• मंसिर ११ २०८१, मंगलवार

कीर्तिपुर लडाईंमा मारिएका सेनापति कालु पाँडेको समाधिस्थल पुगेपछि…(फोटो फिचर)

भाद्र ६ २०७८, आईतवार

काठमाडौँ । संघीय राजधानी काठमाडौँको पश्चिमपट्टीको थानकोट भञ्ज्याङदेखि माथिको डाँडोको पुरानो नाम दहचोक भएपनि हाल आएर त्यो डाँडोलाई मानिसहरु ‘कालु पाँडे डाँडा’ भनेर चिन्ने र बुझ्ने गर्छन् । पहिलेको दहचोक धुरी अहिले आएर ‘कालु पाँडे डाँडा’ भनेर यतिकै चिनिएको भने होइन ।

पृथ्वीनारायण शाहले छरियर रहेका साना साना बाइसे र चौबिसे राज्य राज्यहरुलाई मिलाएर अर्थात एकीकरण गरेर विशाल नेपालको निर्माण गर्दा महत्वपूर्ण भूमिका खेलेका गोर्खा राज्यका तत्कालिन काजी अर्थात मुख्यमन्त्री तथा सेनापति कालु पाँडेको नामबाट सो डाँडाको नाम चिनिन थालेको हो ।

नेपाल एकिकरणको सिलसिलामा गोर्खाली फौजले किर्तिपुर आक्रमण गर्दा वीरगती पाएका कालु पाँडेको भौतिक शरीरलाई समाधिस्थ गरिएको हुनाले सो डाँडोलाई अहिले मानिसहरुले ‘कालु पाँडे डाँडा’ भनेर चिन्न लागेका हुन् ।

काजी कालु पाँडेको समाधीस्थल
काजी कालु पाँडेको समाधीस्थल

काजी कालु पाँडेको जन्म वि.सं १७१७ मा गोरखामा भएको थियो । उनका बुवाको नाम भीमराज पाँडे थियो । पाँडे गोर्खा दरवारमा राजपरिवारका सदस्य जेठी मुमा चन्द्रप्रभाका मुख्य सल्लाहकार थिए । भीमराज पाँडे पनि गोर्खा दरवारमै कार्यरत भएको हुनाले कालु पाँडेको शिक्षादीक्षा गोर्खा दरवारमै सम्पन्न भयो । राजा पृथ्वीनारायण शाह भन्दा जम्मा ९ वर्षले मात्र जेठा कालु पाँडे एक परिपक्क कुटनितिज्ञ, वीरयोद्धा तथा जनप्रिय राजनीतिकर्मी समेत थिए । नेपाल एकीकरणको लागि लडिने धेरै लडाईं काजी कालु पाँडेको नेतृत्वमा लडेर सफलता समेत प्राप्त भएको थियो ।

जनताले छानेका प्रधानमन्त्री कालु पाँडेः
पृथ्वीनारायण शाह गोर्खाका राजा भएपछि उनले गोर्खा राज्यको काजी अर्थात प्रधानमन्त्री पद विराज बखेतीलाई सुम्पिने विचार गरेका थिए । तर गोर्खा राज्यभरिका जनताको मत र राय बुझ्दा धेरैजसोले कालु पाँडेलाई रोजेको हुनाले पाँडेलाई काजि पद दिइएको कुरा स्वयम पृथ्वीनारायण शाहले नै सार्वजनिक गरेको अभिव्यक्तिबाट थाहा हुन आउँछ । यस हिसाबले काजी कालु पाँडे तत्कालिन समयमा जनतामा एकदम लोकप्रिय भएको हुनाले धेरैजसो जनताले उनलाई काजी पद सुम्पन राजालाई राय दिएको बुझिन्छ ।

कालु पाँडे डाँडा जहाँ काजी कालु पाँडेको समाधी रहेको छ

वि.सं १८१४ जेठ १९ गते कीर्तिपुर आक्रमण गर्ने योजना राजाले बनाउन खोज्दा काजी कालु पाँडेले अहिले कीर्तिपुर आक्रमण गरेर जित्न सकिंदैन भनेर राजालाई सुझाव दिए । तर राजा पृथ्वीनारायण शाहले ‘काजी तलाई मर्न डर लाग्यो कि’ भनेर उल्टै प्रश्न गरेपछि पाँडेले लडाईंको तयारी गरे । तर कीर्तिपुरको पहिलो आक्रमण गोर्खाले हार्यो । लडाईं मात्रै हारेन गोर्खाले काजी र आफ्नो सेनापति समेत गुमायो ।

सोही दिन हार्ने थाहा हुँदाहुँदै राजाको जिद्धीले गर्दा कालु पाँडेले किर्तिपुरको पहिलो आक्रमणको नेतृत्व त गरे तर सोही लडाईंमा उनले वीरगती प्राप्त समेत गरे । पाँडेको नै इच्छा बमोजिम उनको मृत शरीरलाई गोर्खा देखिने ठाँउ अर्थात दहचोक डाँडामा समाधिस्थ गरियो । अहिले आएर त्यहाँ उनको पूर्ण कदको शालिक बनेको छ । उनको समाधी सुरक्षित गरिएको छ । र नेपाली सेनाले काजी कालु पाँडेको नाममा सानो संग्रहालय समेत निर्माण गरेको छ । भर्खरै सेनाले त्यहाँ बगैचा पनि निर्माण गरेको छ ।

जो अहिले पर्यटकहरुको एक गन्तव्य स्थल बन्दै गएको छ । अरु दिन भन्दा शनिबारको दिन बिदा मनाउन यहाँ राजधानीबाट सयौंको संख्यामा मानिसहरु आउने–जाने गरेका छन् ।

हेरौं कालु पाँडे डाँडाका केही रमणीय तस्विरहरुः⇓

कालु पाँडेको पूर्ण कदको शालिक