• मंसिर ११ २०८१, मंगलवार

क्रियाशील सदस्यताको मुद्दा : नेपाली कांग्रेसको दीर्घ रोग

भाद्र ८ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेस पार्टीको सांगठनिक संरचनाअन्तर्गत सबैभन्दा भूइँतलामा रहेको पार्टीको तह भनेको स्थानीय क्रियाशील सदस्यहरुको समिति हो । यो विधानतः क्रियाशील सदस्यता प्राप्त स्थानीय पार्टी पनि हो ।

यसको सम्बन्ध प्रत्यक्ष रुपमा स्थानीय जनतासँग जोडिएको हुन्छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न हुनु पर्ने म्याद नाघिसक्दा पनि कांग्रेसभित्र हल हुन बाँकी रहेको विवाद भनेको यही क्रियाशील सदस्यताको विवाद हो ।

सैद्धान्तिक तथा प्रजातान्त्रिक अभ्यासका हिसाबले क्रियाशील सदस्यताको विवाद आधारभूत प्रजातन्त्रको सांगठनिक जगमा हुने प्रजातान्त्रिक अभ्यासमा चुस्तता आउन नसकिरहेको समस्यामूलक विवाद पनि हो । यो आफैमा संगठनको अन्य निकायको भन्दा बढि महत्वको कुरा पनि हो ।

Nepali_Congress
 

यसैले नेपाली कांग्रेसको सर्वोच्च निकायका रुपमा रहेको महाधिवेशन बढि प्रभावित भैरहेको छ । महाधिवेशनको वास्तविक शक्ति यही क्रियाशील सदस्यको मत र मतदानमा निहित छ । आधारभूत जग कस्तो छ, त्यहीअनुसारको संरचना निर्माण हुन्छ ।

राजनीतिक रुपमा हेर्ने हो भने स्थानीय तथा आधारभूत निकायका रुपमा रहेको क्रियाशील सदस्यको सोच, तिनको बहुमत र उक्त बहुमतले लिने निर्णय नै नेपाली कांग्रेसको केन्द्रीय समितिको चयन हो ।

आज आएर ठीक यही विषयमा नेपाली कांग्रेसमा विवाद खडा हुन पुगेको छ । यो विवाद महाधिवेशनको हलभित्र पनि पुग्ने देखिएको छ । तर आश्चर्यको कुरा के भने क्रियाशील सदस्यताको विवाद सैद्धान्तिक, वैचारिक र तदनुरुपको नेतृत्व चयनका लागि नभएर पार्टीभित्र सिर्जित गुटको रङमा बग्दै र उत्रदै गरिरहेको छ ।

पार्टी नेताहरु आआफ्ना पक्षको हार र जितका रुपमा यसलाई लिइरहेका छन् । यसमा कुनै सैद्धान्तिक वा वैचारिक मतभेद देखिदैन । पक्कै पनि पार्टीविधानमा क्रियाशील सदस्याका लागि आवश्यक पर्ने क्राइटेरियाहरु राखिएका छन् ।

तिनमा सिद्धान्त र विचारका साथै प्रजातन्त्र तथा पार्टीप्रतिको निष्ठतामा पनि ख्याल गर्ने भनिएको छ । तर पार्टीभित्र सिर्जित गुट र उपगुटका कारण क्रियाशील सदस्यताको प्रश्न केवल सांगठनिक र त्यसमा पनि गुटगत स्वार्थभित्र जेलिन पुगेको देखिन्छ ।

नेपाली कांग्रेसको महाधिवेशन वैचारिक महाधिवेशन हुनुपर्छ । त्यसमा प्रजातन्त्र र यसले सिद्धान्ततः अंगीकार गर्ने भनेको प्रजातान्त्रिक समाजवादको बहस हुनु पर्छ ।

स्वभावैले महाधिवेशन भनेको उच्च प्रजातान्त्रिक अभ्यास गर्ने विचारको सर्वोच्च थलो हो । त्यसैले पनि नेतृत्व चयनको विषय भनेको विचारका आधारमा गरिने उच्च प्रजातान्त्रिक अभ्यास हो ।

विचारको यो धरोहरबाट हेरिनुपर्ने नेपाली कांग्रेसको चौधौ महाधिवेशन र उक्त महाधिवेशनबाट गरिने नेतृत्व चयनको विषय अहिले केवल मतदाता चयनको जस्तो विना विचार र गुटगत देखिनु आफैमा निकै नमिठो कुरा हो ।

यस्ता प्रक्रियाले नेपाली कांग्रेसलाई विचारविहीन गुटगत स्वार्थले भरिएको स्वार्थपूर्ण अखडातिर नधकेलोस् । महाधिवेशनको पूर्वसन्ध्यामा यसका नेताहरु संयमी र सतर्क हुन जरुरी छ । यसै कारण पनि क्रियाशील सदस्यताको विवाद कुन गुटको हार वा जीतसँग भन्दा पनि विचारसँग जोडेर हल हुन सकोस् । यो नेपाली कांग्रेसका लागि मात्र नभएर अरु पार्टीहरुका लागि पनि उदाहरणीय बन्न सकोस् ।