काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एकता विरोधीको संज्ञा दिंदै एमालेबाट चोइटिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो अन्तरिम विधान तयार गरेको छ । एक साता पहिले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको सो समूहलाई आयोगले सनाखतका लागि बुधबार आफ्नो कार्यालयमा बोलाएको छ ।
निर्वाचन आयोगले बोलाएको समय भन्दा पहिले नेकपा (एकीकृत समाजवादी) का नेताहरु राजधानी नजिकैको चन्द्रागिरी रिसोर्टमा बैठक गरिरहेका छन् । नेता प्रकाश ज्वालाका अनुसार अन्तरिम विधान, अन्तरिम नियामावली र कम्युनिष्ट आन्दोलनको पुनःसंरचना सम्बन्धी दस्तावेजमा छलफल गरिएको छ र त्यसलाई आजै मंगलबार अन्तिम रुप दिइने छ ।
नेकपा एकीकृत समाजवादीको अन्तरिम विधान अनुसारको सांगठनिक संरचना अनुसार पार्टीको केन्द्रीय समितिमा १ अध्यक्ष, १ वरिष्ठनेता, ७ उपाध्यक्ष, १ महासचिव र २ सचिव गरी १७ जना पदाधिकारी हुनेछन् । त्यस्तै केन्द्रिय समितिमा ११५ पूर्ण केन्द्रिय सदस्य र ३६ वैकल्पिक गरी १५१ सदस्य रहने छन् ।
केन्द्रिय समितिमा ५१ सदस्यीय राजनैतिक समिति सदस्य र २१ सदस्यीय स्थायी समिति समेत रहने छ । अन्तरिम विधानले व्यवस्था गरे अनुरुप पार्टीमा महाधिवेशनबाट निर्वाचित प्रदेश परिषदको व्यवस्था हुनेछ । पार्टीका १६ वटा विभिन्न स्थानिय कमिटीहरु हुनेछन् । पार्टीमा बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भने अन्तरिम नियमावली अनुसार केन्द्र ३१ वटा विभिन्न विभागहरु प्रस्ताव गरिएको छ ।
नियमावली अनुसार प्रदेश र स्थानीय तहहरुमा पनि विभिन्न विभागहरु बनाउन सकिने प्रस्ताव गरिएको बताइएको छ । रातो भुईंमा बायाँ कुनामा रहेको सेतो रङको हँसिया हथौडा अंकित झण्डा पार्टीको झण्डा हुने बताइएको छ ।