

‘जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्छ भनेर केही दिनयता माग गर्दै आउनुभएको छ, यो स्वभाविक नै छ,’ प्रवक्ता शर्माले भने, ‘सोमबार बेलुकी मात्रै प्रतिवेदन सभापति देउवालाई बुझाइएको अवस्था छ। क्रियाशील छानबिन समितिले सभापतिलाई पहिले विवरण बुझाउने र सभापतिले अध्ययन गरेपछि निर्वाचन समितिलाई हस्तान्तरण गर्ने व्यवस्था छ।’

सभापति देउवाले नै निर्वाचन निर्देशिकामा क्रियाशीलको नामावली वेवसाइटबाट सार्वजनिक गर्ने विषय राख्न लगाएको र सार्वजनिक गर्न निर्देशन दिइसकेकोले केही दिनभित्रमै क्रियाशीलको सूची सार्वजनिक गरिने उनले बताए। ‘क्रियाशील सदस्यको नामावली वेबसाइटमै सार्वजनिक हुन्छ, प्रक्रियामा गइसकेको छ,’ शर्माले भने।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरूले तत्काल क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै धर्ना गरेका थिए । उनीहरूले भोलि पनि धर्नालाई निरन्तरता दिने बताइरहेका छन्।