काठमाडौं । अफगानिस्तानमा तालिवानको पुनरागमनलाई लिएर पश्चिमा शक्ति राष्ट्रहरुले नकारात्मक प्रतिक्रिया दिइरहेकै बेला बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट नेटोविरोधी शक्तिहरुले फाइदा उठाउने कुरा सार्वजनिक गरेका छन् ।
अमेरिकी सेना फिर्ता गर्नु गलत भएको जिकिर गर्दै आएका ब्लेयरले यसले जेहादी समूहको आँट बढेर जानेछ भनेका छन् । यो अमेरिका लगायतका नेटो समूहका लागि ठूलो पछि हटाइ भएको उनको दाबी छ ।
अफगानिस्तानको वर्तमान राजनीतिक स्थितिबाट रुस, चीन र इरानले फाइदा उठाउने उनको ठोकुवा रहेको छ । ब्लेयरले गठबन्धन सेना फिर्ता गरिएको कार्यलाई आपत्तिजनक, खतरनाक र अनावश्यकको संज्ञा दिएका छन् ।
सन् २००१ मा बिन लादेनको खोजीको बहानामा अफगान पसेको बहुराष्ट्रिय सेनाले त्यसै वर्ष नै तालिवानलाई काबुल सत्ताबाट बल प्रयोग गरी बहिर्गमित गराएको थियो । त्यति बेला टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री थिए । उनले अफगानिस्तानमा तालिवान दमनका लागि बेलायती सेना पठाएका थिए ।
(एजेन्सीको सहयोगमा)