• बैशाख ९ २०८२, मंगलवार

बेलायतमा १२ औं नेपाली मेला धुमधामका साथ सम्पन्न हुँदै

भाद्र ८ २०७८, मंगलवार

काठमाडौं । बेलायतस्थित नेपालीले हरेक वर्ष मनाउँदै आएको नेपाली मेला यस वर्ष बेलायतमा धुमधामका साथ मनाइँदै छ । पोहर साल कोरोना महामारीका कारण स्थगित भएको मेलालाई यस साल भने निरन्तरता दिन थालिएको हो ।

बेलायतस्थित आप्रवासी नेपालीहरु मात्र नभएर विदेशीहरु पनि रम्ने र झुम्ने यो मेलामा नेपालीपन देख्न र अनुभूत गर्न सकिन्छ । यो मेला आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जानकारी गराएको छ ।

तमुधिं युके बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था हो । यसले गर्ने परोपकारी र सांस्कृतिक कार्यक्रम छाताका रुपमा आयोजना गरिदै आएको छ । यस वर्षको मेला पनि लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरिन लागेको बताइएको छ ।

विदेशी भूमिमा पनि नेपाली सांस्कृतिक पहिचान बोक्ने क्रियाकलापहरुलाई बढावा दिंदै आएको तमुधिं युकेको दाबी रहेको छ । जहाँ भए पनि आफ्नो संस्कृति, कला र पहिचानको जगेर्ना गर्ने यसको मूल उद्देश्य रहेको छ ।

मेलामा नेपाली जातजातिका भेषभूषा र झाँकी प्रदर्शन गरिने छ । तय गरिएको कार्यक्रमअनुसार बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीद्वारा उद्घाटन हुने भएको छ । साथै, आयोजकका तर्फबाट मेलामा हुने खर्चमा पनि नेपाली दूतावासले सहयोग गर्ने समति भएको बताइएको छ ।

आयोजकका तर्फबाट मेलामा उपस्थित हुने सबैलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध गरिएको छ । भौतिक दुरी कायम राखी खानपिनको व्यवस्था गरिएकाले नेपाली परिकारहरु निर्माण र बिक्रिवितरणका लागि स्टल रहने समेत् जनाइएको छ ।

मेलामा प्रदर्शन गरिने नेपालीपनका झाँकी र नृत्यका लागि आर्थिक सहयोगको व्यवस्था पनि गरिएको छ । प्रतिस्पर्धामा प्रवेश गरेर प्रतियोगितामा पनि भाग लिन पाइने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई एक हजार एक सय पाउण्डसहित एम्ब्यास्डर कप तथा ३०० पाउण्डको ‘एनआरएनए युके कप’ प्रदान गरिने व्यवस्था गरिएको छ । झाँकीतर्फ प्रथम हुनेलाई ५०० र दोस्रो हुनेलाई ३०० तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोस्रो हुनेलाई ३०० पाउण्ड प्रदान गरिने व्यवस्था मिलाइएकोे छ । तयारीका लागि नेपाली दूतावासबाट दुई हजार ५०० पाउण्ड सहयोग प्राप्त भैसकेको तमुधिँ युकेले सार्वजनिक गरेको छ ।

(एजेन्सीको सहयोगमा)