• असार २५ २०८१, सोमबार

घोराहीमा घरको फोहोर सुरक्षित भाँडामा

भाद्र ७ २०७८, सोमबार

घोराही, ७ भदौ ।
हात हातमा बाल्टी तथा डस्टविन समातेका मानिसहरु हरेक दिन सरसफाई गाडीमा झुम्मिएका हुन्छन् । उनिहरु पालैपालो फोहोर गाडीमा खन्याउँछन् र आफ्नो भाँडा घरमा फिर्ता लैजान्छन् । पोको पारेर ल्याउने र टाढैबाट हुत्याएर फर्किनेको संख्या न्यून देखिन थालेको छ ।

भुईंमा फोहोर थुपार्ने ताका कुचोले बढार्दै घर बाहिरसम्म ल्याउँथे । डस्ट प्याड वा बाक्लो गत्तामा उखेरेर घर अगाडिको भुईंमा खत्याउँथे । त्यहि भुईं तिहारमा रंगोली बनाएर लक्ष्मी भित्र्याउन उपयोग हुन्थ्यो । अरु बेला फोहोर थुच्च बसालेर आफ्नै घर घिनलाग्दो बनाउन दुरुपयोग गरिन्थ्यो । अहिले आँगनको रुपमा दाग लगाउने गरी कसैले पनि फोहोर फाल्दैनन् ।

अग्ला टिप्परमा फोहर हाल्दा आफ्नै आङमा घोप्टियो भनेर धेरैले गुनासो गरेका थिए । घोराही उपमहानगरपालिकाले भुईंको फोहोर नउठाउने निर्णय लिए लगतै त्यो समस्या निकै चर्को उठेको थियो । त्यसबेला प्लाष्टिकका झोला, पसलमा पाइने गत्ता, च्यातिएका काम नलाग्ने थैलाहरुमा फोहोर थियो । बलियो भाँडामा सुरक्षित राख्नुपर्छ भन्ने धेरैले जानेकै थिएनन् ।

कतिपय गल्लीका फोहर दुईतिन दिनसम्म उठेनन् । नगरपालिकाले उठाउनुपर्छ भन्ने अडान लिए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा नेतृत्वको टोली निर्णबाटपछि हटेन । शाखा प्रमुख सुवोध रेग्मी कडा शासकीय शैलीमा प्रस्तुत हुनुभयो । निर्णयलाई कडाईंका साथ कार्यान्वयनमा लाग्नुभयो । फोहोरका थुप्रा खोतलेर पहिचान गर्न थाल्नुभयो ।

लगत्तै जनप्रतिनिधिको टिम आयो । सरसफाइको जिम्मेवारी अभियान्ता शक्तिराम डाँगीको काँधमा पर्यो । कर्मचारीहरुले गरेको निर्णयलाई निरन्तरता दिन अनुकूल वातावरण बन्यो । घोराही १० को संयोजक भएर खुलादिसा मुक्त गरेका डाँगि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

कर्मचारीले सडक बढार्नुपर्ने माग कार्यान्वयन गराउन अनेक प्रयत्न गरे । कुनै हालतमा पनि उपमहानगर पछि हटेन । त्यसपछि बाध्य भएर सबैले आफ्नो फोहोर गाडीमै हाल्न थाले ।

त्यसबेला देखिको अभ्यास अहिले व्यवहारीक र सजिलो भएको छ । कामचलाउ भाँडामा फोहोर राख्ने चल्न हट्दै गएको छ । यति बेला धेरैले बलिया र ढकन भएका भाँडामा फोहोर जम्मा गर्न थालेका छन् ।

घर र पसलको फोहर सुरक्षित राख्छन्, ट्याङ्ट्याङ घण्टी बजाउँदै सरसफाइको गाडी आइपुग्यो भने भाँडामा फोहोर आउँछ । त्यसलाई सुरक्षित तरिकाले खन्याउँछन् । कदाचित एकदुई टुक्रा उड्यो भनेपनि हत्तपत्त टिपेर गाडिमा हाल्न थालेका छन् ।

अहिले टिप्परमाथिबाट पुग्न र तलबाट पुर्याउन सजिलो भएको सरसफाइ कर्मचारी बताउँछन् । राम्रा भाँडामा राखेको फोहोर खस्ने डर हुँदैन । तलबाट माथि दिँदै गर्दा झर्ला भन्ने हुँदैन । सुरक्षित तरिकाले दिने र खन्याउने गरिन्छ ।

भुईंमा थुपार्न छोडेपछि आँगन सफा भयो । अहिले बलियो भाँडामा फोहोर जम्मा गर्न लागेपछि खस्ने र छितरिने समस्या पनि हटेको छ । फोहोर हाल्न जाँदा छरछिमेकले देखेभने पनि गतिलो भाँडामा राखेकोलाई इज्जत गर्न थालेका छन् । घोराहीमा धेरै जनाले घरको फोहोर सुरक्षित भाँडामा जम्मा गर्न थाल्नुभएको छ ।